निशा राई
धरान, साउन ८ गते। पछिल्लो समय धरानमा श्रमदानबाट काम गर्ने बढ्दै गएका छन्। श्रमदानबाट केही समय अगाडि पकुवा खोलामा दुई वटा खाने पानीका ट्याङ्कीको निर्माण सम्पन्न भएको छ।
हाल नगरप्रमुख हर्कराज राईको नेतृत्वमा निशाने खोलामा इन्टेक र करिब अढाई लाख लिटर क्षमताको रिजर्ब ट्याङ्की निर्माण साथै सर्दुखोलाबाट नमुना माइक्रो हाइड्रोवापर बनाउने योजनाका लागि काम भइराखेको छ। श्रमदानमा जुटेका धरानवासी गिटी कुट्ने, ढुङ्गा बोक्ने, सिमेन्ट, बालुवा, पाइप बोक्नेलगायतका काममा निरन्तर श्रमदान गरिरहेका छन्। साथै जनताले नै खाजा पानीको व्यवस्था गरेको नगरप्रमुख राईले बताउनुभयो।

सर्दु खर्दु खोलाबाट नमुना माइक्रो हाइड्रोवापर बनाउने योजनामा पूर्वाञ्चल इञ्जिनियर क्याम्पसका विद्यार्थीले काम गरिराखेका छन्। १ किलोवाटदेखि ३ किलोवाटसम्म बिजुली उत्पादन गर्न सकिने अध्ययनबाट देखिएको छ। विगतमा बन्दकोठामा मात्र प्राक्टिकल गरिरहेको भन्दै उनीहरुले फिल्डमा नै आएर पढेको ज्ञानलाई व्यवहारमा उतार्न पाउँदा फाइदा पुगेको बताउनुभयो ।
विद्यार्थी फिल्डमै आएर काम गर्दा ज्ञानको दायरा फराकिलो हुने नगर प्रमुख राईले बताउनुभयो। विद्यार्थीले हाइड्रोपावरसँगै जोडिएका थुप्रै कुराको अध्ययन पनि गरिरहेका छन्। धरानमा बिजुली पनि उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत हुने विद्यार्थीले बताएका छन्।

नगरप्रमुख राईले बिदाको समयमा हरेक शुक्रबार ५ बजे ड्रग्स स्वीकार्य छैन भन्ने अभियान र हरेक शनिबार खोलामा वृक्षरोपण र खानेपानीका लागि श्रमदान गर्दै आउनुभएको छ। पकुवा खोला, निशाने डाँडा, पञ्चकन्या डाँडामा हालसम्म सयौँ सर्वसाधारणको सहभागितामा विभिन्न प्रजातिका हजारौं बिरुवा रोपिएको छ।
