• ८ जेठ २०८१, मङ्गलबार

विकाससँगै वन विनाश

blog

रेखीराम राना 

पाल्पा, साउन ८ गते ।  जिल्लाको विभिन्न स्थानमा विकास निर्माणको नाममा वन फँडानी गर्ने क्रम बढेको छ । जिल्लाको तानसेन, रैनादेवी छहरा, तिनाउ, माथागढी, निस्दी गाउँपालिकाको विभिन्न स्थानमा वन फँडानी गर्ने क्रम बढेको हो । 

स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारका विकासे आयोजना सञ्चालन गर्ने नाममा वन फँडानी गर्ने क्रम बढेको हो । बाटो बनाउन, नाला बनाउन, भवन बनाउन, विद्युत्को पोल तथा तार विस्तार गर्न तथा विभिन्न संरचना निर्माण गर्न सामुदायिक र राष्ट्रिय वनका रुख काट्ने क्रम बढेको हो । पछिल्लो एक वर्षयता पाल्पामा कालीगण्डकी कोरिडोर–२२० केभी प्रशारण लाइन आयोजनाको नाममा हजारौँ सालसहितका रुख काटिएका छन् । 

जिल्लाको तानसेन, माथागढी, बगनासकालीलगायतका क्षेत्रमा विद्युत्का तार तथा पोल विस्तार गर्न हजारौँ रुख काटिएको उपभोक्ताको गुनासो छ । विद्युत् प्रसारण लाइन विस्तारका लागि सामुदायिक, राष्ट्रिय वन तथा निजी वनका रुख फँडानी भएको छ । माथागढी गाउँपालिकाको वडा नं. ५ र ६ को गरी पाँचवटा सामुदायिक वनको हजारौँ सालका रुख काटिएको स्थानीय बासिन्दा सन्तोष भट्टराईले बताउनुभयो । विद्युत्को लाइन विस्तार गर्न भनेर उपभोक्ताले वर्षौंदेखि हुर्काएका सालका रुख काटिएको उहाँले बताउनुभयो । उहाँका अनुसार माथागढी गाउँपालिका–५ स्थित हात्तीलुङअन्तर्गत मलौटा चौपारी, टोक्लाक्दी, माथा, भावना, गोरेडाँडा सामुदायिक वनमा रुख फँडानी भएको छ । 

डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी संयोग बस्नेतले भने विद्युत् विस्तारका लागि पाल्पाका विभिन्न स्थानबाट चार हजार सात सय बढी रुख कटान अनुमति पाएको बताउनुभयो । उहाँले कालीगण्डकी विद्युत् प्रशारण लाइनका लागि माथागढीमा मात्रै एक हजार ६९७ वटा रुख कटानको अनुमति पाएको जानकारी दिनुभयो । यद्यपि उपभोक्ताले भने अनुमतिभन्दा बढी रुख कटान भएको जनाएका छन् । 

उक्त आयोजनाका लागि बगनासकालीको कुवेर सामुदायिक वन, कालीका सामुदायिक वन, तानसेन–९, को पोषपाखा सामुदायिक वनबाट रुख कटानको अनुमति पाएको छ । अनुमति पाएका स्थानमा रुख कटान तथा ओसार पोसार गर्न डोजर लगाएर सडक समेत खनिएको छ । जङ्गल फँडानी कति क्षेत्रफलमा गर्ने हो, कसरी गर्ने हो भन्ने विषयमा भने उपभोक्तालाई जानकारीसमेत हुँदैन । यसले पनि वन फँडानी जथाभावी भएको तानसेन–९, पोषपाखाका स्थानीय बासिन्दा जगत रानाले बताउनुभयो । 

कालीगण्डकी विद्युत् प्रसारण लाइनका लागि मात्र होइन, तानसेनको वडा नं. ७ को कुनसरेमा समेत औद्योगिक ग्राम निर्माणका लागि सयौँ रुख कटान गरिएको छ । औद्योगिक ग्राम निर्माणका लागि साल, सिसौ, फडिहार जातका सयौँ रुख काटिएको स्थानीय बासिन्दाको भनाइ छ । पछिल्लो समय विकास निर्माणको नाममा रुख फँडानी बढेको र उपभोक्ताले रोक्न सक्ने अवस्था नरहेको वन उपभोक्ता महासङ्घ पाल्पाका अध्यक्ष निरन्जन भुसालले बताउनुभयो । कतिपय सामुदायिक वनका उपभोक्तालाई सामान्य जानकारीसमेत नदिई वन फँडानी भइरहेको उहाँले बताउनुभयो ।