• १३ चैत २०८२, शुक्रबार

‘संसदबाट परिवर्तनको आभास गराउन सक्नु पर्छ’

blog

सहदेव बस्नेत

जाजरकोट, चैत १३ गते । जाजरकोटको भेरी नगरपालिका–१०, भुरमा विपन्न दलित र सामान्य किसान परिवारमा जन्मिएकी पार्वती विक हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट सङ्घीय सांसद बन्नुभएको छ । २०४२ पुस २८ गते जन्मिएकी विक जाजरकोटबाट दलित समुदायको प्रतिनिधित्व गर्दै सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने पहिलो दलित महिला बन्न पुग्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट महिला तथा दलित क्लस्टरबाट पार्टीले उहाँलाई १ नम्बरमा छनोट गरेको हो । 

साधारण किसान परिवारमा जन्मिएकी पार्वती अहिले पिएचडी अध्ययनको तयारीमा हुनुहुन्छ । अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विषयमा मध्यपश्चिम विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरेकी उहाँसँग समाजका विभिन्न विभेदबारे विभिन्न अभियानको नेतृत्व गरेको अनुभव छ । सानैदेखि समाजमा हुने विभिन्न विभेदलाई नजिकबाट देखेकाले आफूलाई त्यसविरुद्ध लड्ने प्रेरणा मिलेको बताउनुहुन्छ । 

कक्षा ४ पढ्दै गर्दा २०५६ सालमा तत्कालीन माओवादीनिकट अखिल क्रान्तिकारी विद्यालय एकाइ कमिटीको अध्यक्षबाट सुरु भएको पार्वतीको राजनीतिक यात्रा अहिले प्रतिनिधि सभा सदस्यका रूपमा संसद्सम्म पुगेको छ । तत्कालीन जनयुद्धको यात्रामा २०५८ सालमा भूमिगत जीवनको सुरुवात गरेकी पार्वती ‘मुक्ति कि मृत्यु’ को कसम खाएर युद्धमा होमिएको स्मरण गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “त्यतिबेला संसद्को सदस्य भइएला भनेर कल्पना पनि सकिएको थिएन ।”

शान्ति प्रक्रियापछि उहाँले अन्तरपार्टी महिला सञ्जाल जाजरकोटको अध्यक्ष भएर महिला हिंसाविरुद्वको अभियानको औपचारिक सुरुवात गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “शान्ति प्रक्रिया हुँदाको अन्तरिम सरकारको पालामा स्थानीय शान्ति समिति जाजरकोटको सदस्य भएर द्वन्द्व समाधानको सवालमा पनि केही अनुभव हासिल भयो ।” समय अनुसार आफूलाई परिवर्तन गर्न सक्ने क्षमता भएकी पार्वती जातका आधारमा गरिने छुवाछुत र लैङ्गिक विभेदविरुद्धको अभियानमा सक्रिय रहँदै आउनुभएको छ । 

२०७७ जेठ १० गते रुकुमपश्चिमको चौरजहारी–८, सोतीमा नवराज विकसहित छ जना युवाको हत्यापछि न्यायको माग गर्दै उठेको आन्दोलनमा पार्वती विक अग्रपङ्क्तिमा लाग्नुभयो । पीडित परिवारको पक्षमा आवाज उठाउने, आन्दोलन सङ्गठित गर्ने र घटनालाई राष्ट्रिय बहसको विषय बनाउने काममा उहाँको सक्रिय भूमिका रह्यो । सोती हत्याकाण्डपछि जातीय विभेदविरुद्धको आवाज अझ सशक्त बन्यो । त्यही आन्दोलनको नेतृत्वमा पार्वती विकको नाम पनि जोडियो । उहाँ भन्नुहुन्छ, “राज्यले चाहेमा सबै खाले विभेद अन्त्य गर्न सकिन्छ । हामीकहाँ कानुन भए तापनि तिनको प्रभावकारी कार्यान्वयन नहुनु नै अहिलेको मुख्य चुनौती हो । अबको संसद्ले बनेका कानुनको प्रभावकारी कार्यान्वयन गर्ने गराउनेतर्फ दरिलो आवाज उठाउनु पर्छ ।” 

नारीवादी दलित सङ्गठन नेपाल जाजरकोटको अध्यक्षसमेत रहेकी पार्वतीको जाजरकोट भूकम्पका कारण घर क्षतिग्रस्त भएको छ । त्यही क्षतिग्रस्त घरमा बाबु र भाइको परिवारसहित उहाँ बस्नुहुन्छ । कर्णालीको समृद्धि नै मेरो मुख्य एजेन्डा हुने छ भन्दै उहाँले नागरिकको जीवनस्तर सुधार, सबै खाले विभेद अन्त्य र सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउन कानुन निर्माण र कार्यान्वयनमा प्रभावकारी भूमिका रहने बताउनुभयो । उहाँ २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि समानुपातिक सूचीमा रहनुभएको थियो तर त्यस समय उहाँ सांसद बन्न पाउनुभएन । उहाँ २०७४ सालमा भेरी नगर कार्यपालिका सदस्य निर्वाचित हुनुभएको थियो । त्यसबेला उहाँकै नेतृत्वमा नगरपालिकाले विभेद न्यूनीकरण अभियान थालेको थियो । साबिक माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनमा पार्वती ४० वर्षमुनिबाट केन्द्रीय सदस्य बन्ने एक मात्र महिला रहनुभएको थियो । 

उहाँ भन्नुहुन्छ, “संसद्मा पुग्नु ठुलो कुरा होइन । त्यहाँबाट परिवर्तनको आभास जनतालाई दिन सकिन्छ कि सकिँदैन, त्यो ठुलो चुनौती हो ।” उहाँले आफू अब जाजरकोटका सबै मतदाता र कर्णालीको आवाज बोल्न संसद्मा क्रियाशील रहने र जाजरकोटको विकास तथा समृद्धिको यात्रामा आफूले सक्दो भूमिका निर्वाह गर्ने बताउनुभयो ।