रामकृष्ण बोहरा
बागलुङ, चैत ९ गते । आर्थिक वर्ष २०८२/०८३ का लागि पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा १७१ वटा पूर्वाधार योजना रहेका छन् । तीमध्ये चालु आर्थिक वर्षको फागुनसम्म ११३ योजना सम्झौता भई कार्यान्वयन चरणमा पुगेका छन् ।
निर्वाचन आचारसंहिताका कारण माघ र फागुनमा विकास निर्माणका कामले गति लिन नसके पनि बजेट निकासा हुन थालेपछि योजनाहरूको कार्यान्वयनले तीव्रता पाएको छ । “उपभोक्ता समितिलाई बजेट निकासा गर्न नपाउँदा काममा ढिलाइ भएको थियो, अहिले योजनाका काम धमाधम भइरहेका छन्,” प्रमुख प्रशासकीय अधिकृत जीवन पुनले भन्नुभयो ।
उहाँका अनुसार वडागत रूपमा विकासका योजना उल्लेखनीय रूपमा अगाडि बढेका छन् । वडा नं. ६ मा दुई वटा योजना सम्पन्न भएका छन् भने वडा नं. ७ मा १५ वटा योजना फरफारक भइसकेका छन् । अन्य वडामा ७ देखि ८ वटासम्म पूर्वाधारका योजना सम्पन्न भएका छन् । पालिका स्तरका दुई ठुला योजना बाहेक अधिकांश योजना वडाको आवश्यकताअनुसार तय गरिएकाले कार्यान्वयन प्रभावकारी भएको पुनको भनाइ छ ।
गाउँपालिकाले समयमै योजना सम्झौता र सम्पन्न गर्ने लक्ष्य लिएको छ । समयमै काम सम्पन्न गरी अनुगमनपछि भुक्तानी गर्दा बेरुजु घटाउन मद्दत पुगेको पुनले बताउनुभयो । “समयमै काम सकेर अनुगमन गर्ने र समस्या देखिएका स्थानमा सुधार गर्दा गत वर्षदेखि बेरुजु घटाउन सकेका छौं,” उहाँले भन्नुभयो, “कामको गुणस्तरमा पनि सुधार भएको छ ।”
गत वर्ष ७ करोड रुपैयाँ बेरुजु घटाएको निसीखोलाले यस वर्ष पनि १ करोड १० लाखभन्दा बढी रकम घटाइसकेको छ । “बेरुजुरहित योजना र कार्यालय हुँदैन, व्यवस्थापन गरेर कम गर्ने हो,” पुनले भन्नुभयो, “कामलाई पारदर्शी र व्यवस्थित बनाएपछि बेरुजु कम हुन्छ ।”
गाउँपालिकाले विकास योजनामा उपभोक्ता समितिलाई अभिमुखीकरण गरी कामलाई पारदर्शी बनाउने पहल थालेको छ । आवश्यक कागजात पूरा गर्ने र लागत स्टिमेटअनुसार काम गर्ने बानीको विकास हुँदै जाँदा बेरुजु पनि घट्दै गएको पुनले बताउनुभयो ।
यस वर्ष पालिकाले प्रशासनिक भवनमा ट्रस्ट थपेर क्षमता विस्तार गर्ने लक्ष्य राखेको छ, जसका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । साथै, रिगा ताल संरक्षणका लागि पनि ५० लाख रुपियाँ छुट्याइएको छ । रिगा ताल संरक्षणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।