गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ९ गते । सुडानको एक अस्पतालमा गरिएको आक्रमणमा ६४ जना मारिएका छन् । सो घटनामा ८९ जना घाइते भएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ ।
युद्धग्रस्त सुडानमा स्वास्थ्य संरचनामाथिको आक्रमण थप भयावह बन्दै गएको छ । त्यहाँ पश्चिमी डार्फर क्षेत्रको एक अस्पतालमा गरिएको प्रहारमा कम्तीमा ६४ जनाको ज्यान गएको छ । मृतकमध्ये १३ जना बालबालिका हुन् ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस गेब्रेयससका अनुसार पूर्वी डार्फरको अल डेइन शिक्षण अस्पतालमा भएको आक्रमणमा ६४ जना मारिनुका साथै कम्तीमा ८९ जना घाइते भए । आक्रमणपछि अस्पताल पूर्ण रूपमा निष्क्रिय बनेको छ, जसले घाइते र बिरामीहरूको उपचारमा गम्भीर सङ्कट सिर्जना गरेको छ । सुडान सन् २०२३ अप्रिलदेखि गम्भीर द्वन्द्वमा फसेको छ । यस मुलुकमा नियमित सेना र अर्धसैनिक द्रुत समर्थन बलबिचको शक्ति सङ्घर्ष व्यापक युद्धमा परिणत भएको छ । यही द्वन्द्वकै क्रममा नागरिक पूर्वाधार, विशेष गरी स्वास्थ्य संस्थाहरू बारम्बार निसानामा पर्दै आएका छन् ।
अस्पतालमा भएको यस पछिल्लो आक्रमणका विषयमा दुवै पक्षले एकअर्कामाथि आरोप–प्रत्यारोप गरेका छन् । दु्रत समर्थन बलले उक्त आक्रमण सेनाबाट भएको दाबी गरेको छ भने सेनाले अस्पतालमा आक्रमण गरिएको अस्वीकार गरेको छ । यद्यपि दुई जना सैन्य अधिकारीरूले भने नजिकै रहेको प्रहरी चौकीलाई लक्षित गरिएको आक्रमण भएको बताएका छन् । उनीहरूले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा यसबारे जानकारी दिएका हुन् । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार हालसम्मको युद्धमा ४० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ तर विभिन्न सहायता संस्थाले वास्तविक सङ्ख्या अझ धेरै हुन सक्ने बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार युद्ध सुरु भएयता स्वास्थ्य संस्थामाथि भएका आक्रमणमा मात्र दुई हजारभन्दा बढी मानिसको ज्यान गएको छ ।