• १५ वैशाख २०८१, शनिबार

समयमै सजग नभए मुलुक गम्भीर आर्थिक संकटमा फँस्छ

blog

तस्विर सहयोग : राजेन्द्र श्रेष्ठ

काठमाडौं, साउन ६ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले नेपालको खस्कँदो आर्थिक अवस्थाले मुलुक आर्थिक संकटमा फँस्दैगएकोप्रति चिन्ता व्यक्त गरेको छ । आर्थिक विज्ञहरुले नेपालको अर्थतन्त्र श्रीलंकाको पथमा गइरहेको भन्दै विश्लेषण गरिरहेकाबेला एमालेले सो चिन्ता व्यक्त गरेको हो । 

एमालेको भातृ संस्था नीति तथा अनुसन्धान प्रतिष्ठानको उदघाटन तथा नेपालका विद्यमान आर्थिक चुनौतिको तुलनात्मक समीक्षा विषयक अन्तरक्रिया कार्यक्रममा आज एमाले अध्यक्ष केपी शर्मा ओली तथा आर्थिक चिन्तकहरुले त्यस्तो चिन्ता व्यक्त गर्नुभयो । मुलुकको आर्थिक सूचकहरुले नेपाल आर्थिक हिसावले जर्जर अवस्थामा पुग्ने संकेत गरेको भन्दै समयमै संकटको सूचकलाई अवसरमा बदल्न नसक्ने हो भने मुलुक गम्भीर आर्थिक संकटमा फँस्ने विश्लेषण उहाँहरुले गर्नुभयो ।  

देशको अवस्थाबारे जनतालाई स्पष्टरुपमा जानकारी दिनु आवश्यक हुन्छ, ढाकछोप गर्दा झन भोलि समस्यामा परिन्छ, तर देशलाई आर्थिक दलदलमा फँस्न दिइने छैन ।

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अहिले गम्भीर आर्थिक संकटमा फँस्ने आर्थिक सूचकहरुले संकेत गरेपनि श्रीलंकाको अवस्थामा पुग्न नदिइने विश्वास दिलाउनुभयो । वर्तमान सरकारले आर्थिक सुधारको पक्षमा सकारात्मक कदम चाल्न नसके एमाले त्यसमा अग्रसर हुने उहाँले बताउनुभयो । अँध्यारो सुरुङ पछि पनि उज्यालो आउँछ अध्यक्ष ओलीले थप्नुभयो, “देशमा एमालेजस्तो शक्ति छ, गठबन्धन सरकारले केही गर्न नसके एमाले अगाडि बढ्छ र देशलाई आर्थिक संकटबाट बाहिर निकाल्छ ।”

देशको भविष्यलाई अन्धकारमा जान नदिइने अध्यक्ष ओलीले जिकिर गर्नुभयो । अहिले देशको अवस्था जे छ, जस्तो छ, त्यहीअनुसार व्याख्या र विश्लेषण गरौं, ढाकछोप नगरौं अध्यक्ष ओलीले थप्नुभयो, “देशको अवस्थाबारे जनतालाई स्पष्टरुपमा जानकारी दिनु आवश्यक हुन्छ, ढाकछोप गर्दा झन भोलि समस्यामा परिन्छ, तर देशलाई आर्थिक दलदलमा फँस्न दिइने छैन ।”

यसअघिको आफ्नो नेतृत्वको सरकारले देशको आर्थिक समृद्धिको स्पष्ट योजना र रोडम्याप बनाएर काम थालेको भएपनि सरकार परिवर्तन भएपछि सपना पूरा हुन नसकेको बताउनुभयो । अहिलेको सरकारले आर्थिक रोडम्यापलाई प्राथमिकतामा राख्न नसकेको उहाँले आरोप लगाउनुभयो । समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य एमालेको समृद्धिको नारा रहेकाले त्यस लक्ष्यसम्म पुग्न एमाले नेतृत्वको सरकार नै आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो । देशको आन्तरिक उत्पादन बाहिर लगेर विक्री गर्नु नै प्रमुख आर्थिक आधार रहेकाले त्यसका निम्ति काम गर्न अनिवार्य रहेको उहाँले बताउनुभयो ।

कुन समयमा के रोप्दा कस्तो उत्पादन हुन्छ ? उत्पादन बढाउने विषयमा कृषकलाई अझै तालिम दिन नसकिएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले त्यसको स्पष्ट मापदण्ड बनाएर नेपालको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको समृद्धि हासिल गर्न सकिने बताउनुभयो । कृषिको गुणात्मक विकासले नै देशको अर्थतन्त्र बलियो हुने आधार रहेको उहाँले चर्चा गर्नुभयो । 


एमाले वरिष्ठ उपाध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले समाज विज्ञानका विविध विधामा अध्ययन अनुसन्धान गर्न प्रतिष्ठानको मख्य लक्ष्य रहेको बताउनुभयो । राजनीतिक, सामाजिक, आर्थिक, वातावरणीय तथा अन्य क्षेत्रको वस्तुगत अध्ययन र विश्लेषण गरी देशलाई अघि बढाउन प्रतिष्ठानले भूमिका खेल्ने उहाँले प्रष्ट पार्नुभयो । “माक्र्सवादी दृष्टिकोणबाट मुलुकको राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक तथा अन्य क्षेत्रको वस्तुगत अध्ययन अनुसन्धान गर्नु नै प्रतिष्ठानको मूल लक्ष्य हो” उहाँले भन्नुभयो ।

आर्थिक संरचनागत चुनौति

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले देशको आर्थिक संरचनागत चुनौतिले देश निरन्तर आर्थिक रुपले ओरालोतर्फ उन्मुख भइरहेको बताउनुभयो । विगत तीन दशकदेखि देशको बजेट निरन्तर घाटामा चलिरहेको र यो घाटा कुल ग्राहस्थ उत्पादनको औसत ५ प्रतिशतभन्दा बढी नभएको उहाँले बताउनुभयो । नेपालका विद्यमान आर्थिक चुनौतिको तुलनात्मक समीक्षा विषयक कार्यपत्र प्रस्तुत गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो । 

निरन्तरको बजेट घाटा बाह्य र आन्तरिक ऋणबाट पूर्ति हुँदैआएको, भूकम्प तथा कोभिडका कारण करिब ४ खर्बको वैदेशिक ऋण थपिएको उहाँले बताउनुभयो । आर्थिक विज्ञसमेत रहनुभएका डा. खतिवडाले भन्नुभयो, “मूल्यबृद्धि दर यो दशकमै सबैभन्दा उच्च रहेको छ, उपभोक्ता मूल्यसूची दोहोरो अंकको नजिक छ, थोक मूल्यसूची अघिल्लो वर्षको ११ महिनामा ९ प्रतिशतले बढेकोमा यो वर्ष जेठसम्म १५ प्रतिशतले बढेको छ ।”

वर्तमान अर्थतन्त्र

पूर्व गभर्नर समेत रहनुभएका डा. खतिवडाकाअनुसार आयात बृद्धि धान्न नसक्ने अवस्थामा पुगेको छ । अघिल्लो आर्थिक वर्षको ११ महिनामा आयात करिब १८ खर्ब रुपियाँ नजिक पुगिसकेको छ । कतिपय आयात बन्द गर्ने सरकारको पछिल्लो विर्णय विवादित बनेको, ११ महिनामा व्यापार घाटा १६ खर्ब रुपियाँ पुगेको, आर्थिक वर्षको अन्त्यसम्म १७ खर्ब माथि पुग्ने र अनुमानित कूल गार्हस्थ उत्पादनको ३५ प्रतिशत नाघ्ने देखिन्छ उहाँले भन्नुभयो ।

अघिल्लो आर्थिक वर्षको ११ महिनामा आयात करिब १८ खर्ब रुपियाँ नजिक पुगिसकेको छ । 

त्यस्तै, २०७९ जेठसम्म भुक्तानी घाटा २ खर्ब ७० अर्ब भइसकेको, वर्षभरिमा ३ खर्ब पुग्ने र विदेशी मुद्रा सञ्चिती पनि ३ खर्ब जतिले घटने पूर्व अर्थमन्त्री खतिवडाको बुझाइ छ । कार्यपत्र पेश गर्नुहुँदै उहाँले थप्नुभयो, “सरकारी खर्च तथा राजस्वको संशोधित लक्ष्य धेरै अंकले नभेटिएको, विकास बजेट खर्च ५ वर्ष यताकै न्यून छ । संघको पूँजीगत खर्च वार्षिक अनुमानको ५७ प्रतिशत, प्रदेश सरकारले पनि वार्षिक विकास बजेटको दुई तिहाईभन्दा बढी खर्च गर्न सकेको छैन ।”


डा. खतिवडाका अनुसार देशको वित्तीय प्रणालीमाथि खेलवाड भइरहेको छ । वित्तिय प्रणालीमा सरकारी हस्तक्षेपले वित्त बजार खल्बलिन पुगेको छ । हदबन्दीभन्दा माथिको जमिन धितो राखेर बैंकबाट ऋण लिन पाउने व्यवस्थालाई सरकारले प्रोत्साहन गरिरहेको उहाँले आरोप लगाउनुभयो । सरकार आर्थिक नीतिमा अस्पष्ट रहेको पनि उहाँले टिप्पणी गर्नुभयो ।

सुधारको आशा

पूर्व अर्थमन्त्री डा. खतिवडाले सरकारले समयमै अर्थतन्त्रको समस्यालाई हल गर्न तदारुकता देखाएमा अर्थतन्त्र अझ सुध्रिन सक्ने सम्भावना जीवितै रहेको बताउनुभयो । देशको आर्थिक अवस्थाबारे यत्तिधेरै चिन्ता र वहस पहिलो पटक भइरहेकाले यसमा सरकार गम्भीर बन्नुपर्ने उहाँले सुझाव दिनुभयो । 

“बाह्य क्षेत्रमा गइरहेको पहिरो रोकिन थालेको हो कि भन्ने आशाको त्यान्द्रो पलाएको छ, यद्यपि बैंक कर्जामा गरिएको कडाई र आयातमा लगाइएको परिमाणात्मक बन्देजका कारण तत्काललाई आयातको बृद्धि केही कम भइ अल्पकालिन संकेत मात्र देखिएको हो” उहाँले भन्नुभयो । कोभिडको समस्या केही मत्थर भएपछि आर्थिक क्रियाकलाप पूर्ववत् अवस्थामा फर्किन थालेको संकेत मिलेको उहाँले बताउनुभयो । 

त्यस्तै, वैदेशिक रोजगारी र पर्यटन सेवा पनि पूर्ववत् अवस्थामा फर्किन थालेकोले बाह्य कारोबारको चालू खाता असन्तुलनमा सुधार हुने अपेक्षा बढेको डा. खतिवडाले बताउनुभयो । बैंकिङ क्षेत्रमा पनि तरलता केही सहज भएको संकेतले पनि आशा बढाएको उहाँले चर्चा गर्नुभयो । 

वैदेशिक रोजगारी र पर्यटन सेवा पनि पूर्ववत् अवस्थामा फर्किन थालेकोले बाह्य कारोबारको चालू खाता असन्तुलनमा सुधार हुने अपेक्षा बढेको डा. खतिवडाले बताउनुभयो । 

कार्यपत्रमाथि टिप्पणी गर्नुहुँदै उद्योगी शेखर गोल्छाले यसअघि मुलुकमा यत्ति ठूलो आर्थिक संकट आएको आफूले कहिल्यै नदेखेको बताउनुभयो । आर्थिक संकट सरकारको मात्र समस्या नभई सबै नेपाली जनताको समस्या भएकाले यसलाई सन्तुलित ढंगले कदम चालेर समाधान गर्नुपर्ने सुझाव दिनुभयो । सही आर्थिक नीति र त्यसको कार्यान्वयन गरेरै समस्याको समाधान हुने उहाँले सुझाव दिनुभयो ।

आर्थिक विज्ञ डा. मिनबहादुर श्रेष्ठले मुलुकको आर्थिक संरचनामै समस्या रहेकाले संरचनागत सुधारबाट मात्र समस्याको समाधान हुने सुझाव दिनुभयो । ठूलो मात्रामा आयात गर्ने र कम मात्रामा निर्यात गर्नु नै आर्थिक संकटको कारण भएको उहाँले चर्चा गर्नुभयो । निजी बैंकिङ क्षेत्रलाई आर्थिक बृद्धिको सम्बाहकको रुपमा परिचालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

अर्थविज्ञ डा. जगदीशचन्द्र पोखरेलले आर्थिक नीति परिमार्जन नगरी समस्याको समाधान नहुने बताउनुभयो । राजनीतिक तवरबाट ल्याइएका ठूलो आयोजनाले प्रतिफल दिने नदिने टुंगो नभएकै कारण समस्या समाधान हुन नसकेको उहाँले बताउनुभयो । प्रतिफलको सुनिश्चित्ता गरेर मात्र आयोजनामा लगानी बढाउन आवश्यक रहेको उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा केशव बडाल, डा. डिल्लीराज खनाल, डा. दिपेन्द्र भण्डारी, डा. कष्ण ओली, डा. पुष्प कँडेल, प्रा.डा गोविन्द नेपाल लगायतले देशको आर्थिक संकट र समाधानको उपायबारे आफ्नो धारणा राख्नुभएको थियो ।

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।