• २८ फागुन २०८२, बिहिबार

एलपी ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न अनुगमन

blog

कपिलबस्तुको तौलिहवामा बजार अनुगमन गरिँदै । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा(कपिलबस्तु), फागनु २८ गते । एलपी ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र बनाइएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको अगुवाइमा कपिलवस्तुको तौलिहवा बजार आसपासका क्षेत्रमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा व्यवसायीहरूलाई कारोबार व्यवस्थित गर्न, पसलमा अनिवार्य रूपमा मूल्यसूची राख्न, तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री नगर्न तथा बिक्री गर्दा अनिवार्य रूपमा बिल काटेर ग्राहकलाई दिन निर्देशन दिइएको थियो । ग्यास मौजदात रहेसम्म ग्राहकबीच कुनै विभेद नगरी सबैलाई समान रूपमा वितरण गर्न र सेवाग्राहीलाई सहज रूपमा ग्यास बिक्री वितरण गर्न पनि आग्रह गरिएको छ ।

सरकारले एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १ हजार ९ सय १० रुपियाँ तोके पनि तौलिहवा क्षेत्रमा केही व्यवसायीले करिब १ हजार ९ सय ५० रुपियाँमा बिक्री वितरण गरिरहेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका नासु बाबुराम शर्माले उपभोक्ताबाट तोकिएको मूल्यभन्दा बढी रकम लिने कार्य गैरकानुनी भएको भन्दै त्यस्तो गतिविधि रोक्न व्यवसायीलाई सचेत गराइएको बताउनुभयो।

घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका उद्योग अधिकृत विष्णु प्रसाद पोखरेलले उपभोक्ताको हितलाई ध्यानमा राख्दै बजार अनुगमनलाई निरन्तरता दिइने र अस्वाभाविक मूल्य लिने तथा कालोबजारी गर्ने व्यवसायीलाई कडा कारबाही गरिने बताउनुभयो ।

कार्यक्रममा कपिलबस्तु नगरपालिकाका प्रतिनिधि, प्रहरी पत्रकारको संयुक्त टोलीले तौलिहवा क्षेत्रका करिब आधा दर्जन ग्यास विक्रेताको अनुगमन गरेको हो ।