• ९ असार २०८१, आइतबार

सडक हिलाम्मे हुँदा यात्रा जोखिम

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, साउन ५ गते । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीसँग जोडिने सडक सञ्जालहरु लगातारको वर्षाले गर्दा हिलाम्मे हुँदा यात्रामा सर्वसाधारणलाई जोखिम एवम् सास्ती भएको छ ।

अबिरल वर्षाले गर्दा बेनी–जोमसोम सडकखण्ड अन्तर्गतको बेनी–गलेश्वर खण्डमै बाढीले सडक कटान गर्दा जोखिम बढेको छहो । बेनी–गलेश्वर खण्डको जलेश्वरमा रहेको खोल्सामा पानीको बहाब बढ्दा सडक कटान हुँदा जोखिम बढेको छ । माथिबाट आएको पानीको बहाव र सडक तलपट्टीको कालिगण्डकीको कटानले गर्दा एकोहोरो गाडी मात्रै क्रस हुने सडक बाँकी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजन ढकालले बताउनुभयो ।

सडक हिलाम्मे भएपनि सवारी सञ्चालनमा अबरोध अहिले नरहेको प्रहरी निरीक्षक ढकालले बताउनुभयो । ढकालका अनुसार बेनी–जोमसोम सडकखण्डको अन्नपूर्ण गाउँपालिकाको भुरुङ तातोपानी नजिकै नौनी बगरमा रातीदेखि अबरुद्ध भएको सडक आज बिहान ११ बजे देखि खुलेको छ । 

त्यस्तै, म्याग्दी र मुस्ताङ जिल्लाले राष्ट्रिय राजमार्गसँग जोडिने बेनी–मालढुङ्गा सडकखण्ड पनि वर्षाका कारणले गर्दा हिलो भएपनि जटिल अबरोध नरहेको प्रहरीले जनाएको छ । म्याग्दी सदरमुकाम बेनी जोड्ने ग्रामीण सडकहरु बेनी–दरवाङ हिजो बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने घुमाउने भीरमा अबरोध भएपनि अहिले सञ्चालनमा आएको छ । 

त्यस्तै बेनी–पाखापानी, रत्नेचौर–भकुण्डे, बेनी–बरंजा, बेनी–पुलाचौर तथा बेनी पाखापानी सडक पनि सञ्चालनमा रहेको छ । सवारी साधन अहिले सञ्चालनमा रहेको भएपनि जोखिम रहेको हुनाले अत्यावश्यक अवस्था बाहेक यात्रा नगर्दा राम्रो हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बेनी जोमसोम सडक खण्डको बेगखोलामा खोलाबाटै सवारी तार्नुपर्ने भएकाले बिहान अबेर मात्रै सवारी तरेका बेनी–जोमसोम–कोरला कालिगण्डकी करिडोर सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । बेलुकादेखि रोकिएको गाडीहरु बिहान अबेर मात्रै बेगखोलाबाट तरेका थिए । 

वर्षा हुनासाथ बेगखोलामा पानीको बहाब बढ्दा सवारी आवागमन रोकिनेगरेको छ । मुस्ताङ जोड्ने सडकखण्डको बेगखोलामा २०७३ भदौ १६ गते राती आएको बाढीले बेलीब्रीज एवम् झोलुङ्गे पुलसहित ११ वटा घर बगाएको थियो । बाढीमा परी पूर्णप्रसाद सिंजाली बेपत्ता हुनुभएको थियो । बाढीले क्षति भएको संरचना छ वर्ष वितिसक्दा पनि पुनः निर्माण नहुँदा जोखिम मोलेर सवारी साधनहरु बेगखोलाको बाढी यात्रुले खेप्दैआएका छन् ।