• २७ फागुन २०८२, बुधबार

पन्चानब्बे वर्षीय शाक्यको पुस्तक विमोचन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २५ गते । ९५ वर्षीय सानुमान शाक्यले लेख्नुभएको पुस्तक ‘जिं खनागु इतुंबहाः (मैले देखेको इतुंबहाः)’ को विमोचन गरिएको छ ।

बौद्ध गुरु प्राडा नरेशमान वज्राचार्य, केशचन्द्र महाविहारका चक्रेश्वर ओमरत्न वज्राचार्य, मूल स्थवीर मणिरत्न शाक्य, केशचन्द्र महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यलगायतले आइतबार संयुक्त रूपमा सो पुस्तक विमोचन गर्नुभयो । काठमाडौँ उपत्यकाका महाविहारमध्ये एक इतुंबहाः अर्थात् भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार ऐतिहासिक विशेषता भएको प्रसिद्ध तथा प्रमुख महाविहार हो । यस महाविहारमा बौद्ध धर्मावलम्बीसँग सम्बन्धित इतिहास, संस्कृति, रहनसहन, महायान, वज्रयान बौद्धहरूको जीवनशैली, संस्कारसम्बन्धी व्रिmयाकलाप नियमित रूपमा सञ्चालन हुने गर्दछ । लेखक शाक्यले करिब एक शताब्दी समयभित्रको इतुम्बहालका सम्पदा, संस्कृति, परम्परा एवं धार्मिक गतिविधिलाई समेटेर आफ्ना अनुभवसहित यो पुस्तक तयार पार्नुभएको छ । लेखक शाक्यले पुस्तक लेख्ने सोचाइ करिब ५० वर्षअघि नै आए पनि अहिले मात्र यो साकार भएको बताउनुभयो ।

बौद्ध गुरु वज्राचार्यले यस पुस्तकमा लेखकले इतुंबहाल मात्र होइन पशुपति, स्वयम्भू, वज्रवाराही, चोभारका विभिन्न पक्ष पनि उजागर गर्नुभएको बताउनुभयो । समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले ९५ वर्षको उमेरमा पनि आफ्नो स्थानका बारेमा केही गर्ने हुटहुटीसहित तयार पारेको यस पुस्तकले सबैलाई प्रेरणा दिएको छ भन्नुभयो ।