• २७ फागुन २०८२, बुधबार

स्व. निर्मोहीको १३ औँ दिनमा श्रद्धाञ्जली सभा

blog

स्व. निर्मोहीप्रति श्रद्धाञ्जली सभा । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, फागुन २४ गते । वरिष्ठ गायक, कलाकार तथा सञ्चारकर्मी स्वर्गीय कमल बिके निर्मोहीको १३ औँ दिनको पुण्यतीथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । 

वास नेपालको आयोजनामा स्व. निर्मोहीको निवासमा सम्पन्न श्रद्धाञ्जली सभामा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उहाँलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

श्रद्धाञ्जली सभा कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य एवम् नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ, वरिष्ठ कलाकार सुन्दर गुरुङ, दलित महिला संघ फेडोकी अध्यक्ष निर्मला सुनार तथा कलाकार वीरेन्द्र यादवले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै स्वर्गीय निर्मोहीले नेपाली कला, संस्कृति तथा समाज सेवामा गरेको योगदानको चर्चा गर्नुभएको थियो । 

उहाँहरूले निर्मोही सरल स्वभावका, प्रतिभाशाली तथा समाजप्रति प्रतिबद्ध कलाकार रहेको उल्लेख गर्दै उहाँको योगदान सधैँ स्मरणीय रहने बताउनुभएको थियो । वक्ताहरूले निर्मोहीले जीवनभर कला र समाजसेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको स्मरण गर्दै उहाँको अभाव सधैँ खट्किरहने बताउँदै कमल बिके निर्माेहीको नाममा अक्षयकोष स्थापना गर्न सकेको खण्डमा उहाँको सम्मान हुने र अमर रहने उहाँहरुको जोड थियो ।

स्वर्गीय कमल बिके निर्मोहीको फागुन १२ गते उपचारकै क्रममा निधन भएको थियो । उहाँ नेपाली लोकसंगीत तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको व्क्तित्वको रूपमा परिचित हुनुहुन्थ्यो ।