यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), फागुन २४ गते । बर्दियाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ठाकुरसिंह थारू विजयी हुनुभएको छ ।
फागुन २१ गतेको निर्वाचनमा थारू ४९ हजार छ सय ३१ मत ल्याएर भारी मतान्तरले विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी शालिकराम अधिकारीले १४ हजार छ सय ४३ मत ल्याउनुभएको छ ।
थारू ३४ हजार नौ सय ८८ मतान्तरले विजयी हुुनुभएको हो । यसअघि प्रतिनिधि सभा सदस्य तथा पूर्व सिँचाइमन्त्री सञ्जय गौतमले १२ हजार सात सय २२ मत ल्याउनुभयो । उहाँ नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिनुभएको थियो ।
त्यसैगरी थारू आयोगको अध्यक्ष र संविधानसभा सदस्य समेत भइसक्नु भएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विष्णु थारूले नौ हजार दुई सय ८५ मत ल्याउनुभएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई पराजय गरेर चर्चा कमाइसक्नु भएका सञ्जय गौतम यस पटक पराजय हुनुभएको छ ।
विजयी घोषणा पश्चात् थारू लगायत राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी सहिदको सम्झनामा गुलरियाको राधाकृष्ण चोकमा शोकसभा गरेको छ । बर्दिया क्षेत्र नं १ मा रहेका कुल मतदाता एक लाख ६८ हजार ३४ मध्ये एक लाख दुई हजार चार सय ८९ जनाले मतदान गरेका थिए । जसमध्ये पाँच हजार आठ सय ८० मत बदर भएको मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले बताउनुभयो ।