काठमाडौँ, फागुन २२ गते । २०औँ एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’ हुने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)को कार्यक्रम अन्तर्गत ‘फन रन’ गर्न लागेको हो ।
एनओसीले यो दौड सफलतापूर्वक सञ्चालन गर्नका लागि रामकृष्ण श्रेष्ठ बोसको संयोजकत्वमा पाँच सदस्यीय एसियन गेम फन रन आयोजक समितिको गठन गरेको छ ।
संयोजक श्रेष्ठ बोसले एसियन गेम्सअघि एसियाको यस शीर्ष खेलकुद प्रतियोगितामा सहभागी हुने प्राय राष्ट्रले फन रन गर्ने परम्परा रहिआएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘हामीले पनि ओलम्पिकको भावना अनुरूप हुने यस परम्परालाई कायम राख्न विगत तीन वर्षदेखि एसियाली खेलकुद अघि फन रनको आयोजना गर्दै आएका छौँ । यसअघि, एनओसीले सन् २०१८ मा भएको जाकार्ता–पालेमबाङ एसियाड र पछिल्लो ह्वाङजाउ एसियाडको प्रचारप्रसार स्वरूप फन रनको आयोजना गरेको थियो ।’’
फन रन फागुन ३० गते शनिबार बिहान ७:३० बजे सुरु हुने छ । एनओसी भवनको प्राङगणमा एक कार्यक्रमबिच सुरु हुने फन रन पाटन दरबार स्क्वायरमा पुगेर समापन हुने छ ।
संयोजक श्रेष्ठ बोसले करिब तीन किलोमिटरको सो फन रन दुरीमा सहभागीहरूले पाटनका सम्पदा क्षेत्रको अवलोकन पनि गर्ने बताउनुभयो । सो फन रनमा खेलाडी, विद्यार्थी, सञ्चारकर्मी, ओलम्पियन, खेल सङ्घसंस्था, कुटनीतिक व्यक्तित्व, सुरक्षा फौजका प्रतिनिधि गरी करिब एक हजारको सहभागिता रहने अपेक्षा गरेको संयोजक श्रेष्ठ बोसले बताउनुभयो ।
सो फन रनमा आइची नागोया एसियन गेम्सको आयोजक कमिटका प्रतिनिधि, ओलम्पिक काउन्सिल अफ एसियाका प्रतिनिधिका साथै नेपालका लागि जापानी राजदूतको पनि सहभागिता रहने जानकारी संयोजक श्रेष्ठ बोसले दिनुभएको छ ।
आगामी एसियाड जापानको नागोया सहरलाई दिइएको छ । प्रत्येक चार वर्षमा हुने एसियाड यसपाली आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म हुँदैछ । २०औँ एसियाली खेलकुदमा सहभागिताका लागि एनओसीले ३२ खेलको दर्ता गरिसकेको छ ।