• २३ फागुन २०८२, शनिबार

नाबालिगका लागि पोर्न साइट बन्द

blog

सिड्नी, फागुन २२ गते । अस्ट्रेलियाले बालबालिकालाई अनलाइन अश्लील सामग्रीबाट जोगाउन कडा कदम चाल्दै १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई पोर्न वेबसाइट पहुँच बन्द गर्न बाध्य पार्ने नयाँ नियम सोमबारदेखि लागु गर्ने जनाएको छ ।

अस्ट्रेलियाको अनलाइन सुरक्षा नियामकका अनुसार नयाँ व्यवस्था अन्तर्गत पोर्न वेबसाइटमा पहुँच गर्नु अघि प्रयोगकर्ताले आफ्नो उमेर प्रमाणित गर्नु पर्ने छ । अब ‘म १८ वर्षभन्दा माथिको हुँ’ भन्ने बटन मात्र क्लिक गर्नु पर्याप्त नहुने स्पष्ट गरिएको छ । नियम लागु हुनुअघि नै केही अस्ट्रेलियाली वेबसाइटले गैर-सदस्य प्रयोगकर्तालाई पहुँच बन्द गर्न थालेका छन् भने कतिपयले नयाँ दर्ता नै स्वीकार गर्न छोडेका छन् । 

यी साइटले कम उमेरका प्रयोग कर्तालाई रोक्न उमेर प्रमाणीकरण प्रविधि प्रयोग गर्नु पर्ने छ । नयाँ व्यवस्था अस्ट्रेलियाले यस अघि लागु गरेको अनलाइन बाल सुरक्षा नीतिको विस्तार हो । सरकारले गत डिसेम्बर १० देखि १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्ममा सहभागी हुन प्रतिबन्ध लगाएको थियो । 

अनलाइन सुरक्षा आयुक्त जुली इनम्यान ग्रान्टका अनुसार यो कदम बालबालिकालाई पोर्नोग्राफी, अत्यधिक हिंसात्मक सामग्री, आत्महत्या सम्बन्धी सामग्री र खानपान विकारसँग जोडिएका हानिकारक सामग्रीबाट जोगाउनका लागि लिइएको हो । नियम पोर्न वेबसाइटमा मात्र सीमित छैन । खोज इन्जिन, एप स्टोर, अनलाइन गेमिङ सेवा तथा च्याटबटसहितका जेनेरेटिभ कृत्रिम बौद्धिकता प्रणालीलाई पनि उमेर नियन्त्रण सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने छ ।

इनम्यान ग्रान्टका अनुसार कम्पनीले नियम उल्लङ्घन गरेमा प्रति उल्लङ्घन चार करोड ९५ लाख अस्ट्रेलियाली डलर (करिब तीन करोड ५० लाख अमेरिकी डलर) सम्म जरिवाना हुन सक्छ । उहाँले समाजले लामो समयदेखि बालबालिकालाई जोखिमपूर्ण स्थानबाट जोगाउन उमेर सीमा आवश्यक मान्दै आएको उल्लेख गर्नुभयो । “हामी बच्चाहरूलाई बार, मदिरा पसल, वयस्क पसल वा क्यासिनोमा प्रवेश गर्न दिँदैनौँ । तर उनीहरूले धेरै समय बिताउने अनलाइन संसारमा त्यस्तो सुरक्षा निकै कमजोर छ”, उहाँले भन्नुभयो ।

नयाँ नियम लागु भएपछि प्राविधिक कम्पनीले आफ्ना सेवामा समान मापदण्ड लागु गर्नु पर्ने छ, ताकि बालबालिका गल्तीले पनि हानिकारक सामग्रीमा नपरोस् । यस अन्तर्गत यौन स्पष्ट, हिंसात्मक वा आत्म-हानि सामग्री उत्पादन गर्न सक्ने एआई च्याटबटले प्रयोगकर्ताको उमेर पुष्टि गर्नु पर्ने छ । एप स्टोर र अनलाइन गेमिङ साइटले पनि १८ वर्षभन्दा कम उमेरका प्रयोग कर्तालाई वयस्क सामग्रीबाट रोक्नु पर्ने छ । खोज इन्जिन प्रयोग गर्दा पनि परिवर्तन देखिनेछ । उदाहरणका लागि प्रयोगकर्ता आफ्नो खातामा लग-इन नगरी खोजी गर्दा पोर्नोग्राफी वा अत्यधिक हिंसात्मक सामग्री भएका नतिजा पूर्वनिर्धारित रूपमा अस्पष्ट पारिने छन् ।

आत्महत्या वा खानपान विकारसँग सम्बन्धित खोजी गर्दा भने पहिलो नतिजामा मानसिक स्वास्थ्य सहायता सेवा सम्बन्धी जानकारी देखाइने व्यवस्था गरिने छ । नियामक निकायले नयाँ नियमको कार्यान्वयन निरन्तर अनुगमन गरिने र व्यापक रूपमा पालना नगर्ने कम्पनीविरुद्ध कानुनी कारबाही गरिने जनाएको छ ।

इनम्यान ग्रान्टका अनुसार कुनै पनि नियमले सबै जोखिम तुरुन्त हटाउन नसके पनि यी उपायले डिजिटल वातावरणमा बालबालिकाका लागि महत्त्वपूर्ण सुरक्षा सिर्जना गर्ने विश्वास गरिएको छ । साथै सरकारको ‘डिजिटल हेरचाह दायित्व’ कार्यान्वयन गर्ने प्रतिबद्धताले भविष्यमा अनलाइन सुरक्षालाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ । रासस/एएफपी