• २३ फागुन २०८२, शनिबार

इथियोपियाको ओरोमियामा विद्रोहीमाथि सामूहिक बलात्कारको आरोप

blog

आदिस अबाबा, फागुन २२ गते । इथियोपियाको ओरोमिया क्षेत्रमा सक्रिय विद्रोही समूहका लडाकूमाथि सन् २०२० देखि २०२४ बीच महिला र बालिकाविरुद्ध सामूहिक बलात्कार, यौन दासत्व र संक्षिप्त हत्या जस्ता गम्भीर अत्याचार गरेको आरोप अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले लगाएको छ ।

शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदनमा एम्नेस्टीले इथियोपियाको सबैभन्दा ठूलो र जनसङ्ख्या धेरै भएको ओरोमिया क्षेत्रमा नागरिकहरू विशेष गरी महिला र बालिकामाथि व्यापक यौन हिंसा भएको जनाएको छ । ओरोमिया देशको करिब एक तिहाइ भूभागमा फैलिएको क्षेत्र हो जहाँ करिब चार करोड मानिस बसोबास गर्छन् । यहाँ सन् २०१८ देखि इथियोपियाली सरकारी सेना र विद्रोही समूह ओरोमो लिबरेसन आर्मी (ओएलए) बीच सङ्घर्ष जारी छ ।

एम्नेस्टीले ओरोमियाका दुई जिल्लामा यौन हिंसाबाट बचेका १० जनासँग अन्तर्वार्ता लिएको थियो । तीमध्ये सात जना आक्रमणको समयमा नाबालिग रहेका थिए । अनुसन्धानका क्रममा स्वास्थ्यकर्मीहरूसँग पनि कुराकानी गरिएको थियो । प्रतिवेदन अनुसार नौ जना पीडितमाथि ओएलए लडाकूले हमला गरेका थिए भने एक जनाले इथियोपियाली सेना र ओएलए दुवै पक्षबाट हिंसा भोगेको बताएका छन् । 

पाँच जनालाई केही समय यौन दासत्वमा राखिएको थियो भने दुई जना महिला आफूले भोगेको अत्याचारका कारण गर्भवती भएका थिए । एम्नेस्टीले उद्धृत गरेको एक पीडित आमाले तीन हप्तासम्म आफू र आफ्नी छोरीलाई निरन्तर बलात्कार गरिएको बताएकी छन् । “तीन हप्तासम्म १५ जना पुरुषले मेरो बच्चा र मलाई बलात्कार गरे । उनीहरूले पालैपालो गरेर अत्याचार गरे”, उनले भनेकी छन् ।

प्रतिवेदनमा आमा र छोरीलाई तीन हप्तासम्म बन्दी बनाएर राखिएको उल्लेख छ । उनीहरूको हात रूखमा बाँधेर राखिएको र त्यस क्रममा धेरै पुरुषले उनीहरूमाथि बलात्कार गरेको एम्नेस्टीले जनाएको छ । एम्नेस्टीका पूर्वी र दक्षिणी अफ्रिका क्षेत्रीय निर्देशक टिगेरे चागुटाहका अनुसार सञ्चार सेवा बन्द गरिएकाले यस्ता घटना बाहिरी संसारसम्म पुग्न कठिन भएको थियो । उहाँले भन्नुभयो, “यी कायरतापूर्ण कार्य आंशिक रूपमा सञ्चार अवरोधका कारण सम्भव बने, जसले नागरिकविरुद्ध भइरहेका निरन्तर अत्याचारलाई बाहिरी संसारबाट लुकाइदियो ।”

उहाँका अनुसार यस्ता बारम्बारका दुव्र्यवहार अत्यन्त भयावह मात्र नभई अन्तर्राष्ट्रिय कानून अनुसार युद्ध अपराधको श्रेणीमा पर्न सक्ने सम्भावना पनि छ । पीडित महिलाले आफूलाई सरकारी सेनामा पति, बुबा वा दाजुभाइ रहेको भन्दै प्रतिशोध स्वरूप ओएलए लडाकूले बलात्कार गरेको विश्वास व्यक्त गरेका छन् । एक महिलाले आफूलाई जोगाउने प्रयास गर्दा उनका पतिको हत्या गरिएको बताएकी छन् ।

चागुटाहका अनुसार यी घटना ‘दण्डहीनताको वातावरण’ मा घटेका हुन् । उहाँले प्रतिवेदनले सम्बन्धित निकायलाई सचेत गराउने र कारबाहीका लागि दबाब सिर्जना गर्ने अपेक्षा गरिएको बताउनुभयो । करिब १३ करोड जनसङ्ख्या भएको इथियोपिया हाल विभिन्न सशस्त्र द्वन्द्वले प्रभावित छ । देशको दोस्रो ठूलो जनसङ्ख्या भएको अम्हारा क्षेत्रमा पनि सन् २०२३ देखि सङ्घीय सेना र विद्रोहीबिच झडप भइरहेको छ ।

यसअघि उत्तरी टिग्रे क्षेत्रमा भएको तीन वर्ष लामो भीषण युद्धबाट देश भर्खरै बाहिरिएको हो । अफ्रिकी युनियनका अनुसार उक्त द्वन्द्वमा कम्तीमा छ लाख मानिसको ज्यान गएको थियो । त्यस युद्धका कारण लाखौँ टिग्रेयन नागरिक विस्थापित भएका छन् र हाल पनि त्यस क्षेत्रमा पुनः हिंसा भड्किन सक्ने चिन्ता व्यक्त भइरहेको छ । रासस/एएफपी