ममता मृदुल
काठमाडौँ, फागुन २२ गते । पुस्तकका पाना पल्टाउँदै गएँ । मनभित्रबाट उर्लेर आएका भाव छताछुल्ल पोखिन खोजिरहेका छन् । पर्ख आज होइन अझैं बाँकी छ । बान्की परेका कुरालाई कोट्याउन पर्ख । मनलाई थुम्थुम्याएर राखेँ । सबै पढेँ । आनन्द कहाँ मागेर पाइन्छ । पाइन्छ भने खोजी खोजी पढ्नुस् ।
नेपाली भाषा साहित्यका क्षेत्रमा साहित्य र पत्रकारितामा उच्च स्थान बनाइसक्नुभएको हिमालझैँ अडिग भएर, लालीगुराँसझैँ लाली बोकेर मन्दमन्द मुस्कान छर्दै मनभित्र उब्जेको विद्रोहीको भावलाई सरल रूपमा न्यु सृष्टि दैनिकका पानामा छरिएका शब्द चित्रद्वारा विकृति र विसङ्गतिलाई पोख्दै सबैको मनलाई तरङ्गका लहरमा तरङ्गित बनाउँदै ठिङ्ग उभ्याउन सफल अदभूत व्यक्ति शङ्कर खरेलले सरल र तरल भएर दुई हात जोड्दै भन्नुहुन्छ नरिसाउनुस् है ।
अहो पढ्दापढ्दै मनभित्र विद्रोह जन्मन्छ । विसङ्गतिलाई चिरेर अगाडि जान नसकिने रहेछ भन्ने भावलाई पखाल्ने क्षमता सजिलोसँग देख्ने नेत्रले जीवनमा केही नबोल्ने पक्षलाई जन्मेपछि मृत्युु सत्य छ । किन गलत कर्म गर्ने भनेर सुकर्म गर्न बाटो देखाएको छ । आफ्नो देशको चिन्ताले छट्पटी भएको अवस्थामा के गरू कसो गरू भएको बेला सजाय दिने कानुन मस्त निदाएको छ भन्ने कुरालाई सभ्य र शिष्ट भाषामा झक्झक्याउँदै भन्नुहुन्छ नरिसाउनुस् है।
गल्ती गरेका र गरिरहेका मान्छेलाई तिमीले के गरेका भन्दा तलाई के मतलब भन्ने जवाफको पर्वाह नगरी समाजमा बसेका खराब प्रवृत्तिका माकुरोलाई अरू जालो बुन्न नदिने सचेत नागरिक भएर सबैभन्दा अग्र पङ्क्तिमा उभिएर हक अधिकारका लागि मन मोहक मुस्कान छर्दै दुई हात जोडेर भन्नुभएको छ नरिसाउनुस् है ।
तेरो कर्तुत भण्डाफोर गर्ने हैसियत छ मसँग भनेर धम्क्याउने काम कहीँ कतै भएको देखिन्न । त फटाहा रहेछस् भन्ने शब्द प्रयोग कतै गरिएको छैन । तर मृत्युु पछि जाने घाट सबैको एउटै हो ब्रम्हनालमा शिर सबैको एकै ठाउँमा हुन्छ भने कि कुकर्मको बाटोमा हिँड्ने । जीवनका हरेक पक्षलाई सरल र सुगन्धित बनाउन सहज छैन त्यसैले होला हिलोमा फुल्ने कमलमा देवता बसेका, समाजलाई खराब बाटोमा हिँड्नुपर्छ भन्ने मान्छेलाई हिलो र विकृतिको विरुद्धमा उठेका आवाजलाई बुलन्द बनाउँदै अलिकति झुकेर भन्नुभएको छ नरिसाउनुस् है,
मोहक अनि सुवासित बनेको सबैको दृष्टिमा कमलका पत्रपत्र बनाएर फुलेको सुन्दर पुस्तक नै लाग्छ यो रातो कमलको फूलले सूर्योदयको सुचना प्रवाह गर्ने छ । साँझसम्म यसले सूर्यको मुख ताक्दैन आफ्ना कोमल पत्रपत्रमा समाजका राम्रा पक्षलाई समेट्ने हैसियत पनि राख्छ । यस्तै उच्च हैसियतले भरिएका हरेक विषयमा लेखिएका छन् जीवनका पानाहरू जहाँ प्रेम रसले भरिएको सुन्दर घडामा कागले चुच्चोले खसालेका ढुङ्गा होइन प्यास मेटाउने पानी छ । अनि हरेक मान्छेले भोग्नुपरेको कठिन जिन्दगानी छ ।
मानव जीवनमा गरिएको कर्म, सुकर्म हुन्छ भन्न म सक्दिन । स्वार्थले भरिएको संसारमा अरूको सोच्न पनि भ्याउनु परेन ? तर यहाँ आफ्नो लागि भन्दा अरूका लागि बाच्ने मान्छे पनि छन् । हरेक दिन बिहानै शुभकामनाका सन्देश बोकेर आएको न्यु सृष्टिका पाना पल्टाएर हेर्दा समाचारका साथमा चियाको चुस्की सँगसँगै कविता, मुक्तक र लघुकथाको आनन्दमा रमाउँदा झट्ट पढ्न छोडेर पढ्ने नै हो नरिसाउनुस् है ।
अनि,
जीवनका तितो सत्यलाई मान्छेले करेला पनि मन पराएर खानुपर्छ जस्ता बिम्बमा ढालिएका शब्दको सुकोमल प्रहारबाट बच्न सकिएको छ । कलमले शून्यबाट सुरु हुन सिकाउँछ । सून्यको मोल अगाडिको अङ्कले थप्छ जहाँ जीवनलाई चुलीमा पुर्याउने क्षमता कम नआक्नु भन्ने भनेको पनि हुँदैन ।
चुम्बकीय आकर्षणको व्याख्या जति गरे पनि त्यसले फलाम तान्ने क्षमता राख्छ सबैलाई थाहा छ । यो कुरा थाहा पाएका हामीलाई झन अचम्मको अर्को कुरा पनि भन्छु नरिसाउनुस् है ले त फलाम मात्रै तान्दैन मान्छेको कठोर मनलाई सजिलोसँग तताउँछ र पगाल्दै पानी बगे सरी प्यास मेटाउँछ ।
आँखामा गुराँस र हत्केलामा हिमाल बोक्ने नेपाली मनले नेपाली भाषा साहित्य र पत्रकारिता क्षेत्रमा उचाइ चुम्दै अगाडि बढ्नु सजिलो छ ?
आदरणीय र सम्मानित व्यक्ति शङ्कर खरेलको नरिसाउनुस् है पुस्तकका बारेमा केही शब्द कोर्ने अवसर पाउँदा मलाई ब्रम्हनालको सम्झना आइरहेको थियोे । साँझमा सिङ्गिया आरती अभियानका अभियन्ता जीवन र मृत्युको जानकार भएको व्यक्तिमा न अहम् हुन्छ न अहंकारको कण हुन्छ ।
आफ्ना वरिपरिका साना साना हात समाएर सगरमाथासम्म पुर्याउने साहस र क्षमतालाई सलाम गर्दै स्रष्टा शङ्कर खरेल र नरिसाउनुस् है पुस्तकको सफलता कामना गर्दै आजलाई बिदा माग्छु ।