• १५ चैत २०८०, बिहिबार

आगामी निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

blog

तस्विर : केशव गुरुङ/गोरखापत्र अनलाइन

काठमाडौं, साउन ४ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दावी गर्नुभएको छ । वर्तमान गठबन्धन सरकार विकास निर्माण तथा आर्थिक पक्षमा पूर्णतः असफल भएकाले आउने निर्वाचनपछि एमाले नेतृत्वमा सरकार बन्ने उहाँले बताउनुभयो । 

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा बुधबार यहाँ आयोजित अनलाइनका सम्पादक तथा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । स्थानीय तह सदस्य निर्वाचनमा एमाले एक्लै निर्वाचनमा होमिदा पनि सबैभन्दा बढी र लोकप्रिय मत ल्याएको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले भन्नुभयो, “मुलुकको सबैभन्दा बलियो राजनीतिक शक्ति एमाले हो, देशको आर्थिक रुपान्तरण पनि एमाले नेतृत्वको सरकारबाट मात्र सम्भव छ ।”


सबै राजनीतिक दल एकातिर गठबन्धन गर्नु र एमाले अर्कोतिर एक्लै निर्वाचनमा होमिनुले पनि एमाले मुलुकको पहिलो शक्ति हो भन्ने पुष्टि भएको उहाँले बताउनुभयो । आगामी निर्वाचनमा पनि एमाले एक्लै निर्वाचनमा जान सक्षम रहेको उहाँले चर्चा गर्नुभयो । एमालेको नीतिसँग मेलखाने नीतिगत सहकार्य हुन सक्ने भएपनि अन्य दलसँग एमाले गठबन्धन र सहकार्य नगर्ने उहाँले प्रष्ट पार्नुभयो ।

मुलुकको अहिले शासन प्रणाली संसदीय भएपनि वर्तमान सरकार असंसदीय हिसावले निर्माण भएकाले लोकतन्त्रमाथि प्रश्न उठिरहेको प्रसँग उल्लेख गर्नुहुँदै महासचिव पोखरेलले थप्नुभयो, “जनमतको कदर गर्नु नै सबैभन्दा सही लोकतन्त्र हो, जनमत एकातिर शासन व्यवस्था अर्कोतिर भयो भने लोकतन्त्रको उपहास हुन्छ, अहिलेको सरकार संसदबाट बनेको होइन ।” 

मुलुकको सबैभन्दा बलियो राजनीतिक शक्ति एमाले हो, देशको आर्थिक रुपान्तरण पनि एमाले नेतृत्वको सरकारबाट मात्र सम्भव छ ।

मुलुकको विकासका लागि राजनीतिक सुदृढीकरण आवश्यक रहेको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले भन्नुभयो, “मुलुकमा जतिधेरै राजनीतिक शक्ति हुन्छन्, त्यति धेरै अराजकता बढ्छ, देशको विकास र परिवर्तनका लागि बलियो राजनीतिक शक्तिको खाँचो छ, मुलुकमा दुई वा तीन दलमात्र भयो भने राजनीतिक स्थायित्व हुन्छ ।” देशमा धेरै राजनीतिक शक्ति भएपनि प्रमुख दल एमाले र नेपाली कांग्रेस मात्र रहेको उहाँले प्रष्ट पार्नुभयो । अवको निर्वाचनमा पनि एमाले भर्सेज गठबन्धन दल हुने भएकाले एमालेलाई पहिलो शक्तिको रुपमा स्थापित गरेर देशको विकासमा लाग्न आवश्यक रहेको उहाँले बताउनुभयो । 

वर्तमान सरकार आर्थिक दृष्टिकोणले गलत बाटोमा रहेकाले देशमा आर्थिक संकट चुलिएको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले बजार भाउ अचाक्ली बृद्धि हुनु, बजारमा नगद पैसाको हाहाकार हुनुको पछाडि सरकारको गलत नीति कारक भएको बताउनुभयो । “मुलुकको आर्थिक संकटको कारण संघीयता होइन, सरकारको गलत आर्थिक नीति हो” जिकिर गर्नुहुँदै महासचिव पोखरेलले भन्नुभयो, “मुलुकमा आर्थिक संकट कायम रहनु भनेको श्रीलंकाको बाटोमा मुलुक उन्मुख हुनु हो, यसको निराकरणका लागि सही आर्थिक नीतिको आवश्यकता छ ।”

मुलुक अहिले मुख्य दुई विचारधारामा केन्द्रीत भएको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले भन्नुभयो, “उदार पूँजीवादको बाटोमा गठबन्धन दल छन्, त्यसको नेतृत्व कांग्रेसले गरिरहेको छ, समाजवादको नेतृत्व एमालेले गरिरहेको छ ।” नेपालको बाम शक्तिको मुख्य प्रवाहीकरणको नेतृत्व एमालेले गरिरहेकाले आफूलाई बामपन्थी शक्ति मान्ने दलहरुलाई एमालेको क्याम्पमा आउन उहाँले आग्रह गर्नुभयो । 

उदार पूँजीवादको बाटोमा गठबन्धन दल छन्, त्यसको नेतृत्व कांग्रेसले गरिरहेको छ, समाजवादको नेतृत्व एमालेले गरिरहेको छ ।

यसअघि एमाले नेतृत्वको सरकारले आर्थिक बृद्धिदर राम्रो भएको विश्वको दश देशमा नेपाललाई दर्ज गरेको भएपनि वर्तमान सरकारले हरेक हिसावले देशलाई आर्थिक संकटतर्फ लगेको उहाँले जिकिर गर्नुभयो । संविधानको कार्यान्वयन र संघीयताको कार्यान्वयनमा एमालेले नै नेतृत्व गरिरहेको उहाँले दावी गर्नुभयो । यसअघि मधेसवादी दल, विप्लब नेतृत्वको दल, सिके राउत नेतृत्वको दललाई मूलधारमा ल्याएर संविधानको स्वीकार्यता गराउन एमाले सफल भएको पनि उहाँले दोहो¥याउनुभयो ।

एमाले प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेसँग देश विकास तथा रुपान्तरणको पक्षमा काम गर्ने योजना र एजेण्डा भएपनि जनतामाझ प्रचार गर्न नसकेको बताउनुभयो । एमाले नेतृत्वको सरकारले अथाह राम्रो काम गरेको छ, तर प्रचार गर्न सकेन उपमहासचिव गुरुङले थप्नुभयो, “एमालेसँग बासमति चामल छ तर प्रचार गर्न नसकेर विक्री भइरहेको छैन । बोल्नेको पीठो विक्छ, नबोल्नेको चामल पनि विक्दैन भन्ने उखान एमालेसँग मिलेको छ ।”


सामाजिक रुपान्तरण, न्यायसंगत र सुशासनयुक्त समाज निर्माणका लागि एमालेसँग स्पष्ट योजना र एजेण्डाहरु भएपनि मिडियासँग सहकार्य हुन नसकेर जनतामाझ लग्न नसकिएको भन्दै उहाँले पत्रकारलाई त्यसमा सहयोग गर्न अपिल गर्नुभयो । देशको रुपान्तरणमा मिडियाको भूमिका अपरिहार्य रहने हुनाले मुलुक बनाउने अभियानमा सहयोग गर्न उहाँले मिडियाकर्मीसँग आग्रह गर्नुभयो । 

सो अवसरमा अनलाइनका सम्पादक तथा पत्रकारले एमालेको राजनीतिक दिशा, आर्थिक नीति तथा भावी योजनाबारे जिज्ञासा राख्नुभएको थियो । पत्रकारको जिज्ञासामा महासचिव पोखरेलले प्रष्ट पार्नुभएको थियो । 

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।