• २१ फागुन २०८२, बिहिबार

पाँचथरमा ४९.६३ प्रतिशत मतदान

blog

फिदिम–२ स्थित आदर्श आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान सकिएपछि मतपेटिकाको सुरक्षा गर्दै प्रहरी। तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, फागुन २१ गते । पाँचथर जिल्लामा ४९.६३ प्रतिशत मत खसेको छ। जिल्लाभर ७१ हजार १ सय ७० मत खसेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको हो। जिल्लामा कुल १ लाख ४३ हजार ४ सय ८ मतदाता रहेका थिए। मतदान गर्नेमा महिलाको तुलनामा पुरुषको सङ्ख्या बढी देखिएको छ।

यहाँ ३३ हजार ६ सय १५ महिला र ३७ हजार ५ सय ५५ पुरुषले मतदान गरेका हुन्। जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताउनुभयो।

मतदान सम्पन्न भएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय (गणना स्थल) मा मतपेटिका आइपुग्न थालेका छन्। हालसम्म फिदिम नगरपालिकाका चारवटा मतदान स्थलबाट पेटिका आइपुगेको जानकारी दिइएको छ। बाँकी स्थलहरूबाट मतपेटिका ल्याउने क्रम जारी छ। सबै मतपेटिका सङ्कलन भएपछि भोलिदेखि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिनुभयो।