• १३ असार २०८१, बिहिबार

मुटुरोगी बालकको उपचारमा समस्या

blog

बैतडी, साउन ४ गते  । तीन वर्षीय मोहन ठगुन्नालाई मुटुरोगले च्यापेको चार महिना भयो । बैतडी अस्पतालले उपचारका लागि बाहिर लान रेफर गरेको तीन महिना बितिसकेको छ । उपचार गर्ने रकम त परको कुरा, बालकका आमाबुवासँग काठमाडौँसम्म पुग्ने बसभाडासमेत नहुँदा मुटुरोगी बालक घरमै थन्किएका छन् । 

यो पीडा बैतडीको दशरथचन्द नगरपालिका–४ का तीन वर्षीय बालक मोहन ठगुन्नाको हो । दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने आमा निर्मला ठगुन्ना बिरामी छोरो काखी च्यापेर उपचारका लागि याचना गर्दै भौँतारिरहनुभएको छ । बालकको पीडा र आमाको रोदन सुनेर केही मनकारीले दुई/चार हजार रुपियाँ सहयोग दिए पनि उपचारका लागि सो रकम नपुग्ने बालककी आमा निर्मला बताउनुहुन्छ । 

“दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका छौँ”, निर्मलाले आँसु झार्दै भन्नुभयो, “मुटुरोगको उपचार गर्न लाखौँ रुपियाँ कहाँबाट जुटाउने होला ? छोरो बँचाइदिने भगवान् कहाँ होलान् ?” निर्मलाका श्रीमान् दैनिक ज्याला मजदुरी गर्ने भरियाको रूपमा कार्यरत हुनुहुन्छ । तीन वर्षअघि छोरो जन्मिदा खुसी भएको यो मजदुर परिवार बालकलाई मुटु रोगले च्यापेपछि आँसुको आहालमा डुबेको छ ।

बालकले छाती दुःख्योभन्दा निर्मला ठगुन्ना भक्कानिएर रुने गर्नुहुन्छ । भोकभोकै सहयोग माग्दै बैतडी सदरमुकाममा भौँतारिँदा उपचार खर्च नजुटेपछि बिरामी बालक काखी च्यापेर नगरपालिका पुग्दा सात हजार रुपियाँ पाएको निर्मलाले बताउनुभयो । नगरपालिकाले दिएको सात हजार रुपियाँले बिरामी बालक बोेकेर दुई जना श्रीमान्श्रीमती कसरी काठमाडौँ पुग्ने भनेर निर्मला अन्योलमा पर्नुभएको छ । डाक्टरले बालकको उपचार समयमै गर्न सुझाव दिए पनि ठगुन्ना दम्पतीको आर्थिक अवस्था दयनीय हुँदा बालकले समयमै उपचार पाउन सकेका छैनन् । 

बालकको उपचारका लागि स्थानीय सरकारले गरेको पहलकदमीका विषयमा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्कराज जोशीले नगरपालिकाबाट आवश्यक सहयोग हुने आश्वासन दिनुभयो । मुटुरोगी बालकका विषयमा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टसँग कुरा गर्दा उहाँले स्वास्थ्य कार्यालयसँग उपचारका लागि आर्थिक सहयोग दिने कुनै अधिकार नभएको बताउनुभयो । 

स्वास्थ्य प्रमुख भट्टले भन्नुभयो, “स्वास्थ्यको सबै अधिकार स्थानीय सरकारसँग छ । प्रदेश सरकारले पनि विपन्न नागरिकको उपचारका लागि सहायता कोष स्थापना गरेको छ । बिरामी बालकका आमाबुवाले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गर्छु ।”यता बिरामी बालकका आमाबुवासँग सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसम्म पहुँच नपुग्दा मुटुरोगी बालकले उपचार पाउन सकेका छैनन् ।