मुस्ताङ, फागुन १९ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मुस्ताङमा दल परित्याग र पार्टी प्रवेशको क्रम तीव्र बनेको छ ।
चिसो छल्न बेंसी झरेकाहरू धमाधम फर्किन थालेपछि निर्वाचनको सरगर्मी बढेसँगै पहिलोपटक मत हाल्ने मतदातादेखि लामो समयसम्म विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू एक दलबाट अर्को दलमा आवद्ध हुने होडबाजी चलेको हो ।
तल्लो र माथिल्लो मुस्ताङमा चुनावी अभियानमा रहेका दलका उम्मेदवारहरूले एक–अर्काका स्थानीय नेता तथा कार्यकर्तालाई आफ्नो पक्षमा ल्याएको दावी गर्दै सामाजिक सञ्जालमा मतदाता भेटघाटभन्दा बढी पार्टी प्रवेशका तस्वीरहरू हालेर मतदातालाई तान्ने प्रयास गरेका छन् ।
नेपाली कांग्रेसका नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य, पूर्व युवा संघ नेपाल जिल्ला मुस्ताङको उपाध्यक्ष थासाङ गाउँपालिका–५,टिटीका तेजिन्द्र गौचन सहित कुञ्जो, ताग्लुङका ४० जना नेकपा एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका जिल्ला सभापति रोमी गौचन थकालीले बताउनुभयो । सभापति गौचनले जिल्लाभित्र विभिन्न बस्तीमा अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा आवद्ध हुनेको संख्या धेरै रहेको बताउनुभयो ।
सभापति गौचनले भन्नुभयो, ‘‘पार्टी प्रवेश, नयाँ मतदाताको आर्कषण छ, हामीले चुनावी अभियानमा धेरैलाई जोडेका छौं ।’’ यता नेकपा एमाले मुस्ताङमा लोमान्थाङ गाउँपालिकाका विभिन्न वडाबाट ४६ जनालाई पार्टीमा प्रवेश गराएको नेकपा एमाले मुस्ताङका अध्यक्ष राजु लालचनले बताउनुभयो ।
अध्यक्ष लालचनले जिल्लाका विभिन्न स्थानमा घरदैलो अभियानमा मतदाताहरू उत्साहित भएर समर्थन तथा पार्टीको सदस्यता लिएका छन् । अध्यक्ष लालचनले भन्नुभयो,‘‘उपल्लो मुस्ताङले पहिलोपटक उम्मेदवार पाएको छ, हामीले यो अवसरलाई सदुपयोग गर्ने भन्दै पार्टीमा जोडिनुभएको छ ।’’ यसैबीच घरपझोङ गाउँपालिका वडा नं. ५ निवासी कृष्णप्रसाद थकालीले नेपाली कांग्रेस पार्टीबाट राजीनामा दिनुभएको छ ।
पार्टीबाट अलग हुनुभएका वडा सदस्य थकाली नेकपा निकट भएको र चुनावमा समेत सघाएको बताइएको छ । निर्वाचनको प्रचारप्रसार गर्ने अन्तिम चरणमा पार्टीका बलियो पकट भएका क्षेत्रहरू भत्काएर मत आफ्नो पक्षमा पार्ने थालेपछि अन्तिम समयमा मुस्ताङमा चहलपहल ह्वात्तै बढेको छ ।
मुस्ताङमा नेपाली कांग्रेसबाट योगेश गौचन थकाली, नेकपा एमालेबाट इन्द्रधारा डाढु विष्ट, नेपाली कम्युनिष्ट पार्टीबाट ङुटुक गुरूङ,राष्ट्रि«य स्वतन्त्र पार्टीबाट अधितियचन्द्र थकाली,आम जनता पार्टीबाट अजय विक, मंगोल नेशनल अर्गनाइजेशनबाट यमबहादुर गुरूङ, राष्ट्रि«य प्रजातन्त्र पार्टीबाट कमला लालचन र उज्यालो पार्टीबाट डा. सुरेन्द्र शेरचन उम्मेदवार रहेका छन् ।
एक निर्वाचन क्षेत्र रहेको जिल्लामा थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा कुल ११ हजार ३ सय २८ मतदाता छन् ।