नयाँदिल्ली, फागुन १९ गते । भारतीय एयरलाइन्सले युद्वका कारण मध्य पूर्वका देशमा रोकिएका हजारौं यात्रुलाई स्वदेश फर्काउनका लागि सीमित व्यावसायिक सेवा पुनः सुरु गर्ने जनाएको छ । लाखौँ दक्षिण एसियाली नागरिक मध्यपूर्वका विभिन्न देशमा रोजगारीको शिलशिलामा बसोवास गर्दै आएको जनाइएको छ ।
यसै गरी इन्डिगोले भने मध्यपूर्वका देशबिचको हवाई सेवा सञ्चालनलाई क्रमिक रूपमा सामान्य बनाउँदै लैजाने जनाएको छ । एयर इन्डिया एक्सप्रेसले मङ्गलबारदेखि ओमानको राजधानी मस्कट जाने उडान पुनः सुरु गर्ने बताएको छ । यद्दपी बहराइन, कुवेत, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स जाने उडान भने हालसम्म स्थगित नै रहेको एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बहराइन, साउदी अरेबिया र जोर्डनसहित मध्यपूर्वका धेरै नेतासँग फोनवार्ता गरेको जनाउँदै सामाजिक सञ्जालमा मार्फत भारतीय नागरिकको संरक्षणका लागि सहयोगी भुमिका खेली दिएकोेमा धन्यवाद व्यक्त गर्नुभएको छ । आक्रमणमा अबुधाबीमा एक जना नेपाली र बहराइन र संयुक्त अरब इमिरेट्समा दुई बङ्गलादेशीसहित धेरै दक्षिण एसियाली नागरिकको मृत्यु भएको जनाइएको छ ।
प्रधानमन्त्री मोदीले सोमबार आफ्ना इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँगसमेत फोनवार्ता गरी हालैको घटना क्रमको बारेमा चिन्ता व्यक्त गरेको र आफ्ना नागरिकको सुरक्षा प्राथमिकता बारे जानकारी लिएको जनाइएको छ । रासस/एएफपी