रामकृष्ण बोहरा
बागलुङ, फागुन १९ गते । जिल्लाका ३५ वटा संवेदनशिल मतदान केन्द्रमा सुरक्षा व्यवस्थापन मजबुत बनाइएको छ ।
अस्थायी र स्थायी मतदान केन्द्र गरी बागलुङमा २३२ मतदान केन्द्र छन् । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार ३५ संवेदनशिल मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मी खटिइसकेका छन् ।
चुनावी वातावरणमा यो पटक जिल्लामा कुनै पनि अप्रिय घटना भएका छैनन् । आचारसंहिता पालना, प्रचार प्रसारमा सौहार्दता र दलबिच सम्मानजनक व्यवहार भएकोले चुनाव शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने अपेक्षा गरिएको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।
‘‘निर्वाचनको लागि आवश्यक सुरक्षा बन्दोबस्त गरेर मतदान केन्द्रमा सामाग्री पठाइएको छ’’ सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले भन्नुभयो, ‘‘निर्वाचन सुरक्षाको टोली पनि मतदान केन्द्रमा पुगिसकेका छन् ।’’ मतदान अधिकृतसँग मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको ह्वाट्स एप समूह बनाएर निर्वाचनका गतिविधिबारे नियमित जानकारी लिने काम गरिएको शर्माले बताउनुभयो ।
आसन्न निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामाग्री वितरण भएपछि मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगिसकेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट क्षेत्र नं. १ मा र निर्वाचन अधिकृतको कार्यालयबाट क्षेत्र नं.२ का मतदान केन्द्रका सामाग्री पठाइएको छ ।
सहायक निर्वाचन अधिकृत शर्माका अनुसार, अधिकांश केन्द्रको सामाग्री पठाइएको छ भने नजिकका केन्द्रको सामाग्री पठाउने क्रम छ ।
कतिपय मतदान केन्द्रमा भने निर्वाचनका सामाग्री र मतपत्र मङ्गलबार मात्रै पुग्ने उहाँले जानकारी दिनुभयो । मतदान अधिकृतले केन्द्रमा पुगेर वरपरका पसलमा मदिरा लगायतको बिक्री वितरणमा रोक लगाउने सूचना प्रकाशित गरिसकेका छन् ।
त्यस्तै राजनीतिक दलको प्रचार सामाग्री हटाउने जस्ता काममा समन्वय पनि सुरु भइसकेको शर्माले बताउनुभयो ।