• १३ असार २०८१, बिहिबार

हतारमा शिलान्यास, प्रगति शून्य

blog

तिलाचन पाण्डे

तम्घास, साउन ४ गते । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एकै दिन शिलान्यास गरेका ३९६ अस्पतालमध्ये गुल्मी अस्पतालको अवस्था विजोग छ । २०७७ साल मङ्सिर १५ मा तामझाम तथा हतारहतारमा ती अस्पतालको शिलान्यास गरिएको थियो । केन्द्रीयमन्त्री, पूर्वमन्त्री, प्रदेश स्तरका मन्त्री र प्रदेश सभा सदस्यले गाउँगाउँ पुगेर एकै दिन तीनवटा अस्पतालको शिलान्यास गरेका थिए ।

 शिलान्यास भएको झण्डै २० महिना पुग्दा पनि स्थानीय तहकामा अस्पतालको निर्माण कार्य शून्यजस्तै छ । यहाँको छत्रकोट गाउँपालिकास्थित १५ शøयाको अस्पताल लुम्बिनी प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले अस्पतालको शिलान्यास गर्नुभयो । छत्रकोट–४ शृङ्गामा अस्पतालको शिलान्यास गरेको २० महिना पुग्न लाग्दासमेत अस्पताल बन्ने नबन्ने टुङ्गो नै छैन् । शिलान्यास गरिएको जग्गा भवन मापदण्डअनुसार नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले बताउनुभयो । 

शिलान्यास गरिएको जग्गाको करिब तीन सय मिटर पर जग्गा व्यवस्थापन भएकाले पालिका अध्यक्षले अहिले पनि फाइल बोकेर डीपीआरका लागि केन्द्रीय स्तरका नेता र सङ्घीय मन्त्रालयमा धाइरहनुभएको छ उहाँले भन्नुभयो । 

मालिका गाउँपालिका–४, अर्खबाङमा पूर्वमन्त्री गोकर्णराज विष्टले तामझामका साथ अस्पतालको शिलान्यास गर्नुभयो । उक्त अस्पताल शिलान्यासमै मात्र सीमित भएको छ । जग्गा विवाद भएका कारण अस्पताल निर्माण कार्य हुन नसकेको गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले जानकारी दिनुभयो । इस्मा गाउँपालिका–४, दोहलीस्थित गुरुङगाडेमा १५ शøयाको अस्पताल निर्माणको काम सुस्तगतिमा भइरहेको छ । अलिहेसम्म फिल्ड सम्याउने काम सकिएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिनुभयो । 

सत्यवती गाउँपालिका–६, जुहाङमा भने पिल्लर राख्ने काम सकिएको पालिकाका इन्जिनियर रमेश शाहीले जानकारी दिनुभयो । अस्पताल निर्माणको कार्य हाल तीव्र गतिमा अगाडि बढेको भन्दै करिब ३५ प्रतिशत काम सम्पन्न भएको दाबी उहाँको छ । मदाने गाउँपालिका–६, पुर्कोटदहमा हिमदुम–एसी निर्माण कम्पनीले १२ करोड ४८ लाख रुपियाँ लागतमा अस्पताल निर्माणको सम्झौता गरेको छ । सो सम्झौताअनुसार पहिलो तलाको ढलान सकिएको गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काले बताउनुभयो । 

धुर्कोट गाउँपालिकाको धुर्कोट रजस्थलमा अस्पताल निर्माणका लागि खनिएको बेसमा पहिरो गएका कारण निर्माण कार्य अगाडि बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो । त्यस्तै रुरु क्षेत्र गाउँपालिका–१ को रातामाटामा निर्माण भइरहेको अस्पतालको भवन निर्माण स्थलमा माटो राख्ने ठाउँका अभावका कारण समस्या भएको छ । सो अस्पताल १४ करोड ४२ लाख ८२ हजार रुपियाँको लागतमा निर्माण हुँदैछ ।