कर्णाली प्रदेश ब्युरो
सुर्खेत, फागुन १९ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन गराउन मतदान सामग्री बोकेर कर्मचारी र प्रहरी आआफ्नो कार्यक्षेत्र लागेका छन् । बिहीबार हुने निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान सहायक, सुरक्षामा खटिने प्रहरी टोली मतदान सामग्री बोकेर टोली सोमबार बिहानदेखि कार्यक्षेत्रमा खटिएको हो । मतदानको दिन प्रयोग हुने सामग्री ५१ प्रकारका छन् ।
सामग्रीसहित गन्तव्यतर्फ
सुर्खेत समाचारदाताका अनुसार सोमबार कर्णाली प्रदेश प्रदेश निर्वाचन कार्यालय सुर्खेतबाट ५१ प्रकारका सामग्री बोकेर कर्मचारी कार्यक्षेत्र लाग्न सुरु गरेका छन् । मतपत्र, मतपेटिका, स्वस्तिक छाप, स्ट्याम्प प्याड, रङ, डोरी, स्ट्याप्लर, लाहा, सिल गर्ने डोरीलगायतका सामग्रीसहित कार्यक्षेत्रमा कर्मचारी गएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले आइतबार मतदान अधिकृतको टोलीले सबै सामान रुजु गरेको र सोमबार बिहानदेखि ती सामग्री बुझेर कार्यक्षेत्र खटिन सुरु भएको जानकारी दिनुभयो । सोमबार साँझसम्म सबै कर्मचारीले सामान बुझेर कार्यक्षेत्र पुगिसक्ने उहाँले बताउनुभयो ।
यसै गरी कर्णालीका दुर्गम हिमाली क्षेत्रमा भने हेलिकोप्टरबाट मतदान सामग्री र कर्मचारी सोमबार साँझसम्म पुगिसक्ने छन् । प्रदेश निर्वाचन अधिकारी गुरुङका अनुसार हुम्लाका आठ मतदान केन्द्र, डोल्पाका २० मतदान केन्द्र र मुगुका तीन मतदान केन्द्रमा मतदान सामग्री र कर्मचारीलाई हेलिकोप्टरबाट पठाइने छ । उहाँले सोमबार बिहानसम्मको निर्वाचनको तयारी करिब करिब अन्तिम चरणमा पुगिसकेको बताउनुभयो । कर्मचारी मतदान केन्द्रमा पुगेपछि मतदानको तयारीका लागि आवश्यक पर्ने काम, सर्वदलीय बैठक लगायतका काम गर्ने छन् ।
कर्णालीमा ९४१ मतदान स्थल र एक हजार ४३७ मतदान केन्द्र रहेका छन् । ९४१ मतदान स्थलमध्ये ७७९ वटा मतदान स्थल संवेदनशील मानिएको छ । यसमा संवेदनशील ४२० वटा र अति संवेदनशील ३५९ वटा रहेका छन् । सामान्य १६२ वटा मात्र छन् । अस्थायी मतदान स्थल १८ वटा छन् । त्यस्तै एक हजार ४३७ मतदान केन्द्रमध्ये एक हजार एक सय मतदान केन्द्र संवेदनशील छन् । जसमा संवेदनशील ६५९ र अति संवदेनशील ४४१ रहेका छन् । सामान्य मतदान केन्द्र ३०१ रहेका छन् । अस्थायी मतदान केन्द्र १८ रहेका छन् । प्रदेशभर मतदाता १० लाख ३७ हजार २५० छन् । कर्णालीमा १२ निर्वाचन क्षेत्रका लागि १३७ जनाको उम्मेदवारी रहेको छ ।
कर्मचारी हेलिकोप्टरबाट, मतदाता पैदल पुगे लिमी
हुम्ला समाचारदाताका अनुसार हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमीमा कर्मचारी मतपत्रसहित निर्वाचन सामग्री लिएर हेलिकोप्टरमा र मतदाता पैदल पुगेका छन् । निर्वाचन आयोगले कर्मचारी ओसार्ने व्यवस्था हेलिकोप्टरबाट गरेकाले कर्मचारी तथा मतपत्र पु¥याइएको र न्यालु तथा नाराको हिउँ पन्छाएपछि मतदाता पैदलबाटै लिमी पुगेका हुन् । लिमीमा खटिएका सबै कर्मचारी, सुरक्षाकर्मी, मतपत्र र अन्य सामग्री हेलिकोप्टरबाट ढुवानी भएको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताउनुभयो । जिल्ला सुरक्षा समिति र जिल्लाको भौगोलिक व्यवस्थापन समितिको बैठकले लिमीका तीन वटा र चालाको मतदान केन्द्रमा खटिएका कर्मचारीलाई हेलिकोप्टरबाट ओसार्ने व्यवस्था गर्न गरेको अनुरोधलाई सदर गर्दै हेलिकोप्टरको व्यवस्था भएको हो । लिमीका तीन मतदान केन्द्र हिमशिखर प्रावि तिल, सुनखानी प्रावि, हल्नी भृकुटी प्रावि जाङ रहेका छन् । तीन सयभन्दा कम मतदाता रहेका कारण तीन वटै मतदान केन्द्रमा गरी मतदान अधिकृतसहित १५ कर्मचारी, ५१ नेपाल प्रहरी र निर्वाचन प्रहरी खटिएका छन् । लिमीका तीन वटा मतदान केन्द्रका लागि कर्मचारी, सुरक्षाकर्मी र मतपत्रसहित मतदान सामग्री ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टरले तीन वटा उडान भरेको उहाँले बताउनुभयो । नाम्खा गाउँपालिका–४ को हिमालय आवि चालामा खटिएका कर्मचारीलाई पनि नेपाली सेनाको सानो हेलिकोप्टरले पाँच उडानबाट ओसारेको छ । उक्त मतदान केन्द्रमा पाँच कर्मचारी, तीन प्रहरी र १० निर्वाचन प्रहरी खटिएका छन् ।
कर्मचारीलाई सरकारले हेलिकोप्टरको व्यवस्था गरे पनि मतदाता भने पैदलमार्गबाट लिमी पुगेका छन् । हिल्सा–सिमकोट सडक योजनाले चार हजार ४७० मिटर उचाइको नारा लेकमा जमेको हिउँ पन्छाएपछि मतदाता लिमी पुग्न सफल भएको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । हालसम्म काठमाडौँबाट सिमकोट आएका ७० मतदाता नारा लेक भएर हिल्सा हुँदै लिमी पुगेको जानकारी उहाँले दिनुभयो । अब फागुन २० गतेसम्म मतदाता पैदलमार्गबाट लिमी पुग्ने छन् । यता नाम्खा गाउँपालिकाकै न्यालु लेकमा हिउँ पन्छाउने काम भने रोकिएको छ । सो खण्डको सडकको हिउँ पन्छाउने कार्य पूर्वाधार विकास कार्यालय गरेको थियो ।
ताक्लाकोटबाट फर्किए मतदाता
व्यापार र कामका लागि चीनको ताक्लाकोटमा रहेका नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीगाउँका मतदाता मतदान गर्न फर्किएका छन् । एक वर्षदेखि चीनको ताक्लाकोटमा व्यापार तथा अन्य काम गर्दै आएका लिमीका स्थानीय मतदाता मतदान गर्न लिमी फिर्ता भएको लिमीको जाङगाउँका कुन्जोक तामाङले बताउनुभयो । लिमीका तीन वटा गाउँका स्थानीय बसेको संयुक्त बैठकले काठमाडौँ र चीनको ताक्लाकोटमा रहेका लिमीवासीलाई गाउँ फर्केर मतदानमा भाग लिने निर्णय गरेको थियो । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले ताक्लाकोटमा रहेका लिमीको हल्जीगाउँका मात्र एक सय मतदाता गाउँ फिर्ता भएको जानकारी दिनुभयो । ती मतदाता ताक्लाकोटबाट हिल्सासम्म गाडीमा र हिल्साबाट लिमीसम्म एक दिन पैदल हिँडेर आएका हुन् । हिल्सा र तिलगाउँबिचको यालुनाग्लामा जमेको एक फिट हिउँ छिचोलेर हल्जीगाउँ पुगेका छन् । ताक्लाकोटमा पाएको काम छोडेर ती मतदाता फर्किएको र मतदान गरेपछि पुनः उतै जाने उहाँको भनाइ छ ।
संयुक्त सुरक्षा गस्ती
सल्यान समाचारदाताका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तिपत्र र निर्वाचन सामग्री बुझेर कर्मचारी जिल्लाका टाढा दुर्गम मतदान केन्द्रतर्फ पनि कर्मचारी प्रस्थान गरिसकेका छन् । दार्मा, कालीमाटी, कपुरकोट, कुमाख गाउँपालिका र वनगाड कुपिन्डे नगरपालिकाका कर्मचारी सोमबार मतदान स्थलतर्फ गएका छन् । मुख्य निर्वाचन अधिकृत प्रह्लादकुमार योगीका अनुसार मतपत्रसहित निर्वाचन सामग्री बुझेर मतदानमा खटिने ४३० मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित एक हजार २२८ कर्मचारी परिचालित छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेना र नेपाल प्रहरीको संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले समन्वयात्मक रूपमा जिल्लाभर निगरानी थालेका छन् । प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाका अनुसार नेपाल प्रहरी ६६८, निर्वाचन प्रहरी एक हजार ४०६, सशस्त्र प्रहरी तीन सय र नेपाली सेना १३ स्थानमा परिचालित छन् ।
मतदान केन्द्रमा पुगे कर्मचारी
रुकुमपश्चिमको मुसीकोट समाचारदाताका अनुसार फागुन २१ गतेको निर्वाचनका लागि तोकिएका मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र र जिल्ला निर्वाचन कार्यालयबाट अन्य निर्वाचन सामाग्री बुझेर उनीहरू मतदान केन्द्रतर्फ गएका हुन् ।
सोमबार बेलुकासम्म सबै मतदान केन्द्रमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्री पुग्ने गरी पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आवश्यक मतपत्र, मतपेटिका, स्वस्तिक छापलगायतका सबै सामग्री बुझेर कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रतर्फ गएका छन् । मुख्य निर्वाचन अधिकृत दीपेन्द्र थापामगरका अनुसार निर्वाचन सामग्रीसहित मतपत्र पनि पठाइएको छ । जिल्ला निर्वाचन कार्यालयबाट मतपेटिकालगायतका सबै सामग्री वितरण भएको हो भने मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट वितरण भएको हो ।
आइतबारबाट नै मतपत्र र निर्वाचन सामग्री वितरणको काम सुरु भएको उहाँले बताउनुभयो । सदरमुकामदेखि टाढाको दुरीमा रहेको आठबिसकोट नगरपालिका–१, २ र ३ का मतदान केन्द्रका लागि निर्वाचन सामग्री र मतपत्र पहिलो दिन नै वितरण गरिएको थियो । सोमबार बाँकी रहेका ठाउँका लागि निर्वाचन सामग्री र मतपत्र पठाइएको हो । जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले दुई दिनमा सबै सामग्री वितरण गरिएको जानकारी दिनुभयो । सोमबार दिउँसोसम्म सबै मतदान केन्द्रका लागि निर्वाचन सामग्री वितरण गरेर साँझसम्म सबै सामग्री मतदान केन्द्रमा पुगिसकेको छ ।
निर्वाचन सामग्री वितरणका लागि पालिका अनुसार समय तोकिएको थियो । एकै पटक सबैलाई वितरण गर्दा भिडभाड हुने हुँदा समय तोकेर निर्वाचन सामग्री वितरण गरिएको हो । जिल्लामा ७६ मतदान स्थल रहेकामा १४० स्थायी र दुई अस्थायी गरी १४२ मतदान केन्द्र रहेका छन् । यहाँ कुल मतदाता सङ्ख्या एक लाख छ हजार ६६० जना रहेको छ । जसमा पुरुष मतदाता ५४ हजार २६३ रहेका छन् भने महिला मतदाता ५२ हजार ३९६ तथा एक जना अन्य मतदाता रहेका छन् । एउटा मात्र निर्वाचन क्षेत्र रहेको रुकुमपश्चिममा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
(ललित बसेल/सुर्खेत, राजन रावत/हुम्ला, प्रतीक इच्छुक शर्मा/सल्यान र राजु लामिछाने/मुसीकोट)