राधा लुइटेल
फिदिम, फागुन १८ गते । मौन अवधि सुरु हुन केही घण्टा मात्र बाँकी रहँदा सोमबार पाँचथर सदरमुकाम फिदिममा राजनीतिक दलहरू प्रचारप्रसारमा व्यस्त देखिएका छन् । घरदैलोका क्रममा प्रतिस्पर्धी दलका उम्मेदवार र कार्यकर्ताबिच पटक–पटक भेट भए पनि उनीहरूमा कुनै असहजता देखिएन । बरु नेता तथा कार्यकर्ताले एकापसमा हात मिलाए भने उम्मेदवारले अङ्कमाल गरेर सद्भाव साटेका छन्।
नेपाली काङ्ग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ र नेकपा (एमाले) का उम्मेदवार अइन्द्रसुन्दर नेम्वाङबीच चुनावी र्यालीका क्रममा जम्काभेट हुँदा रोचक दृश्य देखिएको थियो । दुवै उम्मेदवारले बजिरहेको गीतको तालमा खुसी साटासाट गरे भने एमाले समानुपातिक उम्मेदवार भूमिका सुब्बासहित केरुङ र नेम्वाङले सामूहिक तस्बिर खिचाएर शुभकामना आदानप्रदान गर्नुभयो ।
काङ्ग्रेस र एमालेका उम्मेदवार मात्र होइन, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारबीच पनि फिदिमको बीपी चोकमा भेट भएको थियो । सो क्रममा उनीहरूले हात हल्लाएर एकअर्कालाई अभिवादन गरे । यस्तै, काङ्ग्रेस उम्मेदवार केरुङ र पहिचानवादी उम्मेदवार मित्र लिङ्देनबिच पनि भेट भयो । लिङ्देनले केरुङलाई अग्रिम जितको शुभकामना दिँदै अङ्कमाल गर्नुभयो ।
पाँचथरमा प्रतिनिधिसभा सदस्यका लागि १५ दलका १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लाको भौगोलिक विकटताका कारण गाउँगाउँ पुगेर मत मागेका उम्मेदवारहरू अन्तिम दिन सदरमुकाम केन्द्रित भएका हुन् । यसपटक उज्यालो नेपाल पार्टीबाहेक अन्य प्रमुख दलहरूले सदरमुकाममा ठुला चुनावी सभा आयोजना नगरी घरदैलोलाई नै प्राथमिकता दिएका छन् ।
राजनीतिक दलले शान्तिपूर्ण रूपमा प्रचारप्रसार समापन गर्न लागेकाले निर्वाचन शान्तिपूर्ण रहने विश्वास बढेको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताउनुभयो । जिल्लाका १०२ मतदानस्थल र १७९ वटै मतदान केन्द्रमा खटिएका कर्मचारीहरूले मतदान सामग्री बुझिसकेका छन् । ४० भन्दा बढी केन्द्रमा कर्मचारीहरू सामग्रीसहित पुगिसकेको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिनुभयो ।

प्रचारप्रसारका क्रममा भेट हुँदा आत्मियता साटासाट गर्दै काङ्ग्रेस र एमालेका उम्मेदवार । तस्बिर : राधा लुइटेल