ब्रसेल्स, फागुन १७ गते । अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको व्यापक सैन्य आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको रिपोर्ट गरिएको मृत्युले मध्यपूर्वलाई अनिश्चित मोडमा पुर्याएको छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछि सत्तामा रहेको इस्लामिक गणतन्त्रका दोस्रो सर्वोच्च नेताको निधन भएको समाचार बाहिरिएसँगै क्षेत्रीय शक्ति सन्तुलन, आणविक कार्यक्रमको भविष्य र सम्भावित व्यापक युद्धबारे विश्वभर गम्भीर चासो व्यक्त गरिएको छ । विश्व नेताहरूले सावधानीपूर्वक प्रतिक्रिया जनाउँदै संयमता र कूटनीतिक पहलको आह्वान गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत खामेनीको मृत्यु पुष्टि गर्दै यसलाई ‘इरानी जनताका लागि आफ्नो देश फिर्ता लिने सबैभन्दा ठूलो अवसर’ बताउनुभएको छ । इरानी सरकारी सञ्चारमाध्यमले ८६ वर्षीय नेताको निधन भएको जनाएको छ, तर कारण खुलाएको छैन । इजरायली अधिकारीहरूले नाम नछाप्ने सर्तमा उहाँको मृत्यु भएको जानकारी दिएका थिए भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टेलिभिजन सम्बोधनमा खामेनीको कम्पाउन्डमा गरिएको आक्रमणपछि उहाँको मृत्यु भएको ‘बढ्दो सङ्केत’ देखिएको उल्लेख गर्नुभएको छ ।
खामेनीको स्पष्ट उत्तराधिकारी सार्वजनिक रूपमा तोकिएको थिएन । त्यसैले उहाँको सम्भावित निधनले इरानको राजनीतिक संरचना र नेतृत्व सङ्क्रमणलाई लिएर अन्योल थपिएको छ । विश्लेषकहरूले यसले आन्तरिक शक्ति सङ्घर्ष चर्किन सक्ने र बाह्य द्वन्द्व तीव्र हुन सक्ने सङ्केत गरेका छन् । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले यसै विषयमा आपतकालीन बैठक बोलाएको छ ।
अमेरिका र इजरायलले शनिबार इरानविरुद्ध ठुलो आक्रमण सुरु गरेका थिए । राष्ट्रपति ट्रम्पले इरानी जनतालाई वर्तमान धार्मिक शासनविरुद्ध उभिन र ‘आफ्नो भाग्यको नियन्त्रण लिन’ आह्वान गर्नुभएको छ । त्यसको प्रत्युत्तरमा इरानले इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको जनाएको छ । क्षेत्रीय तनाव तीव्र बन्दै जाँदा प्रतिशोध र प्रतिआक्रमणको चक्र लम्बिने चिन्ता बढेको छ ।
युरोपेली शक्तिहरूले प्रत्यक्ष समर्थन वा निन्दा नगरी वार्ताको बाटो रोज्न आग्रह गरेका छन् । बेलायतका प्रधानमन्त्री किर स्टर्मर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मनीका चान्सलर फ्रेडरिक मर्जले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका र इरानलाई तत्काल वार्तामा फर्किन आग्रह गर्नुभएको छ । उहाँहरूले आफ्नो देश आक्रमणमा संलग्न नभएको स्पष्ट पार्दै इरानको आणविक कार्यक्रम, ब्यालिस्टिक गतिविधि र क्षेत्रीय अस्थिरताका प्रश्न कूटनीतिक माध्यमबाट मात्र समाधान हुनसक्ने बताउनुभएको छ ।
अरब लिगले इरानी आक्रमणलाई शान्ति र स्थिरताका लागि प्रयासरत देशहरूको सार्वभौमसत्तामाथिको स्पष्ट उल्लङ्घन भनेको छ । मोरक्को, जोर्डन, सिरिया र संयुक्त अरब इमिरेट्सलगायतका राष्ट्रहरूले क्षेत्रका अमेरिकी सैन्य अड्डामा लक्षित इरानी हमलाको निन्दा गरेका छन् । साउदी अरेबियाले इरानी कदमलाई कडा शब्दमा आलोचना गर्दै क्षेत्रीय स्थिरता जोगाउन संयमता आवश्यक रहेको जनाएको छ । वार्ताको मध्यस्थता गर्दै आएको ओमानले भने अमेरिकी कारबाहीले अन्तर्राष्ट्रिय कानूनको सिद्धान्त उल्लङ्घन गरेको टिप्पणी गरेको छ ।
अस्ट्रेलिया र क्यानडाले अमेरिकी आहड्तालको समर्थन जनाएका छन् । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले इरानलाई मध्यपूर्वमा अस्थिरता र आतङ्कको प्रमुख स्रोत बताउनुभएको छ । यसको विपरीत रुसले आक्रमणलाई पूर्वयोजनाबद्ध सशस्त्र कारबाही भनेको छ र चीनले तत्काल सैन्य कारबाही रोक्न तथा संवादमा फर्किन आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयले इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान हुनुपर्ने धारणा सार्वजनिक गरेको छ ।
क्षेत्रीय स्तरमा जनजीवनमा मिश्रित प्रभाव देखिएको छ । कब्जा गरिएको पश्चिम किनारमा इजरायलको आइरन डोमले मिसाइल अवरोध गरिरहँदा आकाशमा विस्फोटको आवाज सुनिए पनि दैनिक गतिविधि पूर्ण रूपमा ठप्प भएको छैन । तर इजरायलले चेकपोइन्टहरू बन्द गरेपछि आपूर्ति अवरोधको आशङ्काले पेट्रोल पम्पहरूमा लामो लाइन देखिएको छ । प्यालेस्टिनी प्राधिकरणले अरब राष्ट्रहरूविरुद्ध इरानी आक्रमणको निन्दा गरेको छ, तर अमेरिकी वा इजरायली कारबाहीबारे टिप्पणी गरेको छैन ।
नर्वेका विदेशमन्त्री एस्पेन बार्थ इडेले अवस्था ‘नयाँ, व्यापक युद्ध’ तर्फ जान सक्ने चिन्ता व्यक्त गर्नुभएको छ । नोबेल शान्ति पुरस्कार विजेता इन्टरनेसनल क्याम्पेन टु एबोलिस न्युक्लियर वेपन्सले पनि आक्रमणको निन्दा गर्दै यसले आणविक प्रसार र सम्भावित प्रयोगको जोखिम बढाउने चेतावनी दिएको छ । युरोपेली सङ्घ (इयु) र अरब लिगले सबै पक्षलाई संयम अपनाउन र तनाव वा द्वन्द्व न्यूनीकरण गर्ने प्रक्रियातर्फ अग्रसर हुन आग्रह गरेका छन् ।
खामेनीको रिपोर्ट गरिएको मृत्यु, नेतृत्व सङ्क्रमणको अनिश्चितता र तीव्र सैन्य कारबाहीबीच मध्यपूर्व गम्भीर मोडमा उभिएको छ । कूटनीतिक प्रयास सफल नभए क्षेत्रीय द्वन्द्व अझ फराकिलो दायरामा फैलिन सक्ने जोखिमप्रति विश्व समुदाय सचेत देखिएको छ । रासस/एपी