• १७ फागुन २०८२, आइतबार

निर्वाचनको तयारी पूरा

blog

प्रदेश निर्वाचन कार्यालयद्वारा गरिएको पत्रकार सम्मेलन । तस्बिर : रमेश पौडेल

पोखरा समाचारदाता 

पोखरा, फागुन १७ गते । गण्डकी प्रदेश निर्वाचन कार्यालय पोखराले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । शनिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी गण्डकी प्रदेशका ११ जिल्लामा निर्वाचन आयोगको समन्वय र सहजीकरणमा निर्वाचन सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । 

प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख नारायण ढकालले गण्डकी प्रदेशमा कुल मतदाता सङ्ख्या १८ लाख ७० हजार ६५ रहेको जानकारी दिनुभयो । उहाँले महिला नौ लाख ५५ हजार ५१६ जना, पुरुष नौ लाख १४ हजार ५३५ र अन्य १४ जना मतदाता रहेको जानकारी दिनुभयो । प्रदेशभर एक हजार २९७ मतदान स्थल तथा दुई हजार ३९६ मतदान केन्द्र निर्धारण गरिएका छन् । 

तीन हजार मिटरभन्दामाथि रहेका केन्द्रमध्ये म्याग्दीमा एक, गोरखामा १५, मनाङमा १४, मुस्ताङमा २४ गरी जम्मा ५४ केन्द्र रहेको जानकारी दिनुभयो । प्रमुख ढकालले मतपत्रसहितका सबै निर्वाचन सामग्री मतदान केन्द्र अनुसार छुट्याई वितरण गर्न तयारी अवस्थामा रहेको बताउनुभयो । उहाँले प्रदेशका सबै जिल्लाका वडास्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।

कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले दुर्गम तथा उच्च पहाडी भेगका मतदान केन्द्रमा आवश्यक स्वास्थ्य सामग्री, अक्सिजन सिलिन्डर तथा उच्च स्थानको जोखिम न्यूनीकरणका सामग्रीको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई आवश्यक तालिम प्रदान गरिसकिएको जानकारी दिँदै आचारसंहिता उल्लङ्घनका घटनामा निगरानी बढाइएको बताउनुभयो ।

त्यसै गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको कास्की प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो । कास्कीमा अस्थायी मतदान केन्द्रसहित गरेर दुई हजार १८४ कर्मचारी र एक हजार ९२ स्वयम्सेवक खटिने उहाँले बताउनुभयो । प्रजिअ शर्माले निर्वाचन बिथोल्न खोज्ने पाँच जनालाई कारबाही गरी तीन जनालाई थुनामा पठाइएको समेत जानकारी दिनुभयो । 

उहाँले निर्वाचन व्यवस्थापन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला निर्वाचन सुरक्षा समिति तथा अन्य सरोकारवाला निकायबिच समन्वय सुदृढ गरिएको उल्लेख गर्नुभयो ।

सम्पूर्ण मतदाता, राजनीतिक दल, सुरक्षाकर्मी तथा सञ्चारकर्मीको सहयोगबाट निर्वाचन सफल हुने विश्वास प्रदेश निर्वाचन कार्यालयको छ । कार्यालयका अनुसार कास्कीमा तीन लाख आठ हजार ५७२ मतदाता रहेका छन् । 

कास्कीमा १५३ मतदान स्थल, ३६५ मतदान केन्द्र र दुई अस्थायी केन्द्र रहेका छन् भने छ जना स्वतन्त्र, पाँच जना महिलासहित ४९ जनाको उम्मेदवारी रहको छ ।