घोडाघोडी समाचारदाता
घोडाघोडी (कैलाली), फागुन १७ गते । कैलालीका विभिन्न क्षेत्रमा बसोबास गरेका बादी समुदायले आफ्नो समुदायको मुख्य समस्या बेरोजगार रहेको उल्लेख गर्दै रोजगारी सिर्जना गर्ने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । कैलालीको लम्कीचुहा, टीकापुर, गोदावरीलगायतका पालिकामा बादी समुदायको बसोबास रहेको छ । लम्कीचुहा नगरपालिका–३, बल्चौरकी रमा बादीले सो बस्तीमा २३ जिल्लाका बादी समुदायको बसोबास रहेको बताउनुभयो । उहाँले बादी समुदायको बसोबासको ठेगान नभएको अवस्थामा तत्कालीन बादी समुदायको आन्दोलन र सङ्घर्षपछि सरकारसँग सम्झौता भएपछि धेरैको बसोबास टुङ्गो लागे पनि साँझबिहान छाक टार्ने समस्या समुदायमा रहेको बताउनुभयो ।
उहाँले बस्तीमा धेरै बादी समुदायको घर सरकारले बनाए पनि अझै केही परिवारको घर नहुँदा भारतमा रोजगार गर्न बाध्य भएको जनाउनुभयो । रमाले भन्नुभयो, “पहिलाभन्दा त धेरै सजिलो भएको छ । लालपुर्जासहितको घरबास पाएका छौँ । भारतमा काम गर्न गएकाको अझै घरबासको टुङ्गो छैन । मत माग्न आउने सबै उम्मेदवारलाई बादी समुदायका परिवारलाई नेपालमै काम गर्ने वातावरण बन्नु प¥यो । क्षमता अनुसारको रोजगारी पाउनु प¥यो भनेका छौँ ।”
बर्दगोरिया गाउँपालिका–१, मुडामा रहेको बादी बस्तीमा पुग्दा धेरैका घरमा नास्ता पसल राखेको देखिन्छ । अधिकांश पसल सुनसान छन् । ६५ वर्षीय बुन्द्री बादीले काम नपाएर बस्तीका युवकयुवती सबै कुलतमा लाग्न थालेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “घरमा चियानास्ता पसल खोलेका छौँ । कोही आउँदैनन्, व्यापार छैन । मेरा छोराबुहारी भारतमा काम गर्छन् । उनीहरूले पठाएको रकमले खर्च चलाउने गरेको छु ।” उहाँले बस्तीमा काम नपाएर धेरै युवा लागुऔषध, गाँजा खाएर बरालिँदै हिँडेको बताउनुभयो । सोही बस्तीकी अनिता बादीले बादी समुदायका युवतीलाई प्राथमिकतामा राखेर रोजगारीका कार्यक्रम आउनुपर्ने बताउनुहुन्छ ।
पहिला पहिला बादी समुदायले गर्ने पुख्यौली पेसा अहिलेको पुस्ताले छोडिसकेको र खेतीपाती गर्न जग्गाजमिन नभएपछि उनीहरूलाई सिपमा आधारित रोजगारीको व्यवस्था सरकारले गर्नुपर्ने अनिताको भनाइ छ । उहाँले बस्तीमा भोट माग्न खासै उम्मेदवार नआएको बताउँदै मत माग्न आउने सबैलाई रोजगारी दिनेलाई भोट दिने माग राख्ने बताउनुभयो । बादी समुदायको अध्ययन गर्न २०६४ सालमा गठन गरिएको कार्यदलको अध्ययन प्रतिवेदनमा पनि जमिनदारी प्रथा उन्मूलनपछि यो समुदाय सहाराविहीन हुन पुगेको, त्यसपछि जीवन निर्वाहका लागि नाचगान गर्ने, मागेर खाने र घुमन्ते जीवन बिताउन विवश हुनु परेको र ‘समुदायमा केही प्रतिशत चेलीबेटी जीवन निर्वाहको अन्य विकल्प नहुँदा मीठो खान, राम्रो लाउन र अन्य सुख सुविधाका लागि तथा स्वयम् पुरुषहरूको बाध्यताले’ देहव्यापार पेसा अँगाल्न बाध्य भएको उल्लेख छ ।
सुदूरपश्चिम प्रदेश सभाका पूर्वसांसद उमादेवी बादीका अनुसार बादी समुदाय भारतको उत्तर प्रदेशको कुमाउ गढवालबाट नेपाल भित्रिएका हुन् । सुरुमा नेपालको सल्यान जिल्लामा बसोबास गरेका घुमन्ते जीवन बिताउने बादी समुदायका मानिस सल्यान जिल्लाबाट सुर्खेत, बर्दिया, कैलाली, बैतडी, डडेलधुरालगायतका पहाडी जिल्लामा फैलिँदै गए ।
राष्ट्रिय जनगणना २०७८ को राष्ट्रिय प्रतिवेदन २०७९ अनुसार बादीको जनसङ्ख्या ११ हजार ४७० रहेको छ । यसमा महिला र पुरुषको सङ्ख्या छुट्याइएको छैन । राष्ट्रिय जनगणना २०६८ अनुसार बादीको कुल सङ्ख्या ३८ हजार ६०३ थियो । त्यसमा बादी महिला २० हजार ३०५ र पुरुष १८ हजार २९८ रहेका जनाइएको पाइन्छ ।