• १७ फागुन २०८२, आइतबार

निर्वाचनको सम्पूर्ण तयारी पूरा

blog

आआफ्ना निर्वाचन क्षेत्रमा जाँदै निर्वाचन प्रहरी । तस्बिर : ललित बसेल

सुर्खेत समाचारदाता

सुर्खेत, फागुन १७ गते । प्रदेश राजधानी सुर्खेतमा यही फागुन २१ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण, सुरक्षाकर्मी परिचालन, मतदान केन्द्रको अनुगमनलगायतका सम्पूर्ण काम सकिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतको निर्वाचन सेलले जनाएको छ । 

निर्वाचनमा एक हजार आठ सय निजामती कर्मचारीलाई खटाइएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत, निर्वाचन सहयोगीलगायतमा ती कर्मचारी पर्छन् । यस्तै नेपाल प्रहरी र निर्वाचन प्रहरीसहित एक हजार ६२८ जना, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीसहित साढे सात सय बढी र नेपाली सेनाको कालीबहादुर गण नै निर्वाचनको सुरक्षाका लागि परिचालित भइसकेको प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन सेलका संयोजक जगदीश्वर उपाध्यायले बताउनुभयो । उहाँका अनुसार जिल्लाका सबै मतदान स्थल र केन्द्रको पनि अनुगमन भइसकेको छ । अनुगमन गर्दा त्यस्तो सुरक्षा जोखिम नदेखिएको पाइएको उहाँको भनाइ छ ।

अति संवेदनशील मतदान केन्द्र

सुर्खेतमा १४० मतदान स्थल र ३०२ मतदान केन्द्र रहेको छ । जसमा २० वटा मतदान केन्द्रलाई अति संवेदनशील, ८७ वटा संवेदनशील र अरू सामान्यमा वर्गीकरण गरिएको छ । प्रजिअ उपाध्यायका अनुसार आगामी सोमबारदेखि निर्वाचनमा खटिने सम्पूर्ण टोली, मतदानमा आवश्यक पर्ने सामान बुझेर कार्यक्षेत्रमा खटिने छन् । 

बिस उम्मेदवारले खोले खाता

निर्वाचनमा उम्मेदवार बनेकाले निर्वाचन खर्चलाई पारदर्शी बनाउन निर्वाचन आयोगले बैङ्क खाता खोल्नुपर्ने निर्देशन गरे अनुसार सुर्खेतमा २० जनाले खाता खोलेका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतको निर्वाचन सेलका अनुसार उम्मेदवार बनेका २६ जनाले खाता खोल्न निर्वाचन कार्यालयबाट सिफारिस लिए पनि फागुन १४ गतेसम्म २० जनाले खाता खोलेका छन् । 

मदिरा बिक्रीमा रोक

यसै गरी निर्वाचनलक्षित जिल्ला प्रशासन कार्यालय सुर्खेतले फागुन १५ गतेदेखि लागु हुने गरी मदिरा बिक्रीवितरणमा रोक लगाएको छ । फागुन २१ गते हुने मतदानलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि निर्वाचनको अन्तिम परिणाम घोषणा नहुने बेलासम्मका लागि मदिरा बिक्रीवितरणमा रोक लगाउनुका साथै सेवन नगर्न, नगराउन अनुरोध गरेको छ । कालीकोट समाचारदाताका अनुसार कालीकोटमा पनि सात दिनसम्म मदिरा बिक्रीवितरण गर्न पूर्ण रूपमा रोक लगाइएको छ । आगामी फागुन २१ गते अर्थात् बिहीबार सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, तथा भयरहित वातावरणमा सम्पन्न गराउन तोकिएको अवधिमा मदिरा बिक्रीवितरण गर्न जिल्ला प्रशासन कार्यालय कालीकोटले रोक लगाएको हो । 

कालीकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलद्वारा हस्ताक्षरित सूचनामा फागुन १६ गते शनिबारदेखि २२ गते शुक्रबारसम्म मदिरा बिक्रीवितरण गर्न निषेध गरिएको उल्लेख छ । 

जिल्लाका कुनै पनि स्थान, बजार र निजी घर, सार्वजनिक स्थलमा समेत बिक्री गर्न, सेवन गर्न पूर्ण रूपमा निषेध गरिएकाले सूचनाको पूर्ण पालना गर्न आग्रह गरिएको छ ।