• १७ फागुन २०८२, आइतबार

बैतडीमा सुरक्षा सतर्कता कडा

blog

केशव राज भट्ट
वाशुलिङ (बैतडी), फागुन १७ गते । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै बैतडीमा सुरक्षा सतर्कता कडा पारिएको छ । निर्वाचन सुरक्षालाई सुदृढ बनाउन नेपाली सेनाले मोटरसाइकल गस्ती सञ्चालन गरेको हो ।

चुनावी सुरक्षा योजनाअनुसार बजार क्षेत्रमा गस्ती तीव्र पारिएको बैतडीस्थित श्री बक्स गुल्मका गुल्मपति सेनानी पुष्प लामाले जानकारी दिनुभयो ।

दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र सूर्नया गाउँपालिकाका प्रमुख बजार क्षेत्रमा मोटरसाइकल गस्ती सञ्चालन भइरहेको उहाँले बताउनुभयो । आवश्यकता अनुसार जिल्लाका अन्य स्थानमा समेत गस्ती विस्तार गरिने उहाँको भनाइ छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्लाका सबै १० स्थानीय तहमा नेपाली सेनाले बेस क्याम्प स्थापना गरेको सेनानी लामाले जानकारी दिनुभयो । बेस क्याम्पमा रहेका सुरक्षाकर्मीले आवश्यकता अनुसार गस्ती गर्नुका साथै अन्य सुरक्षा निकायसँग समन्वय गरी संयुक्त गस्तीसमेत गरिरहेका छन् ।

जिल्लाभर निर्वाचनका लागि दुई हजार सात सय सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो । परिस्थितिअनुसार थप सुरक्षाकर्मी परिचालन गर्न सकिने उहाँले बताउनुभयो ।

निर्वाचन अवधिमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न जिल्ला सुरक्षा समितिले योजनाबद्ध रूपमा कार्य गरिरहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो ।

यस्तै गत बुधबार डिलाशैनीमा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एमाले) का कार्यकर्ताबीच भएको झडपपछि जिल्लामा सुरक्षा सतर्कता अझ बढाइएको जनाइएको छ । त्यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकाय सतर्क रहेको बताइएको छ ।