सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, फागुन १७ गते । सिन्धुली जिल्लामा फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी नियुक्तिपत्र वितरण सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लामा कुल २७२ मतदान केन्द्रमा गरी एक हजार ६३२ कर्मचारी खटिने छन् । एक मतदान केन्द्रमा मतदान अधिकृत एक, सहायक मतदान अधिकृत एक, सहायक कर्मचारी तीन र सहयोगी कर्मचारी एक गरी छ जना खटाइएको छ । निर्वाचनमा खटाइएका कर्मचारीले मतपेटिका, मतपत्र र निर्वाचन सामग्रीसहित फागुन १८ गते बेलुकासम्म सम्बन्धित मतदान केन्द्रमा पुगिसक्नुपर्ने मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा खटाएका कर्मचारीलाई फागुन १६ गतेसम्म नियुक्तिपत्र दिन्छौँ । त्यसपछि १७ गतेदेखि उनीहरू मतपेटिका, मतपत्र र निर्वाचन सामग्री बुझेर फागुन १८ गते बेलुकासम्म तोकिएको मतदान केन्द्रमा पुग्नुपर्ने हुन्छ ।” सिन्धुली जिल्लामा प्रतिनिधि सभा सदस्यको दुई वटा निर्वाचन क्षेत्र रहेको छ । दुई वटै निर्वाचन क्षेत्रमा गरी कुल १५१ मतदान स्थल र २७२ वटा मतदान केन्द्र रहेको छ ।
निर्वाचन क्षेत्र नं. १ मा ७७ वटा मतदान स्थल र १३८ वटा मतदान केन्द्र रहेका छन् । त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा भने ७४ वटा मतदान स्थल र १३४ वटा मतदान केन्द्र रहेका छन् । यीबाहेक जिल्लामा अस्थायी दुई वटा मतदान केन्द्र कायम गरिएको छ । कारागार कार्यालयमा एक र निर्वाचनमा नखटिएका सुरक्षाकर्मी तथा कर्मचारीका लागि जिल्ला हुलाक कार्यालयमा अर्को अस्थायी मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कुल मतदाता सङ्ख्या दुई लाख १५ हजार १९ जना छन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा शान्तिसुरक्षाको अवस्था मजबुत रहेको जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले जनाएको छ ।