• १५ फागुन २०८२, शुक्रबार

मतदान अधिकृतहरुलाई तालिम

blog

निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दिएको तालिमका सहभागी ।

कविराज घिमिरे  

हिले, फागुन १५ गते । धनकुटामा निर्वाचनमा खटिइने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ ।  जिल्ला निर्वाचन कार्यालय धनकुटाले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गर्दै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई एक दिने तालिम दिएको हो । 

जिल्लाका कुल १६६ मतदान केन्द्र तथा दुई अस्थायी मतदान केन्द्रमा खटिने कुल ३ सय ३२ कर्मचारीलाई तालिम दिएको निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । 

तालिममा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको भूमिका, मतदान प्रक्रिया, मतपत्र तथा निर्वाचन सामग्रीको सुरक्षित व्यवस्थापन, आचारसंहिता पालना, प्रतिवेदन तयारी, मतदान केन्द्र पुगेर गर्नुपर्ने तयारी, नमुना मतदान, आदिको बारेमा जानकारी दिएको निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो । 

कार्यालय प्रमुख माधवकुमार अधिकारीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन तालिमले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मतदान केन्द्रमा खटिने कर्मचारीले कानुनअनुसार जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

यो निर्वाचनमा धनकुटामा ११९ मतदान स्थल र १६६ मतदान केन्द्र तथा दुई अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कर्मचारीले १६ र १७ गते सामग्री बुझेर १८ गते कार्यस्थलमा पुग्नुपर्ने कार्य तालिका रहेको छ ।