गजेन्द्र गुरुङ
खजुरा, फागुन १५ गते । बाँकेको कोहलपुर नगरपालिका नगरपालिका –११ की २३ वर्षीया रेश्मा राईले आमाको नामबाट वंशजको नागरिकता पाउनुभएको छ ।
रेश्माले इलाका प्रशासन कार्यालय कोहलपुरबाट आमाको नामबाट वंशजको आधारमा नागरिकता प्राप्त गर्नुभएको हो । इलाका प्रशासन कार्यालय कोहलपुर स्थापना पश्चात् आमाको नामबाट नागरिकता प्राप्त गर्ने उहाँ पहिलो सेवाग्राही हुनुहुन्छ ।
रेश्माले नागरिकता प्राप्त गरेपछि खुसी हुँदै भन्नुभयो, “नागरिकता प्राप्तिका लागि मैले धेरै संघर्ष गरेँ । आज मैले नागरिकता प्राप्त गरेको छु । मलाई एकदमै खुसी लागिरहेको छ ।” उहाँले सुरु–सुरुमा नागरिकता प्राप्तिको लागि धेरै पटक प्रयास गर्दा पनि सफल नहुँदा नागरिकता पाउँदिन कि जस्तो अनुभूति भएको बताउनुभयो ।
त्रिभुवन मावि कोहलपुरबाट प्लसटुसम्मको अध्ययन सकाउनुभएकी रेश्माले नागरिकता नभएकै कारण धेरै अवसरबाट वञ्चित हुनुपरेको बताउनुभयो । “नागरिकता नभएकै कारण मैले प्लसटुपछि थप अध्ययन गर्न पाइनँ । मेरो बुवा लामो समयदेखि बेपत्ता हुनुहुन्छ । हामीलाई आमाले काम गरेर हुर्काउनु भएको हो । प्लस टु सकिएपछि धेरै ठाउँ जागिरको लागि धाउँदा जहाँ पनि नागरिकता खोज्थ्यो । तर आफूसँग नागरिकता थिएन । धेरै अवसरबाट वञ्चित भएँ” रेश्माले भन्नुभयो ।
१६ वर्षको उमेरदेखि भाञ्जी रेश्मालाई नागरिकता दिलाउन सरकारी दैलो चाहार्दै संघर्ष गरेको रेश्माकी माइजु जानकी खड्काले बताउनुभयो । “आज मेरी भाञ्जीले न्याय पाएकी छन् । नागरिकता नहुँदाको पीडा हामीले मात्र अनुभूति गरेका छौँ । मेरै काखमा जन्मे हुर्केकी हुन् । नागरिकता दिलाउन नपाउँदा दुःखी थियौँ । आज सरकार र सबैको प्रयासले नागरिकता पाइयो ।”
रेश्माकी आमा रमा खड्काले छोरीले नागरिकता पाउँदा अत्यन्त खुसी महसुस भएको बताउनुभयो । “छोरी भर्खरै जन्मेकी थिइन् । यसका बाबा बेपत्ता भए । दुःख गरेर हुर्काएँ, बढाएँ, पढाएँ । यसको नागरिकता बनाउन वर्षौँसम्म धाएँ । आज नागरिकता पाउनु मेरो जीवनको सबैभन्दा खुसीको दिन हो” उहाँले भन्नुभयो ।
इलाका प्रशासन कार्यालय कोहलपुरकी कार्यालय प्रमुख अन्तिम सिञ्जालीले नेपाल नागरिकता ऐन, २०६३ संशोधन भएर विधेयक प्रमाणित भएपछि कोहलपुरबाट पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान गरिएको जानकारी दिनुभयो । कार्यालय प्रमुखका रुपमा वंशजको आधारमा आमाको नामबाट सेवाग्राहीलाई सेवा दिन पाउँदा आफूलाई अत्यन्त खुसी लागेको उहाँले बताउनुभयो ।
सिञ्जालीले भन्नुभयो, “उहाँ ५–६ वर्षदेखि नागरिकताको लागि कार्यालयमा धाएको देखिन्छ । पछिल्लो पटक पनि उहाँ तीन महिनाअघि आउनु भएको थियो । हामीले कानुनअनुसार काम अघि बढाइरहेका थियौँ । यहीबेला भर्खरै कानुन नै संशोधन भएर आएपछि हामीलाई पनि सहज भएको हो ।”