अमरराज नहर्की
दमौली, फागुन १५ गते । तनहुँका मगर समुदायको ‘४४ औँ राष्ट्रिय मगर एकता दिवस’ शुक्रबार तनहुँको सदरमुकाम दमौली लगायत जिल्लाभर विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाएका छन् । नेपाल मगर सघं जिल्ला समन्वय समिति, तनहुँको आयोजनामा भएको विशेष समारोहमा मगर समुदायको मौलिक कला, संस्कृति र पहिचानको विशेष प्रदर्शन गरिएको हो ।
दिवसको अवसरमा दमौलीको अनचौतारीबाट सुरु भएको सांस्कृतिक झाँकी तथा र्यालीले बजार परिक्रमा गरेको थियो । परम्परागत भेषभूषामा सजिएका सहभागीहरूले कौरा, झ्याउरे तथा मारुनी जस्ता नृत्य प्रस्तुत गर्दा दमौली बजार क्षेत्र उत्सवमय बनेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय सभा सदस्य सुरेश आले मगरले मगर समुदाय नेपालको इतिहास, वीरता र संस्कृतिको अभिन्न अङ्ग भएको उल्लेख गर्नुभयो । उहाँले संविधानले सुनिश्चित गरेका अधिकारको प्रभावकारी कार्यान्वयन गर्दै राज्यले आदिवासी जनजातिको भाषा, लिपि र पहिचान संरक्षणमा थप संवेदनशीलता र तत्परता देखाउनुपर्ने धारणा राख्नुभयो ।
नेपाल सरकारका पूर्व विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापा मगरले वि सं २०३९ साल फागुन १५ गते दमौलीमै नेपाल लाङ्घाली परिवार सङ्घको पहिलो महाधिवेशन सम्पन्न भएको ऐतिहासिक दिनलाई स्मरण गर्दै हरेक वर्ष यस दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने परम्परा रहेको जानकारी दिनुभयो । उहाँले पुर्खाहरूले देखाएको एकताको मार्गमा हिँड्दै आफ्ना मौलिक संस्कार र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले विविधताभित्रको सुन्दरता र एकताले नै राष्ट्रलाई बलियो बनाउने बताउँदै मगर समुदायको सांस्कृतिक योगदानको उच्च प्रशंसा गर्नुभयो। व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले आदिवासी जनजातिको कला र संस्कृति संरक्षणका कार्यक्रमलाई प्राथमिकतामा राखेकोले सहयोग गर्दै आएको र भविष्यमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल मगर सङ्घ तनहुँका अध्यक्ष हर्क थापा मगरले मगर संस्कृतिमा आधारित कला, भाषा र भेषभूषाको संवर्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष यो दिवस विश्वभरका मगर बस्तीहरूमा मनाइने गरिएको जानकारी दिनुभयो । दिवसको अवसरमा तनहुँका १० वटै स्थानीय तहले सार्वजनिक बिदा दिएर मगर समुदायको पहिचानलाई सम्मान गरेकोमा अध्यक्ष थापाले खुसी व्यक्त गर्नुभयो । गत वर्ष पनि जिल्लाका सबै स्थानीय तहले सार्वजानिक बिदा दिएका थिए ।