• १५ फागुन २०८२, शुक्रबार

स्वच्छ र भयरहित निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत

ढुक्क भएर मतदान गर्नुस् : गृहमन्त्री अर्याल

blog

ओखलढुंगामा पुग्नुभएका गृहमन्त्री ओमप्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायत । तस्बिरः गृहमन्त्रीको निजी सचिवालय

काठमाडौँ, फागुन १५ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने बताउनुभएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा र समग्र शान्ति स्थितिको निरीक्षण तथा अनुगमनका लागि शुक्रबार ओखलढुङ्गा पुग्नुभएका मन्त्री अर्यालले सुरक्षा व्यवस्था मजबुत रहेकाले सबैलाई ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “अन्य जिल्लाको तुलनामा ओखलढुङ्गाको अवस्था शान्त छ। कानुनविपरीतका क्रियाकलाप गर्नेलाई उन्मुक्ति दिइने छैन, हामी सबैलाई सुरक्षाको पूर्ण अनुभूति दिलाउँछौँ।”

मन्त्री अर्यालले गैरकानुनी क्रियाकलाप गर्नेलाई कानुनको दायरामा ल्याई कडा कारबाही गरिने प्रतिबद्धता जनाउनुभयो। उहाँले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न र उम्मेदवारको व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिन सुरक्षा निकायलाई निर्देशन दिनुभयो।

सो अवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ओखलढुङ्गामा निर्वाचनका लागि खासै समस्या नरहेको उल्लेख गर्दै आचारसंहिता उल्लङ्घन गर्नेलाई कानुनी दायरामा ल्याइने बताउनुभयो। ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जिल्लाको समग्र शान्ति सुरक्षा र निर्वाचन तयारीबारे जानकारी गराउनुभएको थियो।

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले कर्मचारी व्यवस्थापन चुस्त रहेको र राजनीतिक दलसँग प्रभावकारी समन्वय भइरहेको बताउनुभयो। उहाँले सुरक्षा निकायसँगको नियमित ब्रिफिङका आधारमा जनशक्ति परिचालन गरिएको जानकारी दिनुभयो।

अनुगमन टोलीमा गृहमन्त्री अर्यालसहित कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजङ्ग केसी, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडामगर, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेलगायतको सहभागिता थियो।

मन्त्री नेतृत्वको टोलीले दोलखाको बैतेश्वर गाउँपालिकाका मतदान स्थलको निरीक्षण गरी ओखलढुङ्गा पुगेको हो। टोलीले अहिले मोरङका विभिन्न क्षेत्रमा अनुगमन र अन्तरक्रिया गरिरहेको गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिनुभयो।