सन्तोष दहित
दाङ, फागुन १४ गते । दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पाँच वर्षभित्र पाँच क्रान्ति गर्ने संकल्प सार्वजनिक गर्नुभएको छ।
उहाँले आफ्नो निर्वाचन घोषणापत्रमार्फत आर्थिक, शैक्षिक, स्वास्थ्य, प्रविधि र सुशासनका पाँच क्षेत्रमा रूपान्तरण ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। पोखरेलले ‘५ वर्षमा ५ क्रान्ति’ शीर्षकको संकल्पपत्र सार्वजनिक गर्दै रोजगारी सिर्जना, सडक, सिँचाइ र उद्योग विस्तारमार्फत आर्थिक तथा पूर्वाधार क्रान्ति अघि बढाउने योजना प्रस्तुत गर्नुभएको छ।
शिक्षा क्षेत्रमा गुणस्तरीय र सीपमूलक कार्यक्रमसँगै डिजिटल शिक्षाको विस्तारलाई प्राथमिकता दिने उहाँको योजना छ। स्वास्थ्य सेवा क्रान्तिको अङ्गमा सहज र गुणस्तरीय उपचार, आधुनिक उपकरणसहितका अस्पताल र गाउँगाउँमा विशेष स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ।
त्यसैगरी प्रविधिमा क्रान्ति अन्तर्गत डिजिटल पूर्वाधार विकास, स्मार्ट सेवा प्रणाली र युवालाई प्रविधिमैत्री अवसर प्रदान गरिने लक्ष्य राखिएको छ। सुशासनका क्षेत्रमा पारदर्शिता, जवाफदेहिता, छिटो र प्रभावकारी सेवा प्रवाह तथा भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिइएको छ।
पोखरेलले सङ्कल्प सार्वजनिक गर्दै मतदानको विश्वासको वातावरण बनाउँदै दाङलाई आर्थिक, सामाजिक र प्रशासनिक दृष्टिले नमूना जिल्लाको रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ।