बलियो अर्थतन्त्र देश विकासको मुख्य कडी हो । यसको लय भेटिएन भने विकासका सम्पूर्ण आयामलाई निरपेक्ष राखेर समीक्षा गर्नुपर्ने हुन्छ । आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनाको कुल गार्हस्थ उत्पादनको प्रगति लक्ष्य २.९ विन्दुमा प्रक्षेपण गरिएकोमा यो प्रगति ३.५ विन्दुमा कायम भयो तर यसलाई सूक्ष्म रूपले केलाएर मनन गर्नुपर्ने धेरै विषय छन् । आर्थिक विकासको मूल लक्ष्य अर्थात् जनताको जीवनस्तरमा यसले परिवर्तन ल्याउन सक्छ कि सक्दैन भन्ने मूल प्रश्न हो । विशुद्ध अर्थशास्त्रीभन्दा समाज अर्थशास्त्रीको हेराइ अलि फरक हुन्छ । उनीहरू माटोकेन्द्रित हुन्छन् । आर्थिक समस्याको समाधान पनि आधारभूत रूपमा त्यतैतिर छ ।
कृषि तथा कृषिजन्य उत्पादनको प्रगति जम्मा २.५ प्रतिशत वा सो वरपर देखिन्छ । ग्यास तथा बिजुली उत्पादनको प्रगति भने १४/१५ प्रतिशतमा देखिन्छ । ग्यास वा बिजुली प्राथमिक उपभोग्य वस्तु होइन । त्यसको उपयोगबाट के कति कृषि वा कृषिजन्य वस्तु उत्पादन भए भन्ने सम्बन्धमा सर्वेक्षण पनि मौन छ । खेती, सिंचाइ, गाई, कुखुरा, मत्स्य वा मौरीपालन जस्ता कृषि कार्यमा ग्यास र बिजुलीको योगदानको समीक्षा वस्तुगत रूपले हुन नसक्दा तथ्याङ्क अपूरा छन् । यसको सही विश्लेषण हुनु जरुरी छ ।
गएको केही वर्षमा ऊर्जामा अत्यधिक प्रगति भयो । यता उत्पादकलाई बजारको चिन्ता लाग्न थालेको छ । के नेपाली आमजनताले अहिलेको ऊर्जा र आगामी दिनमा बढोत्तरी हुने ऊर्जा एक्लै र आफैँले उपभोग गर्न सक्छ ? यो अहम् प्रश्न हो । छिमेकीसँग आर्थिक कूटनीतिमा नेपाल कमजोर नै छ । एकातिर मेघा परियोजनाले उत्पादन गर्ने ऊर्जाको खपत नहुने र अर्कोतिर देशका उद्योग कलकारखाना र कृषिजन्य उत्पादन घट्दै जाने यही र यस्तै लयमा हाम्रो विकास देखियो भने यो आधारहीन लगानी र विकासले देशलाई ठिक परिणाम दिन सक्दैन । वाणिज्य बैङ्कले लगानी गर्दा यस विषयमा सोच्नु पर्ला ।
बैङ्कमा निक्षेष थुप्रनु त्यसको अनुपातमा कर्जा वृद्धि नहुनु र भइहाले पनि खराब कर्जाको डर र सुरक्षाको पनि प्रभावकारिता नहुनुले बैङ्क आफैँ पनि अन्योलमा छन् । जेनजी आन्दोलन र पूर्वाधारमा भएको डरलाग्दो विनासले विकास कम्पनीलाई उठ्न नसक्ने गरी दायित्व थपेको छ । अब यो स्थितिमा आफूलाई दिगो राख्ने उपाय अवलम्बन गर्नु पर्छ । केवल ब्याजको स्प्रेड दर, ठेकेदार र व्यवसायीलाई सुरक्षण दिई त्यसबापत आउने कमिसनमा नै आफ्नो बौद्धिकता खर्चिने हाम्रो परम्परागत व्यवसायबाट अब वाणिज्य बैङ्क बाहिर आउनु पर्छ । लगानीका लागि दिगो र वस्तुगत आधार खोज्नै पर्छ । ब्याजलाई आत्मा नमान्ने वा त्यो अभ्यास नै नगर्ने हो भने मुलुकका बैङ्क धरापमा पर्ने छन् ।
तत्काल र धेरै प्रतिफल दिने लगानी छान्ने क्रममा हाम्रा वाणिज्य बैङ्क अन्योलमा छन्, त्यसको ज्वलन्त उदाहरण भनेका अहिले थुप्रिएको निक्षेप हो । हुन त त्यसलाई हामीले सकारात्मक दृष्टिले विवेचना गर्न पनि सक्छौँ । ब्याजदर घटेको छ, उद्योगी व्यवसायीका लागि वातावरण पनि बनेको छ तर कर्जा प्रवाह छैन । निक्षेपको तुलनामा कर्जा प्रवाह घटेको छ । उद्योग नगर्ने र बैङ्कमा पैसा थुपार्ने प्रवृत्तिले देशलाई सही दिशानिर्देश गर्न सक्दैन ।
दुई दशक अगाडि आउनुपर्ने सोच र विचार राष्ट्र बैङ्कलाई अहिले आएको छ । लघु र मझौला उद्योगका लागि बैङ्क उदार हुनै पर्छ । मेघा परियोजनाका लागि ठुलो रकम प्रयोग गर्ने र ब्याजमा रमाउने वा खेलो फड्को गर्ने हाम्रो बैङ्किङ अभ्यासले अर्थतन्त्र बलियो बनाउन सघाउला र ? बैक वा वित्तीय संस्था दिगो विकास हुने क्षेत्रमा लगानी नगरेर केवल राष्ट्रिय गौरवका परियोजनाको नाममा मेघा परियोजनाप्रति आकर्षित हुने हो भने त्यसको प्रतिफल कहिले आउने र प्रतिफल आउँदासम्म परियोजना स्वयम्ले बैङ्कको ब्याज वा ब्याजको स्थानलाई धान्न सक्छ कि सक्दैन भन्ने विश्लेषण पनि भएको देखिँदैन । बैङ्कको लगानी प्रवाह गर्ने सेवा र सेवाबापत आर्जन गर्ने सबैभन्दा ठुलो विषय ब्याजमा आधारित हाम्रो बैङ्किङ व्यवसायलाई कसरी दिगो बनाउने भन्ने विषयमा सोच्ने बेला भहसकेको छ । आजको व्यावसायिक बैङ्कको इतिहास साहुमहाराजको घरबाट सुरु भयो । यसका पनि धेरै पाटा छन् । ग्रे लोन अर्थात् अनिकालका लागि अन्न भण्डार इतिहासबाट सुरु भएको हो ।
व्यक्ति वा संस्थाले सुरक्षाका लागि वा नाफा कमाउने उद्देश्यले आफूसँग भएको सम्पत्ति बैङ्कमा जम्मा गर्ने परम्परा सुरु भयो । त्यसैलाई बैङ्कले एउटा निश्चित दरमा स्प्रेड कायम गरी व्यवसायी वा उद्योगपतिलाई रकम प्रवाह गर्छ । अहिलेको बैङ्किङ अभ्यास पनि यही हो । त्यो रकम वा धन सम्पत्ति ब्याजमा अरू उद्योग वा व्यवसायीलाई नदिएर बैङ्क आफैँले कुनै मेघा परियोजनामा लगानी गर्नु पर्छ । मेघा मात्र होइन सानासाना उद्योग व्यवसायतिर पनि लगानी गर्ने अभ्यास गर्नु पर्छ । व्यवसायी आफैँले बैङ्क सञ्चालन गरेको हाम्रो देशमा व्यवसायी र बैङ्क सञ्चालक एउटै छन् । हाम्रा बैङ्क वा बैङ्किङ व्यवसायले एजेन्टका रूपमा भन्दा पनि उद्योगी र उधमीको परिभाषा बनाउन सके व्यवसायमा एउटा युगान्तकारी निर्णय हुने छ । यसले देशको अर्थतन्त्र मतबुत र चलायमान बनाउन सहयोग पुग्ने छ ।
आज देशले हरेक क्षेत्रमा संरचनागत परिवर्तन खोजेको छ । राजनीतिक तहमा त्यस्ता अभ्यास धेरै भए । थरीथरीका प्रयोग र मोडालिटी पनि देखिएका छन् तर ती आधारहीन अभ्यास भए, जसले परिणाम दिन सकेन । त्यसको आधार भनेको देशको अर्थ तागत हो । त्यो पटक्कै सुधारिएन । अर्थतन्त्रका विविध आयाम र पाटा पनि छन्, त्यसलाई समाज सापेक्षित भएर हेरिँदैन । विकासलाई कम्प्युटरका एउटा एपमा हालेर आउटपुट खोज्ने हाम्रो विकास परम्पराकै कारण अर्थतन्त्रले गति लिन सकेन । खास गरी नेपालको सन्दर्भमा बैङ्क तथा बैङ्किङ व्यवसायलाई नयाँ आयामबाट समीक्षा गर्नु पर्छ । नयाँ र रचनात्मक भूमिका खोज्ने हो भने अर्थतन्त्रको मूल आधार मानिने बैङ्क र बैङ्किङ व्यवसायलाई राजनीतिभन्दा माथि राखेर अघि बढ्नु पर्छ । राजनीतिले सही मार्ग लियो भने अर्थतन्त्र पनि उकालो लाग्ने हो । यही परिस्थिति कायम राखेर आर्थिक विकास सम्भव छैन । सही नीति र हरेक सङ्घ संस्थामा असल नेतृत्व भइदियो, अर्थतन्त्रलाई टेवा दिने काममा कहीँकतैबाट बाधा अड्चन आएन भने छोटो समयमै समृद्धि आउने छ ।