गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १३ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा मङ्गलबार ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी/सम्मेलन २०८२’ सम्पन्न भएको छ ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कार्यक्रमको उद्घाटन गर्दै प्रादेशिक प्रदर्शनीबाट सहभागिता, प्रचारप्रसार नीतिनिर्माण तहमा पहुँच बढाएको बताउनुभयो । उहाँले ललितकलासम्बन्धी वैचारिक बहस गरिन आवश्यक रहेको धारणा पनि राख्नुभयो । हार्तम्छालीले भन्नुभयो, “बागमती प्रादेशिक ललितकला प्रदर्शनी अन्तर्गत भएको सम्मेलनमा आएका जिज्ञासा र प्रश्नहरू अनुसन्धान तथा विश्लेषण र अभिलेखीकरण गरी भावी कार्ययोजना तय गरिने छ ।”
प्रतिष्ठानका उपकुलपति एवं बागमती प्रदेश समन्वय समिति संयोजक लालकाजी लामाले ललितकला क्षेत्रका नीतिगत, संरचनागत तथा कार्यक्रमगत विषयमा छलफल गर्न यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले ललितकला क्षेत्रको समग्र उत्थान, विकास र उन्नयनका लागि मार्गनिर्देश गर्न सम्मेलनले थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले कलाकार स्रष्टा मात्रै नभई आफैँमा द्रष्टा पनि भएको हुँदा सर्जक ‘मोरल ल मेकर’ पनि भएको बताउनुभयो । उहाँले कलाकार यो युगको मस्तिष्क निर्माणकर्ता तथा सभ्यता, संस्कृति जगाउने पुँजी भएकाले कलाको पुनर्जागरणको अभियानमा जोडिन सबै कला सरोकारवालामा आग्रह गर्नुभयो ।
बागमती प्रदेश पर्यटन कार्यालय काठमाडौँका प्रमुख पवनकुमार पोखरेलले बागमती प्रदेश सरकारले संस्कृतिका क्षेत्रमा गरेका कार्यसँगै अन्तर्क्रिया कार्यक्रममा उठान भएका प्रश्नको जवाफ दिनुभएको थियो । उहाँले कलाले देशको परिचय जोगाउने काम गरिरहेको बताउँदै कलाका विषयमा बागमती प्रदेश सरकारको प्रतिष्ठानसँग भावी समयमा पनि सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले ‘ललितकला र यसको महत्व’, ललितकला क्याम्पस भोटाहिटीका प्रमुख डा. यामप्रसाद शर्माले बागमती प्रादेशिक ललितकला प्रदर्शनीसम्बन्धी प्रस्तुति र लेखक अजय शर्माले ‘कलामा एआई सङ्कट कि अवसर’ विषयमो प्रस्तुति दिनुभएको थियो ।