• १२ फागुन २०८२, मङ्गलबार

प्रधानसेनापतिद्वारा निर्वाचन सुरक्षाको अवस्थाबारे जानकारी

blog

सुरक्षा स्थिति लिने क्रममा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल उदयपुरको बेल्टारसिथत अस्थायी सैनिक क्याम्पमा जानुहुँदै । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल 

गाईघाट, फागुन १२ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उदयपुर जिल्लाको समग्र शान्ति सुरक्षा अवस्थाबारे स्थलगत जानकारी लिन नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल उदयपुर आउनुभएको छ । 

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले पूर्वी पृतना इटहरी भ्रमणको क्रममा प्रधान सेनापति सिग्देल उदयपुर आइपुग्नुभएको हो । नेपाली सेनाको हेलिकप्टरमार्फत आउनुभएका प्रधानसेनापति सिग्देलले जिल्लाको चौदण्डीगढी नगरपालिकामा केन्द्रित भई सुरक्षा अवस्थाबारे विस्तृत ब्रिफिङ लिनुभएको हो । 

सो अवसरमा नेपाली सेनाले निर्वाचन लक्षित सुरक्षा तयारी, चुनौती तथा अपनाइएका रणनीतिहरूबारे जानकारी गराएको पशुपतिप्रसाद गणका गणपति प्रमुख सेनानी मनोज कार्कीले बताउनुभयो । प्रधानसेनापति सिक्देलले जिल्लाको शान्ति सुरक्षाको बारेमा जानकारी लिएको र चुनावमा नेपाली सेनाले निर्वाह गर्नु पर्ने भूमिकाको बारेमा आवश्यक निर्देशन समेत दिनुभएको सेनानी कार्कीले बताउनुभयो । 

प्रधानसेनापति सिग्देलले सुरक्षा निकायहरूलाई निर्वाचन अवधिभर उच्च सतर्कता अपनाउन, आपसी समन्वय मजबुत बनाउन तथा नागरिकमा सुरक्षा प्रत्याभूति दिलाउने गरी कार्य गर्न निर्देशन दिनुभएको बताइएको छ । उहाँले शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन सबै सुरक्षा निकायको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै जिम्मेवारीप्रति सचेत र सक्रिय रहन आग्रह गर्नुभएको छ ।

उदयपुरको निर्वाचन क्षेत्र नं. १ मा ५२ मतदान स्थल र १६० मतदान केन्द्र रहेका छन भने क्षेत्र नं. २ मा ५१ मतदान स्थल र ११५ मतदान केन्द्र रहेकाछन । यसरी जिल्लाभर कुल १०३ मतदान स्थल र २७५ मतदान केन्द्रमार्फत फागुन २१ गते मतदान सञ्चालन हुने तयारी गरिएको सवै मतदानस्थलहरुमा नेपाली सेनाले भरपर्दाे सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । 

निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन गाईघाटस्थित पशुपतिप्रसाद गणको नेतृत्वमा जिल्लाका आठवटै पालिकाका १६ स्थानमा नेपाली सेनालाई परिचालन गरिएको प्रमुख सेनानी कार्कीले बताउनुभयो ।