• १२ फागुन २०८२, मङ्गलबार

युक्रेन युद्ध रूसका लागि तीन गुणा असफलता : म्याक्रोन

blog

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन।

पेरिस, फागुन १२ गते । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेन विरुद्धको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युद्धलाई ‘रूसका लागि सैन्य, आर्थिक र रणनीतिक रूपमा तीन गुणा असफलता’ भन्नुभएको छ । 

उहाँले यो टिप्पणी पश्चिमी सहयोगी राष्ट्रमा युक्रेनमाथि रुसको आक्रमणको चार वर्ष पूरा भएको अवसरमा व्यक्त गर्नु भएको हो । सन् २०२२ फेब्रुअरी २४ मा सुरु भएको यस युद्ध युरोपेली भूमिमा दोस्रो विश्वयुद्धपछिको सबैभन्दा घातक सङ्घर्ष बनेको छ । युद्धमा लाखौंँको मृत्यु भएको छ । म्याक्रोनले एक्समा लेख्दै भन्नुभयो, “एक दिन रुसीले आफ्नो अपराधको व्यापकता, ढोङको निरर्थकता र देशभित्रको दीर्घकालीन विनाश महसुस गर्ने छन् ।”

राष्ट्रपति म्याक्रोनले युद्धले युक्रेनलाई भयङ्कर चुनौतीका बाबजुद पनि प्रतिरोध कायम राख्न प्रेरित गरेको बताउनुभयो । “हिंसा, बलात्कार, यातना र युद्ध अपराधका चार वर्ष बित्दा पनि युक्रेनले धैर्य देखाएको छ”, उहाँले भन्नुभयो । म्याक्रोनका अनुसार १२ लाखभन्दा बढी रुसी सैनिक घाइते वा मारिएका छन् । यो दोस्रो विश्वयुद्धपछिको रुसी लडाइँमा सबैभन्दा ठूलो हताहत सङ्ख्या हो । उहाँले भन्नुभयो, “युद्धले नाटोलाई बलियो बनाएको छ, युरोपेली एकतालाई मजबुत पारेको छ र साम्राज्यवादको असफलतालाई उजागर गरेको छ ।”

राष्ट्रपति म्याक्रोनले युक्रेनलाई निरन्तर समर्थन गर्ने र रुसविरुद्ध थप प्रतिबन्ध लगाउने वचन दोहोर्याउनुभयो । “हामी चाहन्छौँ कि युक्रेनले आफ्नो क्षेत्र सुरक्षित राख्न सकोस् र रुसले अब समय आफ्नो पक्षमा छैन भन्ने कुरा बुझोस् । थकाइ वा कमजोर हुने विश्वासमा भरोसा गर्नेले गलत सोच राखेका छन्”, उहाँले स्पष्ट गर्नुभयो ।

म्याक्रोन मङ्गलबार युक्रेनका सहयोगीको नयाँ बैठकको सह-अध्यक्षता गर्ने तयारीमा हुनुहुन्छ । उहाँले बैठकले सङ्घर्ष रोक्न र सहयोगी रणनीति अघि बढाउन महत्त्वपूर्ण अवसर दिने विश्वास व्यक्त गर्नुभयो । संयुक्त राज्य अमेरिकाले गत वर्ष पुनः सुरु गरेको रुस-युक्रेन वार्ता अहिलेसम्म युद्ध रोक्न सफल हुन सकेको छैन र म्याक्रोनले यस परिस्थितिमा युक्रेनको निरन्तर समर्थन अपरिहार्य रहेको बताउनु भएको छ । रासस/एएफपी