• १२ फागुन २०८२, मङ्गलबार

मतदाता शिक्षा गाउँ गाउँमा

blog

हुम्ला समाचारदाता 

हुम्ला, फागुन १२ गते । जिल्लामा अघिल्लो हप्ताबाट सुरु भएको मतदाता शिक्षा कार्यक्रम गाउँ गाउँमा प्रभावकारी बन्दै गएको छ । निर्वाचनमा मत बदर हुन सक्ने सम्भावना भएकाले स्वयंसेवकले मतदाता शिक्षालाई प्रभावकारी रूपमा सञ्चालन गरिरहेका छन् । 

अदानचुली गाउँपालिका–२ की मतदाता बेला विकले समयमै स्वयंसेवक आएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दा सहज भएको बताउनुभयो । उहाँले बेलैमा मतदाता शिक्षा सञ्चालन भएकाले मत बदर हुने सम्भावना कम भएको जनाउनुभयो । मतदान गर्दा बदर हुन सक्ने र आफ्नो मत आफैँले खसाल्नेलगायतका कुरा स्वयंसेवकले सहजीकरण गराएको उहाँको भनाइ छ । मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि चङ्खेली गाउँपालिका–१ की स्वयंसेविका ज्ञानु थापाले आफूले फागुन ३ बाट यो कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । गाउँबस्तीमा उपलब्ध भएका मतदाताले कार्यक्रम सञ्चालन गर्दा समय दिएकोमा आफू सन्तुष्ट रहेको बताउँदै उहाँले पहिले बस्ती बस्तीमा पुगेर मतदाता शिक्षा प्रदान गरेको र शुक्रबारबाट घर घरमा पुगेर मतदाता शिक्षा दिइने उल्लेख गर्नुभयो ।

मतदाता शिक्षाका आगि तयार पारिएका पाठ्य सामग्रीबारे जानकारी गराउने र मतदातालाई मत बदर कसरी नगर्ने भन्ने कुराबारे जानकारी गराइएको छ । मतदाताले मतदाता शिक्षाका बारेमा बुझेको हेर्दा यो शिक्षा प्रभावकारी भएको र यसले बदर मत घटाउने काममा सहयोग पु¥याउने विश्वास उहाँले व्यक्त गर्नुभयो । जिल्लाका ४१ वटा वडाका बस्तीमा मतदाता शिक्षा प्रभावकारी रूपमा सञ्चालन भइरहेको जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाले बताउनुभयो । हुम्ला जिल्लाका सात गाउँपालिकामा ४४ वटा वडा छन् । आइतबारबाट ताँजाकोट गाउँपालिका–३ को मासपुर मतदान केन्द्रमा यो शिक्षा लागु हुने र नाम्खा गाउँपालिका–३ को हिमालपारिको लिमीका तीन वटा मतदान केन्द्रमा यो कार्यक्रम लागु गराउने प्रयास भइरहेको उहाँले बताउनुभयो । लिमी प्रवेश गर्ने दुई वटा नाका बन्द रहेका कारण लिमीका लागि मतदाता शिक्षा सञ्चालन गर्ने स्वयंसेवक कार्यालयमा आउन सक्ने अवस्था नभएका कारण यो उपाय अपनाइएको उहाँले बताउनुभयो ।