अमरराज नहर्की
तनहुँ, फागुन १२ गते । पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौडामा सडकबाट तल खस्दा तनहुँका पाँच जनासहित १९ जनाको मृत्यु भएको घटनाले जिल्लाभर शोक छाएको छ । सोमबार बिहान करिब १ः३० बजे ग २ ख १४२१ नम्बरको बस दुर्घटनामा परेको थियो ।
दुर्घटनामा व्यास नगरपालिका–१ मोहरियाटारका ४० वर्षीय ओमकुमार मल्ल, शुक्लागण्डकी नगरपालिका–७ निवासी ५५ वर्षीया विष्णुमाया ढकाल र उहाँका श्रीमान् ६३ वर्षीय रुद्रप्रसाद ढकाल, भिमाद नगरपालिका–६ का ४५ वर्षीय हरिप्रसाद सिग्देल तथा शुक्लागण्डकी–२ की २० वर्षीया अर्चना पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
मृतकहरूको सनाखत भएसँगै सम्बन्धित क्षेत्रमा रुवाबासी मच्चिएको छ । दैनिक जीवनको यात्रामा निस्किएका उनीहरू घर नफर्किने गरी बिदा भएपछि व्यास, शुक्लागण्डकी र भिमाद क्षेत्रमा स्तब्धता छाएको छ । बिहानैदेखि मृतकका घरमा आफन्त, छिमेकी र शुभेच्छुकहरूको भीड लागेको छ ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले गहिरो शोक व्यक्त गर्दै यो क्षति अपूरणीय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो नगरपालिकाले एकैपटक तीन जना होनहार नागरिक गुमाउनु परेको छ । विशेष गरी ढकाल दम्पती र कलिलो उमेरकी अर्चना पौडेलको निधनले मलाई स्तब्ध बनाएको छ । यो सिङ्गो नगरपालिका र जिल्लाकै लागि ठूलो बज्रपात हो । मृतकका परिवारलाई यो असह्य पीडा सहने शक्ति मिलोस् भनी प्रार्थना गर्दछु ।”
भिमादको कुमारचोकका हरिप्रसाद सिग्देल विगत २० वर्षदेखि फेन्सी पसल सञ्चालन गर्दै आउनुभएको थियो । पसलका लागि सामान खरिद गर्न काठमाडौँ गएका उहाँ कहिल्यै नफर्किने गरी बिदा हुनुभएको खबरले स्थानीय समुदाय मर्माहत बनेको छ । वडाध्यक्ष श्यामसुन्दर जोशीले भन्नुभयो, “एक असल व्यवसायी मात्र होइन, सामाजिक रूपमा सक्रिय व्यक्ति गुमाउँदा सिङ्गो टोल शोकमा डुबेको छ ।” उहाँका अनुसार परिवारले शव बुझेर अन्त्येष्टि गरिसकेको छ ।
दमौलीस्थित ग्रिन डेभलपमेन्ट बैंकका प्रबन्धक सुदीप न्यौपानेले घटना अत्यन्तै पीडादायी भएको बताउँदै भन्नुभयो, “एकैचोटि यति धेरै तनहुँवासी गुमाउनु जिल्लाकै लागि ठूलो क्षति हो । दुर्घटनाले तनहुँलाई गहिरो पीडामा डुबाएको छ ।” आफ्ना प्रियजन गुमाएका परिवारका आँसु अझै रोकिएका छैनन् ।