गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १२ गते । काठमाडौँ बूढानीलकण्ठ नगरपालिका वडा नं. १० मिलनचोक निवासी ७१ वर्षीय शान्तिमाया तामाङले मतदान गर्न थालेको तीन दशकभन्दा बढी भयो । खेती हुने कपनमा बस्ती विस्तार भयो । अव्यवस्थित सहरीकरणले खोला मिचिए । उहाँ पछिल्ला १५ वर्षदेखि वर्षामा बाढीको प्रताडना र हिउँदमा धुलो र दुर्गन्धसँग जुधिरहनुभएको छ ।
उहाँलाई पनि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा माहोलले छोएको छ । काठमाडौँ क्षेत्र नं. ४ की मतदाता तामाङले उम्मेदवारसँग एउटै माग राखिरहनुभएको छ । उहाँले भन्नुभयो, “घरअगाडि खोला छ । वर्षामा बाढी आउँछ । हिउँदमा दुर्गन्धित हुन्छ । खोला व्यवस्थित गर्ने र किनारमा बाटो बनाउने उम्मेदवारलाई जिताउने हो ।”
कपन क्षेत्रको पानीको स्रोत यज्ञमती र चखुँचाखोला पुरेपछि सुरु भएको बाढीको समस्या प्रतिनिधि सभा निर्वाचनमा स्थानीयको साझा मुद्दा बनेको छ । स्थानीयवासी तामाङले चखुँचाखोला खोलेपछि बाढी कम भए पनि व्यवस्थित नगरिँदा हिउँदमा हैजा फैलिने स्थिति भएको बताउनुभयो । काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकामा फैलिएको क्षेत्र नं. ४ मा महानगरतर्फ र नगरपालिकातर्फका समस्या फरक छन् । नागरिकका अपेक्षा फरक छन् । काठमाडौँ महानगरका मतदाताले सडक व्यवस्थापन, खानेपानी, दैनिक उपभोग्य सामग्री गुणस्तरीय हुनुपर्ने र आफ्ना सन्ततिलाई रोजगारीको प्रबन्ध हुनुपर्ने माग राखेका छन् । बूढानीलकण्ठ नगरपालिकाका मतदाताले खानेपानी, यातायातको सुविधा, सडक स्तरोन्नति र बाढीको स्थायी समाधान जस्ता माग उम्मेदवारसँग राखेका छन् ।
चार दलका उम्मेदवार चर्चामा
काठमाडौँ क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबिच मुख्य प्रतिस्पर्धा हुँदै छ ।
२०७०, २०७४ र २०७९ मा कांग्रेस सभापति गगनकुमार थापा विजयी भएको काठमाडौँ क्षेत्र नं. ४ बाट एमाले नेत्री सहाना प्रधान, तत्कालीन मालेका नेता पद्मरत्न तुलाधर, कांग्रेस नेता प्रेमलाल सिंह, नेतृ सुप्रभा घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुभयो । काठमाडौँ क्षेत्र नं. ४ मा १८ राजनीतिक दल र १० जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
कांग्रेस सभापति थापाले सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवारी दिएपछि कांग्रेसले युवा नेता ३३ वर्षीय सचिन तिमल्सेनालाई उम्मेदवार बनाएको छ । एमाले सचिव ५७ वर्षीय डा. राजन भट्टराईले पुनः उम्मेदवारी दिनुभएको छ । नेपाली कम्युनिस्ट पार्टीका युवा नेता ४० वर्षीय इन्द्रकुमार भुसाल र राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता ३८ वर्षीय पुकार बमले उम्मेदवारी दिनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सुरेन्द्रराज भण्डारी, राष्ट्रिय जनमोर्चाका छविबहादुर खनाल, नेपाल मजदुर किसान पार्टीका आशालाल श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका चेतबहादुर आले, मङ्गोल नेसनल अर्गनाइजेसनका सीता तामाङ, मितेरी पार्टी नेपालका प्रेमकुमार राई, नेपालका लागि नेपाली पार्टीका श्यामकुमार भट्टराई खत्रीले उम्मेदवारी दिनुभएको छ । त्यसै गरी प्रगतिशील लोकतान्त्रिक पार्टीका दत्त बुढा, युनाइटेड नेपाल डिमोक्रेटिक पार्टीका मुस्कान पौडेल, जय मातृभूमि पार्टीका राजन पुरी, श्रम संस्कृति पार्टीका बरुण अमात्य, नेकपा (माओवादी) का करिष्मा खरेल, उज्यालो नेपाल पार्टीका झनकबहादुर अधिकारी, जनादेश पार्टी नेपालका केम्श सिंह उम्मेदवार बन्नुभएको छ । स्वतन्त्रतर्फ मदनदेव आचार्य, पूजन गजुरेल, अर्चनशमशेर राणा, विनोदबाबु प्रधान, दीपेन्द्रकुमार काफ्ले, केदारबहादुर कार्की, मनोज अधिकारी, आशिष श्रेष्ठ, सञ्जीव दर्जी र देवराज पौडेलले उम्मेदवारी दिनुभएको छ ।
उम्मेदवारका प्रतिज्ञा
कांग्रेस उम्मेदवार सचिन तिमल्सेनाले सुशासन, पूर्वाधार विकास, भूमि सुधार र कृषि क्षेत्र प्रोत्साहन, स्वास्थ्य क्षेत्र सुधार, उद्यमशीलता, रोजगारी एवं सूचना प्रविधि विकास, शिक्षा क्षेत्र सुधार, धार्मिक तथा सांस्कृतिक सम्पदा एवं स्वच्छ वातावरण, जलवायु न्याय र प्राकृतिक स्रोत संरक्षण समावेशिता, लैङ्गिक समानता र सामाजिक न्यायको प्रत्याभूति र सांसदको कार्यालय स्थापना गरी क्षेत्रगत मुद्दा समाधानका लागि नागरिकसँग प्रत्यक्ष संवादको अवधारणा बनाउनुभएको छ । एमाले सचिव एवं उम्मेदवार डा. राजन भट्टराईले धार्मिक, सांस्कृतिक एवं प्राकृतिक संरक्षण, निकुञ्ज, हरियाली वन र वातावरणको विकास, स्वच्छ जलस्रोत, नदीखोला किनारको विकास, सहरी पूर्वाधार विकाससहितका मुद्दा अघि सार्नुभएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार इन्द्रकुमार भुसालले सुशासनसँगै सडक र ट्राफिक, फोहोर व्यवस्थापन, स्वास्थ्य, खानेपानी, शिक्षासहित व्यवस्थित सहर बनाउने अवधारणा ल्याउनुभएको छ । रास्वपा उम्मेदवार पुकार बमले सुशासन, आर्थिक विकाससँगै पारदर्शी बजेट, डिजिटल सरकारसँगै स्थानीय विकास, शिक्षा, स्वास्थ्य र उद्यमशीलताको विकास तथा सूचना प्रविधिको विकास गर्ने प्रतिबद्धताका साथ निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।