सुधा देव
भारदह (सप्तरी), फागुन १२ गते । गजेन्द्र नारायण सिंह अस्पताल मा उपचारका क्रममा छिन्नमस्ता गाउँपालिका–५ की २३ वर्षीया सुजान देवी सदाको सुत्केरी गराउने क्रममा चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै परिवार र आफन्तले आइतबारदेखि थालेको आन्दोलन अस्पताल प्रशासन र मृतक परिवारबीच सहमति भएपछि स्थगित भएको छ ।
सोमबार मृतकको दाहसंस्कार तथा किरिया खर्च, नवजात शिशुको पालनपोषणका लागि तीन लाख रुपियाँ उपलब्ध गराउने र पीडित परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको अस्पतालले जनाएको छ ।
घटनाको निष्पक्ष छानबिन तथा अनुसन्धानका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्राचार गरी उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ । समितिको प्रतिवेदनका आधारमा कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने सहमति भएको जनाइएको छ ।
फागुन १० गते अस्पतालमा उपचाररत एक महिलाको सुत्केरीपछि मृत्यु भएको थियो । घटनापछि मृतकका आफन्त तथा स्थानीयवासीले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका थिए ।
पीडित परिवारले दोषीमाथि कडा कारबाही, उचित क्षतिपूर्ति, नवजात शिशुको पालनपोषण खर्च, दाहसंस्कार तथा किरिया खर्च उपलब्ध गराउनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका थिए । साथै, मृतक परिवारका एक सदस्यलाई रोजगारी दिनुपर्ने, दलित समुदायका बिरामीलाई सोही अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने तथा संलग्न चिकित्सकको लाइसेन्स खारेज गर्नुपर्ने मागसमेत अघि सारिएको थियो ।
स्थानीय अनिलकुमार यादवका अनुसार सहमतिपछि पीडित पक्षले विरोध प्रदर्शन तथा आन्दोलन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
अस्पताल प्रशासनले जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार, प्रयोगशाला, फार्मेसीलगायत सेवामा सुधार गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।