उर्लाबारी समाचारदाता
उर्लाबारी, फागुन १२ गते । आगामी २१ मा हुने प्रतिनिधि सभा निर्वाचनले पूर्वपश्चिम राजमार्ग विस्तारको काम प्रभावित हुने भएको छ । एसियाली विकास बैङ्कको सहयोगमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्ग निर्माणको काम यतिबेला तीव्र रूपमा चलिरहेको छ तर अर्को साताबाट विस्तारको काम प्रभावित हुने देखिएको छ ।
पूर्वपश्चिम सडक विस्तार योजना, काँकडभिट्टा–लौकही सडक आयोजनाका पश्चिम खण्ड कार्यालय इटहरीका प्रमुख जगत प्रजापतिले भन्नुभयो, “सडक निर्माणमा काम गर्ने कामदारहरू अधिकांश तराईवासी छन् । गत वर्ष पनि होलीले काममा प्रभाव पारेको थियो । यो वर्ष होलीलगत्तै निर्वाचन पनि भएकाले दुई साता काम रोकिने अवस्था देखिन्छ ।”
चुनावी वातावरण सहज बनाउन निर्वाचन आयोगले २०, २१ र २२ गते बिदा दिन सरकारसँग प्रस्ताव गरेको छ । त्यसअघि १८ गते पहाडी क्षेत्रमा र १९ गते तराई क्षेत्रमा होली पर्वको बिदा गरेको छ भने २३ गते शनिबार र २४ गते पनि नारी दिवस परेको छ ।
आयोजना प्रमुख प्रजापतिका अनुसार मौसम अनुकूल भएकाले पछिल्लो दुई महिना उल्लेख्य भौतिक प्रगति भएको थियो । पश्चिम कार्यालयको नियमन क्षेत्रमा ठेक्का नं. २ अन्तर्गत झापाको सीतापुरीदेखि मोरङको सलकपुरसम्मको ४० किलोमिटर सडक पर्छ । जुन सडकको भौतिक प्रगति ३५.२५ प्रतिशत छ । यस्तै ठेक्का नं. ३ को सलकपुरदेखि लविपुरसम्मको १०.७६० किमी लम्बाइको सडकमा १६.२७ प्रतिशत भौतिक प्रगति भएको छ । पश्चिम खण्डमा पर्ने तीन सय मिटर लामा तीन वटा पुलको ठेक्का अलग्गै लागेको छ । यो खण्डमा पर्ने रतुवा, बव्रmाहा र लोहोन्द्राको पुल निर्माणमा २९.१९ प्रतिशत भौतिक प्रगति भएको छ । पश्चिम खण्डमा हालसम्म पाँच किमी बाँयातर्फ र ६.२३ प्रतिशत दाँयातर्फ एकतर्फी सडक कालोपत्रे भइसकेको छ । हाल थप पाँच किमी सडक कालोपत्रे भइरहेको छ । चुनावको बिदा अघिसम्ममा जङ्गल क्षेत्रको १० किलोमिटर सडक कालोपत्रे गरिसक्ने आयोजनाको तयारी छ ।
ठेक्का नंं. २ को निर्माण क्षेत्रमा रहेका एक हजार ६४१ वटा विद्युत् पोलमध्ये २४७ वटा पोल मात्र हटाइएका छन् । ति सबै पोल स्थायी रूपमा हटाउनुपर्ने छ । त्यस्तै निर्माण क्षेत्रबाट एक हजार ५५० वटा पोल सार्नुपर्नेमा हालसम्म २९१ वटा पोल मात्र सारिएका छन् तर नयाँ पोल जडानको काम भने तीव्र गतिमा अघिबढेको छ । ४० किमी सडकमा दुई हजार २७९ वटा पोल जडान गर्नुपर्नेमा हालसम्म एक हजार ५२३ वटा पोल जडान भइसकेका छन् । यो क्षेत्रमा पाँच हजार ४७० विद्युत् पोल गाड्ने, सार्ने र स्थायी रूपमा हटाउनुपर्ने थियो । हालसम्म दुई हजार ६१ वटा पोल गाड्ने, सार्ने र स्थायी रूपमा हटाउने काम भएको छ । विद्युत् पोलसम्बन्धी काम ३७.७ मात्र भौतिक प्रगति भएको छ ।
ठेक्का नंं. ३ मा एक हजार ९६८ वटा पोल गाड्ने, सार्ने र हटाउनुपर्ने छ । जसमध्ये हालसम्म ७९१ वटा पोल व्यवस्थापन भइसकेको छ । यस क्षेत्रमा ४०.२ प्रतिशत भौतिक प्रगति भएको छ । ६९२ वटा नयाँ पोल जडान गर्नुपर्नेमा ४०३ वटा पोल जडान भइसकेका छन् । यस्तै ६३८ वटा पोल स्थान्तरण गर्नुपर्नेमा १९४ वटा स्थान्तरण भएका छन् भने ६३८ वटा स्थायी रूपमा हटाउनुपर्नेमा १९४ वटा हटाइसकिएको छ । यो सडक २०८३ को कात्तिकमा निर्माण सम्पन्न गर्नुपर्ने छ । विद्युत् पोल सार्ने काम सकिएपछि काम तीव्र रूपले अगाडि बढ्ने आयोजना प्रमुखको भनाइ छ ।