अमरराज नहर्की
तनहुँ, फागुन १२ गते । कालोपत्रे कार्य सञ्चालनका कारण भिमाद–मसारडाँडा सडक खण्ड आठ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ । भिमाद नगरपालिकाले जारी गरेको सूचनाअनुसार सिद्ध गुफाअन्तर्गत केउलेदेखि मसारडाँडा जाने चौकसम्मको खण्ड मिति फागुन ११ देखि फागुन १८ गतेसम्म बन्द रहनेछ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले निर्माण कार्यलाई गुणस्तरीय र सुरक्षित रूपमा सम्पन्न गर्न सवारी आवागमन रोक्नुपरेको बताउनुभयो । “सडक कालोपत्रे कार्य भइरहेकाले सवारी सञ्चालन गर्दा दुर्घटनाको जोखिम रहनेछ । त्यसैले तोकिएको अवधिसम्म उक्त खण्ड पूर्ण रूपमा बन्द गरिएको हो,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार निर्माण कम्पनीमार्फत कालोपत्रे कार्य तीव्र गतिमा अघि बढाइएको छ । निर्धारित समयमै काम सम्पन्न गर्ने लक्ष्य राखिएको जनाउँदै उहाँले स्थानीयवासी तथा यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्नुभयो ।
भिमाद नगर गौरवको आयोजना अन्तर्गत करीव एक किलो मिटर सडक कालोपत्र गर्न लागिएको भिमाद नगरपालिकाको सूचना अधिकारी टेकावती ढकालले जानकारी दिनुभयो । यो मार्गले भिमाद नगरपालिकाको वडा नम्बर ७ र ९ जोडेको छ ।
ढकालले भन्नुभयो, ‘‘यस क्षेत्रका नागरिकले धुलोरहित र सहज सडक सेवा पाउनेछन भिमाद नगर गौरवको योजनाअन्तर्गत एक करोडको लागतमा निर्माण गर्न लागेका हौं ।” सडक कालोपत्रेको काम इको जोन आर्किटेक्ट एण्ड कन्स्ट्रक्सन प्रालि, पोखराले गरिरहेको ढकालले जानकारी दिनुभयो ।