• १२ फागुन २०८२, मङ्गलबार

बैतडीमा फेरि एक निर्वाचन प्रहरीको मृत्यु

blog

केशवराज भट्ट
वाशुलिङ, बैतडी, फागुन १२ गते ।
बैतडीमा फेरि एक जना निर्वाचनका लागि भर्ना भएका प्रहरीको मृत्यु भएको छ । यससँगै जिल्लामा निर्वाचन प्रयोजनका लागि खटिएका प्रहरीको मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

जिल्लाको मेलौली नगरपालिका–६ का ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट (युवराज) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहले जानकारी दिनुभयो । मृतक भट्ट इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत हुनुहुन्थ्यो ।

ड्युटी सकेर मङ्गलबार साँझ घर फर्किएका भट्ट घरमै एक्कासि बेहोस भएको प्रहरीले जनाएको छ । बेहोस भएपछि उहाँलाई एम्बुलेन्समार्फत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो ।

स्वास्थ्य केन्द्रमा पुर्‍याउँदा चिकित्सकले राति १२ः०५ बजेर मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाका कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि पनि बैतडीमा दुई जना निर्वाचन प्रहरीको मृत्यु भएको थियो । यही फागुन ८ गते दशरथचन्द नगरपालिका–४ का ३८ वर्षीय महादेव वड घरमै अचेत अवस्थामा फेला पर्नुभएको थियो । त्यस्तै, माघ २० गते तालिम सकेर फर्किने क्रममा भिरबाट लडेर सोही नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्द मृत्यु भएको थियो । निर्वाचनको तयारी भइरहेका बेला लगातार निर्वाचन प्रहरीको मृत्यु भएपछि जिल्लामा चिन्ता बढेको छ ।