केशब भट्ट
वाशुलिङ (बैतडी), फागुन ११ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी चुनावी तयारीमा व्यस्त बनेको छ । लोकतन्त्रको महोत्सवलाई निष्पक्ष र व्यवस्थित बनाउन यहाँ एक हजार दुई सय ८८ जना कर्मचारी खटाइने भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनका लागि खटिने कर्मचारीहरूको अन्तिम सूची प्रकाशन गरिसकेको निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीले जानकारी दिनुभयो । उहाँका अनुसार खटाइएका कर्मचारीलाई फागुन १५ र १६ गते आवश्यक तालिम प्रदान गरिनेछ । तालिम सम्पन्न भएपछि उनीहरू आ–आफ्ना मतदान केन्द्रतर्फ प्रस्थान गर्नेछन् ।
मतदाताको सङ्ख्याका आधारमा कर्मचारी व्यवस्थापन गरिएको छ । पाँच सयभन्दा बढी मतदाता रहेका केन्द्रमा ६ जना, पाँच सयभन्दा कम मतदाता भएका केन्द्रमा ५ जना र अस्थायी मतदान केन्द्रमा ३ जनाका दरले कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दुर्गम भूगोलका कारण चुनौतीपूर्ण मानिने बैतडीमा मतदान प्रक्रियालाई सहज बनाउन यस व्यवस्थापनले सघाउने अपेक्षा गरिएको छ ।
निर्वाचनमा खटिने कर्मचारीहरूको प्रारम्भिक सूची फागुन ७ गते सार्वजनिक गरिएको थियो भने आइतबार उक्त सूचीलाई अन्तिम रूप दिइएको सहायक निर्वाचन कार्यालयले जनाएको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बैतडीमा दुई सय १४ वटा मतदान केन्द्र रहेका छन् ।
आवश्यक मतपत्र र अन्य निर्वाचन सामग्री यसअघि नै जिल्लामा आइपुगेका छन् । अहिले जिल्लाभर मतदान केन्द्र व्यवस्थापन, सुरक्षा तयारी तथा कर्मचारी परिचालनको काम तीव्र रूपमा अघि बढिरहेको छ ।
लोकतन्त्रको पर्वलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरोकारवाला निकायहरू सक्रिय देखिएका छन् । चुनावी सरगर्मी बढ्दै जाँदा बैतडीका नागरिकमा पनि उत्साह थपिँदै गएको छ ।