• १२ फागुन २०८२, मङ्गलबार

गुल्मी यातयात : तीन दशकदेखि विकटलाई निकट बनाउँदै

blog

गुल्मी यातयात प्रालिको स्थापना दिवस । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), फागुन १२ गते ।
तत्कालिन अवस्थामा कच्ची सडक समेत कम थिए । बल्लतल्ल खुलेका सडक पनि राम्रो थिएनन् । लगभग सबै सडक वर्षातमा अवरुद्ध हुन्थे । यहि अप्ठ्यारो अवस्थामै गुल्मी जिप व्यावसायी समितिले २०५२ सालबाट गुल्मेलीलाई सेवा दिन थाल्यो । यद्यपि २०५९ सालमा मात्र सस्था दर्ता भएको थियो । यो सस्थाले बिकटलाई निकट बनाउन तीन दशकदेखि निकै ठुलो भूमिका खेलेको छ ।

अहिले समिति गुल्मी यातयात प्राली बनेको छ । संस्था स्थापनाको अवसरमा विभिन्न सामाजिक तथा सेवामुखी कार्यक्रमका घोषणा गरिएको छ  । कार्यक्रममा प्रालिका अध्यक्ष रुपकलाल श्रेष्ठले पत्रकार महासंघसँग सहकार्य गर्दै जिल्लामा कुनै पनि पत्रकारले रिपोर्टिङका क्रममा गाडी प्रयोग गर्नुपरे निःशुल्क यात्रा सुविधा उपलब्ध गराइने घोषणा गर्नुभयो ।

श्रेष्ठले सूचना प्रवाह र समाचार सङ्कलनमा पत्रकारहरूको भूमिकालाई सम्मान गर्दै यस्तो व्यवस्था गरिएको बताउनुभयो । त्यस्तै अहिलेसम्म चालक, सहचालक र कर्मचारीको बिमा भएकाले अबदेखि यात्रा अवधिभर सबै यात्रुको बिमा गरिने व्यवस्था मिलाइने श्रेष्ठले बताउनुभयो । यात्रुको पाँच लाखको बिमा बाहेक यात्रा बिमाको लागि थप गर्ने योजना ल्याएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

२४ औँ स्थापना दिवसको अवसरमा गुल्मी अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो । गुल्मी यातयात प्रालिका सञ्चालक हिमाल कुँवरका अनुसार प्रालिले गुल्मीसहित हाल बुटवल, काठमाडौँलगायत देशका प्रमुख शहरहरूमा नियमित सेवा प्रदान गर्दै आएको छ । प्रालिमा हाल ४४० वटा सवारीसाधन रहेकोमा ३१७ वटा सवारीसाधन सञ्चालन चालु अवस्थामा रहेका छन् ।

तीमध्ये १३५ वटा महेन्द्र गाडी, ५८ वटा मिनीबस, ५७ वटा इभी गाडी, आठ वटा स्किरपियो लगायत अन्य सवारीसाधन सञ्चालनमा छन् । तम्घास र रिडीमा आफ्नै भवनसहित कार्यालय रहेको संस्थाले जिल्लाभर ६८ वटा टिकट काउन्टरमार्फत सेवा दिँदै आएको छ । प्रालिमा २८० जना शेयरसदस्य आबद्ध रहेका छन् ।