नेपाल हिमाली र पहाडी भूबनोटले बनेको मुलुक हो । उचाइ र स्थानको अवस्थिति अनुरूप विविध हावापानी पाइन्छ । यसले जैविक विविधतालाई व्यापक बनाएको छ । जैविक विविधताले भरिपूर्ण नेपालको सबैभन्दा ठुलो सम्पत्ति भनेको नै बहुमूल्य आयुर्वेदिक जडीबुटी हो । अनेक जडीबुटी सुगन्धित छन् र त्यस्ता वनस्पतिको भण्डार पनि हो, नेपाल । नेपालको वनस्पति संसारभर प्रसिद्ध नै छन् । प्राचीनकालदेखि नै नेपालको हिमालय र पहाडी क्षेत्र आयुर्वेदका निम्ति सुप्रख्यात थियो । ऋषिमहर्षिहरूले नेपालको जडीबुटीको प्राचीनकालदेखि नै महत्व मात्र दर्साएनन्, त्यसको उपयोगको शास्त्र आयुर्वेदको नै विकास गरे । आधुनिक अस्पताल र औषधीको प्रयोग त पछिल्ला केही दशकका अभ्यास र उपयोग मात्र हो । आयुर्वेद नै युगौँसम्म थियो र बहुप्रयोग गरी उपचार गरिन्थ्यो । लामो समय जडीबुटीमा आधारित औषधोपचार नै आममानिसको स्वास्थ्यको वास्तविक आधार थियो । आधुनिक औषधी बन्ने कच्चा पदार्थका आधारका साथै अझै पनि आयुर्वेदिक र प्राकृतिक उपचार तथा औषधीको आधारसमेत हो, जडीबुटी । ग्रामीण भेगमा त अझै अनेक उपचारको माध्यम पनि जडीबुटी नै हो । जीविकोपार्जनको आधारसमेत हो । जडीबुटीलाई अझै पनि व्यावसायिक तवरले जति सदुपयोग गर्नुपर्ने थियो, त्यो गर्न सकिएको छैन । हिमाली र पहाडी भेगमा पाइने बहुमूल्य जडीबुटी यार्चागुम्बा, पाँचऔँले, सुगन्धवाललगायत विश्वभर नै सुविख्यात छन् । यी औषधीय र आर्थिक दृष्टिकोणले अति नै महत्वपूर्ण छ । अनेक जडीबुटीको महत्व त छँदै छ, धेरैतिर पाइने तितेपातीको गुणबारे यसै दैनिकमा सोमबार एउटा समाचार सार्वजनिक भएको थियो ।
सर्वसुलभ पाइने तितेपाती पनि समृद्धिको आधार बन्न सक्ने देखिएको छ । कतिपय ग्रामीण परिवेशमा अरूलाई गाली गर्दा बारीमा पाती पलाओस्समेत भन्ने गरिन्छ । पूजाआजा, पितृ, कलपूजा र श्राद्धमा प्रयोग हुने तितेपाती पशुलाई सोत्तरमै पनि व्यापक प्रयोग गरिन्छ । यो प्रयोग हो वा दुरुपयोग ? विज्ञका अनुसार मानव स्वास्थ्यमा तितेपाती अति उपयोगी छ । यो जीवनरक्षकसमेत हो । सँगसँगै सौन्दर्य प्रसाधन अत्तरको उत्पादनमा पनि प्रयोग गरिन्छ । जानकारका अनुसार तितेपातीका बहुगुणका कारण औषधीको राजा नै मानिन्छ । तितेपातीलाई आयुर्वेदमा ‘सर्वरोग नाशक’ भनिन्छ । आयुर्वेदिक चिकित्सक डा. मनोज चौधरीको भनाइ अनुसार औषधीय गुणको खानी भएकाले यसलाई घरको निःशुल्क वैद्य पनि भनिन्छ । यसको प्रयोगले पाचन प्रणालीलाई मजबुत बनाउने, अपच, पेट दुख्ने, ग्यास तथा पेट फुल्ने समस्या कम गर्न सहयोग गर्छ । विशेष गरेर आयुर्वेदिक उपचारमा तितेपातीलाई डेङ्गु, मलेरिया जस्ता ज्वरोसम्बन्धी रोगको सहायक औषधीका रूपमा प्रयोग गरिँदै आएको छ । घरका झ्याल, ढोका, दलिन तथा काठका दराजलाई किरा लाग्न नदिन तितेपाती निकै प्रभावकारी मानिन्छ । तितेपातीलाई पकाएर बनाइएको झोल काठका सामग्रीमा लगाउँदा किरा लाग्दैन र सामान लामो समयसम्म सुरक्षित रहन्छ । कोरोना महामारीमा कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर, चितवनले तितेपातीबाट सेनिटाइजरसमेत उत्पादन गरेको थियो । तितेपाती प्रयोग गरी बनाइएको सेनिटाइजर पहिलो प्रयोग भएको विश्वविद्यालयको दाबी नै छ । सेनिटाइजर विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार तयार पारिएको भनिएको छ । तितेपाती अपार औषधीय गुण भएको प्रमाणित भइसके पनि नेपालमा यसको उपयोग अझै व्यापक हुन सकेको छैन । तितेपाती जस्ता अनेक जडीबुटी नेपालमा प्रशस्त पाइन्छ तर उपयोग हुन सकेको छैन ।
मुलुक प्रतिनिधि सभाको निर्वाचनको सँघारमा छ । राजनीतिक दल र उम्मेदवार अनेक वाचा र प्रतिबद्धताका साथ मतदातासम्म पुगिरहेका छन् । देशभित्र उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी आर्थिक विकासका आधार निर्माण गर्न सक्नु नै सरकारको पहिलो कर्तव्य हो । तितेपातीलगायत अनेक सर्वसुलभ जडीबुडीको सदुपयोग गरी देशको समृद्धिमा काम गर्न सक्नु नै अबको प्राथमिकता र आवश्कता हो । नेपाल विविध जडीबुडीबाट बन्ने औषधी उद्यमको हब नै हुन सक्छ । त्यस्तो व्यापक सम्भावनातिर कमै मात्र ध्यान गएको छ । कच्चा जडीबुटी निर्यात गरी महँगा औषधी आयात गरिँदै छ । यो तौरतरिकाले देशको आर्थिक विकास हुन सक्दैन । कच्चा पदार्थलाई देशभित्रै प्रयोग गरी आय, उत्पादन र रोजगारी बढाउन सक्नु पर्छ । यसमा राजनीतिक दलको ध्यान जानु आवश्यक छ । देशका सम्पूर्ण बहुगुणीय वनस्पति तथा जडीबुटीको खोज, अन्वेषण, खेती र उपयोग गरी त्यसलाई औद्योगिकीकरण उपयोगमा लैजानु अत्यावश्यक छ ।