पवित्र देवभूमि नेपाल लामो र जटिल राजनीतिक परिवर्तनको यात्राबाट गुज्रिरहेको छ । राणाकालीन निरङ्कुश शासनको अन्त्यसँगै प्रजातन्त्रको उदयले जनतालाई स्वतन्त्रता, अधिकार र समृद्धिको आशा दिएको थियो । त्यसपछि एकदलीय पञ्चायती शासन, बहुदलीय प्रजातन्त्र, संवैधानिक राजतन्त्र र १० बर्से माओवादी सशस्त्र सङ्घर्षले देशलाई विभिन्न मोडमा पुर्यायो ।
२०७२ सालको संविधानसँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुँदा जनताले नयाँ आशा, आर्थिक समृद्धि र राजनीतिक स्थायित्वको अपेक्षा राखे । अपेक्षा अनुसार विकासको गति तीव्र हुन नसक्दा निराशा र राज्यका विभिन्न क्षेत्रमा असन्तोष बढ्दै गयो । गत भदौमा देखिएको जेनजी विद्यार्थी आन्दोलनले यही असन्तोषको स्पष्ट सङ्केत दिएको छ । यसले राष्ट्रलाई संवेदनशील मोडमा उभ्याएको छ, जहाँ सबै सरोकारवालाले आफ्नो भूमिका, जिम्मेवारी र कार्यशैलीमा सतर्कतापूर्वक पुनर्विचार गर्नु आवश्यक छ ।
नेपाली नागरिकको स्वभाव
नेपाली नागरिक सोझा, साहसी, सहनशील, आत्मास्वाभिमानी, मेहनती र सन्तुष्ट छन् । थोरैमा खुसी हुने, धेरै माग नगर्ने र देशप्रति गहिरो माया राख्ने यही स्वभाव नै नेपाली समाजको मौलिक पहिचान हो । इतिहासका हरेक चुनौतीपूर्ण मोडमा यही धैर्य, साहस, वीरता र त्यागले राष्ट्रलाई जोगाउँदै आएको छ । इमानदारी र कर्तव्यपरायणताले गोर्खालीलाई विश्वभर चिनाइरहेको छ । दुःखद यथार्थ के हो भने, सोझा, साहसी र इमानदार नेपालीले पाएको सम्मान र गौरव नेतृत्वले राजनीतिक इमानदारी, राष्ट्र र जनताप्रतिको जिम्मेवारी बिर्सिएका कारण कमजोर बन्दै गएको छ । यही सरलता र विश्वास बोकेका नागरिक कहिलेकाहीँ राजनीतिक स्वार्थका लागि दुरुपयोग हुने सम्भावना पनि रहन्छ । विवेक, चेतना र दूरदृष्टिसहितको सक्रिय नागरिक सहभागिता आजको आवश्यकता हो । अन्यथा लोकतन्त्र केवल औपचारिक अभ्यासमा सीमित रहन्छ र यसको साँचो शक्ति राष्ट्र र जनताको हितमा प्रयोग हुन सक्दैन ।
नेपाली नागरिक सम्मान, न्यूनतम अवसर र सुरक्षासहित स्वाभिमानी जीवन चाहन्छन् । यही सरल र कम माग गर्ने जनताको अपेक्षा पूरा गर्न नेतृत्वको दायित्व अत्यन्त गहिरो र संवेदनशील हुन्छ । न्याय, सुशासन र राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न नसक्ने नेतृत्व नैतिक रूपमा असफल ठहरिन्छ । नागरिकको मौनता र सहनशीलता नेतृत्वका लागि सुविधा होइन, उच्च नैतिक मापदण्ड हो ।
युवाशक्ति र राष्ट्रनिर्माण
स्वदेशभित्र रोजगारीको अभाव, सीमित अवसर र सुशासनप्रतिको प्रश्नले ठुलो सङ्ख्यामा युवाशक्तिलाई विदेश पलायन गर्न बाध्य बनाएको छ । यसले केवल श्रमशक्ति मात्र होइन, हाम्रो संस्कार, संस्कृति र कलात्मक सम्पदालाई पनि जोखिममा पारिरहेको छ । जेनजी आन्दोलनमा ७६ जना, जसमा विद्यार्थी, सुरक्षाकर्मी र अन्य नागरिकसमेतले सर्वोच्च बलिदान दिएका थिए । त्यो बलिदानीले राष्ट्रलाई स्पष्ट चेतावनी दिएको छः देशले अब सचेत, इमानदार, त्यागी र राष्ट्रप्रेमी नेतृत्वको खोजी गरिरहेको छ । राजनीतिक दल र नेतृत्वका लागि सर्वोच्च जिम्मेवारी यही हो । युवाशक्तिको ऊर्जा र सिर्जनशीलतालाई विदेशतर्फ होइन, स्वदेशमै राष्ट्रनिर्माण, विकास र दिगो समृद्धितर्फ मोड्ने वातावरण सिर्जना गर्नु छ । यही जिम्मेवारीको निर्वाहले मात्र राष्ट्रको स्थायित्व, सुरक्षा र गौरव सुनिश्चित गर्न सकिन्छ ।
छिमेकी मित्रराष्ट्रबाट सिक्नुपर्ने पाठ
छिमेकी मित्र राष्ट्रको विकास यात्राले नेपाललाई गहिरो आत्मामूल्याङ्कन गर्न बाध्य बनाउँछ । भारतले लोकतान्त्रिक अभ्यासभित्रै दीर्घकालीन नीति, औद्योगिकीकरण र मानव संसाधनमा निरन्तर लगानी गर्दै तीव्र आर्थिक प्रगति हासिल गरेको देश तथा प्रतिरक्षामा समेत आफूलाई एउटा सशक्त शक्तिका रूपमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल भएका छन् । त्यहाँको नेतृत्वले राष्ट्रलाई नेतृत्व दिँदा आध्यात्मिक मूल्य आत्मसात् गर्दै ‘प्रधान सेवक’ को भावनामा काम गर्दै जनविश्वास जित्दै विश्वसामु उदीयमान शक्ति तथा आर्थिक समृद्धितर्फ अग्रसर राष्ट्रका रूपमा आफ्नो पहिचान बनाउँदै छन् ।
चीनले स्पष्ट राष्ट्रिय लक्ष्य, अनुशासित कार्यान्वयन र उत्पादनमुखी अर्थतन्त्रमार्फत अभूतपूर्व विकास हासिल गर्दै विश्वमा उदीयमान शक्तिका रूपमा उदाहरण प्रस्तुत गरेको छ । यी उदाहरणले स्पष्ट गर्छन् नेतृत्वमा ‘राष्ट्रको सेवक’ बन्ने प्रतिबद्धता, नैतिक सङ्कल्प, दूरदृष्टि र प्रभावकारी कार्यान्वयन मात्रै दीर्घकालीन विकास र स्थायित्वको आधार हुन् ।
सम्भावना अपार, कमजोर कार्यान्वयन
नेपाल प्राकृतिक स्रोत, जलस्रोत, हिमाल, कृषि सम्भावना, जैविक विविधता, संस्कृति विश्वका सनातनलाई आकर्षित गर्ने महत्वपूर्ण पशुपतिनाथ, मुक्तिनाथ, रामजानकी मन्दिर जस्ता तीर्थस्थल र सनातन आध्यात्मिक विरासतले सम्पन्न देश हो । यी सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न नसक्नु नीति, कार्यान्वयन क्षमता र जिम्मेवारीबोधसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्ने भावले राष्ट्रप्रति कर्तव्य, समर्पण र सेवाको दर्शन प्रस्तुत गर्छ । यही चेतनामा आधारित राजनीति र नेतृत्व आजको नेपालका लागि सान्दर्भिक छ ।
देशको भविष्य कोर्ने निर्णायक घडी
आगामी निर्वाचन केवल जनप्रतिनिधि चयनको प्रक्रिया होइन । यो देशको राजनीतिक स्थिरता, राष्ट्रिय सुरक्षा र आर्थिक भविष्य निर्धारण गर्ने ऐतिहासिक अवसर हो । नेता छान्ने नागरिक, उम्मेदवार र सुरक्षित वातावरण सुनिश्चित गर्ने सुरक्षाकर्मी, तिनै पक्षको भूमिका निर्वाचनमा समान रूपमा महìवपूर्ण हुन्छ । योग्य, इमानदार, त्यागी र राष्ट्रप्रेमी नेतृत्व चयन गर्नु प्रत्येक नागरिकको नैतिक कर्तव्य हो ।
सुरक्षा निकायको दायित्व
जेनजी आन्दोलनपछिको सुरक्षा चुनौती, हराएका हतियार र जेलबाट भागेका गम्भीर अपराधमा सजाय भोग्दै गरेका कैदी भागेको अवस्थाले पनि आउँदो निर्वाचनलाई संवेदनशील बनाएको थियो । यस परिस्थितिमा राज्यको पहिलो दायित्व भनेको निष्पक्ष, सुरक्षित र विश्वासयोग्य निर्वाचनको वातावरण सुनिश्चित गर्नु हो र यस कार्यमा सुरक्षा निकाय कटिबद्ध छ । सुरक्षा निकाय राष्ट्रको गौरव, शक्ति र आधार हुन् । उनीहरूको व्यावसायिकता, निष्पक्षता र सतर्कताले मात्र लोकतन्त्रप्रति जनविश्वास बलियो बनाउँछ र राष्ट्रिय सुरक्षा सुदृढ हुन्छ ।
विवेकपूर्ण मतदान
विवेकपूर्ण मतदान नेपाली नागरिकका लागि केवल अधिकारको प्रयोग होइन, यो राष्ट्रप्रतिको जिम्मेवारी र दूरदृष्टिको परीक्षा हो । भावनामा बगेर होइन, उम्मेदवारको चरित्र, आचरण, दृष्टि र सेवा, सङ्कल्पलाई मूल्याङ्कन गरेर मतदान गर्नु आजको आवश्यकता हो । सोझा, सहनशील र मेहनती नागरिकले अब आफ्नो मतलाई राष्ट्रको भविष्य निर्माण गर्ने शक्तिका रूपमा बुझ्न जरुरी छ । यही चेतनाबाट लोकतन्त्र सुदृढ हुन्छ ।
नैतिक नेतृत्वको अभाव
ठुलो आशा, भरोसा र अपेक्षाका साथ निर्वाचन सम्पन्न हुँदै छ । निर्वाचनपश्चात्को नेतृत्व जनताको अपेक्षा पूरा नगरेको खण्डमा सामाजिक असन्तोष, राजनीतिक अस्थिरता र राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती उत्पन्न हुन सक्छ । अस्थिरता, आन्तरिक कलह र राजनीतिक गडबडीले विदेशी हस्तक्षेपको जोखिम पनि तीव्र बनाउँछ । यसैले प्रत्येक नेपाली नागरिकको प्रथम कर्तव्य र दायित्व हो, विवेकपूर्ण मतदानमार्फत केवल देशप्रति समर्पित, दूरदृष्टि भएको, सक्षम र त्यागी नेतृत्व चयन गर्नु । यस्तै नेतृत्वले मात्र राष्ट्रको दीर्घकालीन सुरक्षा, राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको मार्ग दृढतापूर्वक तय गर्न सक्छ ।
आदर्श शासनको मूल आत्मा
वैदिक सनातन दृष्टिमा राजनीति शक्ति प्रदर्शन होइन, सेवा र धर्मको मार्ग हो । रामायणमा भरतले देखाएको त्याग र सेवाभाव आजको नेतृत्वका लागि आदर्श मानिन्छ । सिंहासनभन्दा राष्ट्रहितलाई सर्वोपरि राख्नु नै आदर्श शासनको मर्म हो । यही सेवाभावको दर्शन पश्चिमी लोकतान्त्रिक चिन्तनमा पनि स्पष्ट देखिन्छ । अमेरिकाका राष्ट्रपति विल्सनले भनेका थिए, “म राष्ट्रको नोकर हुँ ।” नेतृत्वको मूल भूमिका शासक होइन, राष्ट्र र जनताको सेवक हुनु हो भन्ने सन्देश दिएका थिए । यस उदाहरणले स्पष्ट गर्छ, साँचो नेतृत्व अधिकारको प्रदर्शनमा होइन, सेवाको प्रतिबद्धतामा निहित हुन्छ । पूर्वीय आध्यात्मिक दर्शन र पश्चिमी लोकतान्त्रिक मूल्य दुवैको साझा निष्कर्ष यही हो कि सेवाभाव र नैतिकताबिना शासन स्थायी, सुरक्षित र समृद्ध हुन सक्दैन ।
विवेकपूर्ण मतदान
अब समय आएको छ, सबै नागरिक सचेत होऊन्, विवेकपूर्वक मतदान गरून् र नैतिक नेतृत्व चयन गरून् । निर्वाचित नेतृत्वले आफूलाई शासक होइन, राष्ट्र र जनताको सेवकका रूपमा प्रस्तुत गर्नु पर्छ । सुरक्षाकर्मीले निष्पक्ष र सुरक्षित वातावरण सुनिश्चित गर्नु पर्छ । यही साझा जिम्मेवारी, अटुट सङ्कल्प र राष्ट्रप्रेमबाट मात्र निर्वाचनले नयाँ युगको सुरुवात गर्दै नेपाललाई राजनीतिक स्थिरता, राष्ट्रिय सुरक्षा र दिगो राष्ट्र निर्माणको मार्गमा अगाडि बढाउन सक्छ ।
पूर्वीय सनातन दर्शनदेखि पश्चिमी लोकतान्त्रिक आदर्शसम्म एउटै सत्य स्पष्ट हुन्छ, नेतृत्व शासक होइन, सेवक हुनु पर्छ । सनातन मार्गदर्शन अनुसार, राष्ट्र र जनताप्रति समर्पित हुने दासको भावमा आफूलाई प्रस्तुत गर्नु नै वास्तविक नेतृत्वको मूल्य हो । आफ्ना स्वार्थ र अधिकारभन्दा माथि उठेर देश र जनताको सेवा गर्न सक्ने नेतृत्वले मात्र नेपालको राजनीतिक स्थिरता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन समृद्धिको मार्ग दृढतापूर्वक तय गर्न सक्छ ।